उदयपुरका थप आठ जनामा कोरोना पोजिटिभ
धरान : कोरोना भाइरसको आशंकामा स्वाब परीक्षणका लागि उदयपुरबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका ८ जनाको रिर्पोट पोजिटिभ आएको छ ।
धरान स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतका अनुसार शंकास्पद लागेर ल्याइएका आठै जनाको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।
रिपोर्ट पोजिटिभ आएपछि उनीहरु आठै जनालाई उपचारका लागि विराटनगरस्थित कोशी अञ्चल अस्पताल पठाइएको छ ।
विराटनगरस्थित पीसीआर ल्याबमा ८ जनाको परीक्षण रिर्पोट शंकास्पद आएपछि उनीहरुलाई थप परीक्षणका लागि मंगलबार करिब ११ बजे एम्बुलेन्सबाट धरान पठाइएको थियो ।
वैशाख ५ गते त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा १३ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला र नेपाली सेनाको छाउनी अस्पतालबाट आएको चिकित्सकको छुट्टा–छुट्टै टोलीले तीन दिन लगाएर ३ सय २१ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि लगेको थियो ।
मस्जिदमा आएका १२ भारतीय र ४ नेपाली गरी १६ जनामध्ये ११ भारतीय र २ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । मंगलबार उदयपुरकै एक युवकमा कोरोना पुष्टि भएको थियो । योसँगै उदयपुरमा कोरोना पुष्टि हुनेको संख्या २२ पुगेको छ ।