८५ करोडको औषधि आयात
काठमाडौं : लकडाउन सुरु भएपछिको २८ दिनमा ८५ करोडभन्दा धेरैको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चैत ११ देखि वैशाख ७ गतेसम्म ८५ करोड ५७ लाख १४ हजार रुपैयाँको औषधि आयात भएको हो ।
यस्तै यो समयमा २० करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ । यस अवधिमा ६९ हजार ९ सय ३३ मेट्रिक टन खाद्यान्न, २२ हजार १ सय २१ मेट्रिक टन दलहन, ३७ हजार ६ सय ७३ मेट्रिक टन फलफूल र १० हजार ९ सय ९६ मेट्रिक टन दुधजन्य पदार्थ आयात गरिएको छ ।
लकडाउनमा पहिलो हप्ताको तुलनामा दोस्रो र तेस्रो हप्तामा केही सामान आयातमा घटबढ पनि भएको छ । तेस्रो हप्तामा खाद्यान्न, दुग्धजन्य पदार्थ र तयारी औषधिको आयात बढेको छ । दलहन, तरकारी, फलफूल र औषधिको कच्चा पदार्थ आयात घटेको छ ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै दुग्धजन्य पदार्थ १ सय १७ दशमलव ४ प्रतिशतले आयात बढेको छ । त्यसपछि तयारी औषधि ६८ दशमलव ८ प्रतिशत र खाद्यान्न ३७ दशमलव ७ प्रतिशतले बढेको छ । तर फलफूल ३४ दशमलव ३ प्रतिशत, दलहन २४ दशमलव ४ प्रतिशत, तरकारी ४ दशमलव ५ प्रतिशत र औषधिको कच्चा पदार्थ २ प्रतिशतले घटेको छ । भारतको पश्चिम बंगाल सरकारले आफ्ना सबै नाका बन्द गरेपछि चैत २७ गतेपछि भने झापाको काँकडभिट्टा नाकाबाट सामान आयात निर्यात ठप्प भएको छ ।