सिन्धुलीका श्रमिक लिन सुनकोसीकी अध्यक्ष गाडी लिएरै काठमाडौंमा
सिन्धुली : खाद्यान्न अभाव भएपछि भोकभोकै छटपटाइरहेका ९ सय २० जना श्रमिकलाई काठमाडौंबाटै उद्धार गरि सिन्धुली ल्याइएको छ। काठमाडौं उपत्यकामा अलपत्र परेका मजदुरलगायतलाई सहजरुपमा थातथलो पुर्याउन दिएको सर्वोच्च अदालतको आदेशलाई संघीय सरकारले अटेर गरेपछि प्रदेशसभा सदस्य राजन दाहाल र सुनकोसी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोराको पहलमा अलपत्र मजदुरलाई जिल्ला ल्याइएको हो ।
मंगलबार रातीसम्म गरी १५ वटा सवारी काठमाडौं लगेर जिल्लाका ९ सय २० जना श्रमिक, महिला, बालबालिका तथा वृद्धवृद्धाहरुलाई उद्धार गरि सिन्धुली ल्याइएको सुनकोसी गाउँपालिकाकी अध्यक्ष बोहोराले जानकारी दिइन् ।
'काठमाडौंमा श्रमगरी परिवार पाल्दै आएका श्रमिक लामो समयसम्म लकडाउन हुँदा काम गर्न नपाएपछि पैसा अभावमा भोकै भएको थाहा पाएपछि १० वटा बस, ३ वटा मिनिट्रक र २ वटा ठूला ट्रकगरी १५ वटा सवारीको व्यवस्थापन गरेर श्रमिकलाई जिल्लामा ल्याएका हौं,' उनले भनिन् ।
यसअघि बनेपा-सिन्धुली-बर्दिबास (बीपी) राजमार्गमा पैदल हिँडेर आएका झण्डै ८ हजार श्रमिकलाई गाउँपालिका र प्रदेशसभा सदस्यले दाहालले उद्धार गरी खान तथा सवारी साधनको व्यवस्था गरी गन्तव्यसम्म पुर्याउन पहल गरेका थिए ।
मजदुरको उद्धारकै क्रममा केही दिनअघि दुर्घटनामा परी प्रदेशसभा सदस्य दाहाल घाइते भइ हाल बनेपाको धुलिखेल अस्पतालमा उपचाररत छन् । ' जिल्लाकै मजदुर भोकभोकै काठमाडौंमा मर्नुपर्ने अवस्था आएपछि गृहमन्त्री तथा संघीय सरकारसँग पटकपटक उद्धारका लागि अनुरोध गरिए पनि नसुनेपछि आफूहरु गाडी लिएर काठमाडौं पुगेरै मजदुरको उद्धार गर्न बाध्य भएका हौं,' बोहोराले भनिन्।
नेकपामा आवद्ध काठमाडौं सिन्धुली सम्पर्क मञ्चसँगको समन्वयमा उपत्यकाका मजदुरलाई कोटेश्वरमा जम्मा गराएर मंगलबार राती मजदुरलाई सवारी साधनमार्फत जिल्लामा ल्याइएको हो ।
सुरुमा दैनिक ज्यालादारीमा मजदुरी गर्ने हजारौं सिन्धुलीवासी श्रमिकले खानाको अभावमा काठमाडौंमा छटपटाइ रहेका र उनीहरुलाई खाद्यान्न राहतको व्यवस्थापनका लागि काठमाडौंका विभिन्न वडाका अध्यक्षसँग समन्वय गरिएको भएपनि राहत नदिएपछि प्रदेशसभा सदस्य राजन दाहाल र सुनकोसी गाउँपालिकाकी अध्यक्ष बोहोरा सँग समन्वय गरेर मजदुरलाई घर पठाइएको काठमाडौं सिन्धुली सम्पर्क मञ्चका रुद्र थिङले जनाए ।
काठमाडौंलगायतका क्षेत्रमा रहेर श्रम गर्दै आएका श्रमिकले पैसा अभावमा किनेर खान समेत बालबालिका, महिला तथा वृद्धवृद्धाहरुको अवस्था निक्कै नै दयानीय बन्दै आएको समेत थिङको भनाई छ ।