डढुवाई आमा !

डढुवाई आमा !

ओठभरि मुस्कान लिएर ठिङ्ग उभिएको माछापुच्छ्रे। अँगालोभरि रानीवन लिएर मुस्कुराएको फेवाताल। वसन्त ऋतुका रङ्गीविरङ्गी पुष्पगुच्छा अँगालोमा बेरेर सराबी हाँसो हाँसिरहेको सफेद शान्ति-स्तुपा। ठीक्कको मौसम। न जाडो न गर्मी। प्रकृतिले गोडमेल गरेको झैँ लाग्ने सुन्दर बगैँचाले सजिएको पोखरा सहर। न्यानो वैशाखको पारिलो शनिबार। ठ्याक्कै आमाको मुख हेर्ने औँशीको दिन। 

मेरी आमाको मुख ! सम्झँदा पनि सिरिङ्ग हुन्छ मेरो जिउ। ती रद्धि दिनहरू सम्झिँदा अनायाशै चक्कर लाग्ला जस्तो हुन्छ मलाई। खुसी भएर आमाको मुख हेर्न धेरै कुरा चाहिँदा हुन् सायद। सुन्दर आँखा, मुलायम छाला अनि ठिक्कठिक्क मिलेका नाक, कान, निधार, चिउँडो आदिआदि। 

तर, कुरूप दृश्यको शृङ्खला खोज्न कतै जानु पर्थेन मेरी आमाको अनुहार पढे पुग्थ्यो। उजाड डढेलोले छोपेको अनुहारमा धेरै कुराको अभाव थियो, त्यहाँ। पूरै चाउरी परेको उदेक लाग्दो चेहेरा, निधारभरि गरिवीका भित्तेलेखन, समग्रमा एउटा अभावको विश्वमानचित्र बुझाउने थोप्डा लिएर डुलिरहन्छिन् मेरी आमा सुन्दर सहरको वरिपरि। बारम्बार धिक्कारी रहन्छु म सत्तरी वर्षे मेरी आमाको मुखाकृति र पूर्ण रूपमा बिर्सन चाहन्छु मेरी आमाको डढेको उजाड अनुहार ! लाग्छ उनी धर्तीमा जन्मेकी सबै भन्दा कुरूप छोरीमान्छे हुन्।   

नागरिकताको लिखतले जेसुकै भनोस् ‘मेरी आमाको खास नाम, डढुवाई।’ बाबाको हेपाइ, समाजको अपजस र छोराको तिरस्कारको त्रिवेणीको खास अरू कारण थिएन सिबाय डढेको उनको अनुहार। कसैको ममता भन्ने शब्द उहिल्यै मेटिएको हो उनको शब्दकोशमा। चालीस बसन्त पार गर्दासम्म पनि आमाप्रति मेरो माया र आत्मीयता नपलाउने अर्को कुनै कारण थिएन ‘बाहेक उनको ध्वाँसे अनुहार’। जुन दिन स्कुलको हाजिरी खातामा मेरो नाम दर्ता भयो त्यही दिनबाट दोस्रोपटक न्वारन भयो मेरो। म एकाएक विवेकबाट डढुवाईको छोरामा बदलिएँ। आमाको जलेको अनुहारको लप्काले म डामिएँ चरम रूपमा र टुङ्गो थिएन अझै कति पुस्ताले सेकिनु पर्ने हो निरन्तर यसरी नै ? भित्रभित्रै पिरोल्थ्यो यस कुराले मलाई र दृढ भएर थप घृणा गर्थेँ म मेरी आमालाई। 
पटकपटक दोहोर्‍याएर म एउटै कुरा भन्थेँ,‘आमा तिमी मेरो स्कुल कहिल्यै नआऊ है।’ 
‘किन बाबु ? 
‘मलाई लाज लाग्छ।’
‘किन ? मेरो दूध चुस्न त लाज लाग्थे न त तँलाई ?’स्वाभाविक रूपमा भन्थिन् उनी।
‘अँम् ! डामा ! साथीहरूले कस्तो जिस्काउँछन् मलाई।’म घरिघरि आमालाई स्कुल नआउन भनिरहन्थेँ। 
‘ल-ल आउँदिन तेरो स्कुल, तेरै बालाई पठाइदिम्ला।’

मेरी आमाको मुख ! सम्झँदा पनि सिरिङ्ग हुन्छ मेरो जिउ। ती रद्धि दिनहरू सम्झिँदा अनायाशै चक्कर लाग्ला जस्तो हुन्छ मलाई। खुसी भएर आमाको मुख हेर्न धेरै कुरा चाहिँदा हुन् सायद। सुन्दर आँखा, मुलायम छाला अनि ठिक्कठिक्क मिलेका नाक, कान, निधार, चिउँडो आदिआदि।  

त्यति भनेपछि मेरो मन शान्त हुन्थ्यो। केही क्षणका लागि। फेरि बिथोलिन्थेँ, जब स्कुलको वार्षिकउत्सव टुप्लुक्क आउँथ्यो। किनभने त्यसदिन आमा नआइ छोड्नु हुन्थेन, मेरो स्कुल। भन्नुहुन्थ्यो ‘तँले पुरस्कार थापेको र केटीहरू नाचेको औधी मनपर्छ मलाई।’ हरेक वार्षिकोत्सव आमाकै कारण विरसिलो बन्थ्यो मेरो लागि। एक मन सोच्थ्यो, ‘माघ ७ गते नै डिलिट गर्दिउँकी स्कुलको क्यालेन्डरबाटै।’

०००० 
एसएलसी पास गर्ने, काठमाडौँ पढ्न जाने त्यहाँ अरू कोही हुन्थेन डढुवाईको छोराबाहेक। राम्रो जागिर खाने, राम्री दुलही ल्याउने, राम्री छोरी जन्माउने सबै जिम्मा अरूको नभएर डढुवाइकै छोराको थियो। हुँदाहुँदा छोरीको नाम पनि ढडुवाईको नातिनी बनेकोमा पीडाको ज्वालामुखी फुट्थ्यो मेरो मनमा। आधा उमेरमै बाबाको भिसा सकियो हामीसँगै कहिल्यै नबस्ने गरी। उच्च रक्तचापले बाबालाई निलिरहँदा आकाशै खसेजस्तो भएको थियो मलाई। विलापले म रुझेँ। अब डढुवई आमालाई खेद्न अर्को सिपाही पनि थपियो ‘विधवा पहिरन’। आमाको यो विद्रूप रूप देखेर म कहालिन्थेँ। डढुवाई आभुषणले लखेटिरहेको दृश्य म हेरिरहन्थेँ। र थप घृणा गर्थेँ मैले उनलाई। म पूरै बिर्सन चाहन्थे आमाको त्यो विकराल विरूप र ध्वस्त अनुहार। भुल्ने प्रयासमा अभ्यस्त हुँदै थिएँ, कीर्तिपुरका नेवाः गल्लीहरूमा।  
 
कीर्तिपुर नगरपालिकाको नयाँ भवनअगाडि ढलान गरिएको बाटो। बाटोपारि पिपलको रूख। छेवैमा वर्खाहिटी पुरानो ढुङ्गेधारो। हो त्यसैको पूर्वपट्टि एउटा झालेमाले कुकुर्नी निरन्तर कुरिरहेकी छे एक मृत छाउरोको लास। ‘जनावरमा पनि यति विघ्न सन्तानको माया हुन्छ’ भन्ने कल्पनै गरेको थिइनँ मैले यसअघि। तरकारी बोक्ने भ्यानले टाउकोमै किल्चेपछि उसको प्राणपखेरु उडेको हो। भोकले दाम्रिएको सुत्केरी पेट। दूध गानिएर झर्लङ्गिएको लाम्टो बोकेर मृत छाउरोसँगै टाँसिएको चारखुट्टे शरीर। 

‘आमा तिमी मेरो स्कुल कहिल्यै नआऊ है।’‘किन बाबु ? ‘मलाई लाज लाग्छ।’ ‘किन ? मेरो दूध चुस्न त लाज लाग्थे न त तँलाई ?’स्वाभाविक रूपमा भन्थिन् उनी।‘अँम् ! डामा ! साथीहरूले कस्तो जिस्काउँछन् मलाई।’

लासमाथि भन्किने झिंगा लखेट्नु, कुइकुइ आवाज निकालेर छाउरोलाई उठ्ने अनुरोध गर्नु, ठुङ्न आउने कौवाहरू खेदाउनु, बेलाबेला गानिएका दूधमा आफ्नै मुन्टो दलेर बटारिनु, घरि आफ्नो छाउरोले दूध नचुसेकोमा आकाशतिर फर्केर चिच्याउनु, त्यो कुकुर्नीको दैनिकी नै बनेको थियो। आफ्नो छेउमा कोही मान्छेहरू देखेपछि उनीहरूको अनुहारमा हेरिरहन्थी। आँखामा सहायता मागेको भाव झल्किन्थ्यो। आँखाबाट बेलाबेला आँसु चुहाउनु, पानी नपिएर पनि स्याँ-स्याँ गरी जिब्रोबाट र्‍याल काड्नु, उसको निरन्तरको अर्को डिउटी हो। 

नगरपालिकाको कारिन्दालाई आफ्नो छाउरोको लास उठाउन नदिएको दृश्य साँच्चै टिठलाग्दो मात्र थिएन एउटा दर्दनाक तस्वीर थियो, सेतो भ्यानलाई पछिपछि लखेटेर उसले भनिरहेझैँ लाग्थ्यो ‘यही हो मेरो छाउरोको हत्यारा अनि शत्रु।’ उसका आँखामा आक्रोश र रोधन मिश्रित आँसु प्रस्टै देखिन्थ्यो। आमाको माया साँच्चै अपार हुदोरहेछ। चाहे त्यो, जनावर होस् वा मानव। म थ्याच्च पेटीमा बसेँ। एउटा चुरोट सल्काएँ। आकाशतिर धुवाँ फाल्दै थिएँ, मेरो पापी मनमा एकाएक एउटा भावना उम्लेर आयो ‘ममताको महासागर हुन्, आमा।’

छिनभरमै मेरा आँखा रसाए। आफूले पढेका, पढाएका बिम्बहरू सरासर मनमा खुल्न थाले। ठूला मान्छेहरूले भनेका कुरा दिमागमा ह्वारह्वार्ती सलबलाउन थाले, ‘भगवानले सबैतिर हेर्न सक्दैनन् त्यसैले आमाको सिर्जना गरे।’ के साँच्चै भगवानले नै बनाएका हुन् आमाहरू ? आमा साथमा हुने मान्छे कहिल्यै गरिब हुँदैन भन्ने लिङ्कनको कोटेसन पनि दिमागमा झट्ट फुर्यो। त्यो तपश्या, त्यो समर्पण त्यो त्याग र स्वार्थहीन माया खोज्न अन्यत्र कही जानु पर्दो रहेनछ आमाको काखमा गए पुग्दोरहेछ भन्ने बोध भयो। निकै घोरिएँ।  

मोबाइल निकालेँ। आमालाई फोन गरेँ। कहिल्यै फोन नगर्ने छोराको फोन आएपछि आमा छक्क पर्नुभो। ‘आमा के गर्दै छेउ ?’ ‘बाख्रा चराउँदैछु। मेरा साथी, सन्तान जे भने पनि यिनै बाख्रा भाका छन्, अचेल।’ आमाले रुन्चे स्वरमा भनिन्। ‘सन्चै हुनुहुन्छ ?’ मेरा यी शब्द सुनेर आमा बोल्नै छोड्नु भयो। फोन काटियो वा काट्नु भयो। मैले बुझ्न सकिनँ।  

फेरि फोन गरेँ। ‘अर्को शनिबार आमाऔँशी हो। म तिम्रो मुख हेर्न आउँदैछु। विदाको दिन पनि परेको छ’ फोन उठ्नासाथ हतारहतार भनेँ। ‘सुँक्क सँुक्क’ बाहेक केही सुनिए।  म घर गएँ। आँगन पुग्दा बिहानको ९ बजेको थियो। भैसी दोहेर फर्किँदै हुनुहुँदो रहेछ, आमा। पिँडीमा झोला बिसाएँ। खुट्टा समातेर ढोगेँ। आमा मुर्ति जस्तै बन्नु भयो। डढेको र मुजापरेको गालामा आँसुका ढिक्का लुकाउने असफल प्रयास गर्नुभयो। ‘भयो बाबु’ भन्दै ‘खै त बुहारी र नातिनी’ रुन्चे स्वरमा सोध्नुभयो र भित्र पस्नुभयो। 

के साँच्चै भगवानले नै बनाएका हुन् आमाहरू ? आमा साथमा हुने मान्छे कहिल्यै गरिब हुँदैन भन्ने लिङ्कनको कोटेसन पनि दिमागमा झट्ट फुर्यो। त्यो तपश्या, त्यो समर्पण त्यो त्याग र स्वार्थहीन माया खोज्न अन्यत्र कही जानु पर्दो रहेनछ आमाको काखमा गए पुग्दोरहेछ भन्ने बोध भयो। 

अङ्गुर, खर्बुजो, स्याउ, दुई प्याकेट चुरोट र एउटा खराने रङ्गको सल राखेर मैले आमाको मुख हेरेँ। खान सँगै खायौँ। धेरै पछि छोरासँगै बसेर खान पाउँदा आमाको डढेको अनुहारको चमक नै अर्कै थियो। ‘साँझको खाना आज बाहिर खाने हो, रेस्टुरेन्टमा’ आमालाई नाइ नभन्ने सर्तमा यो कुरा भनेँ। तर, आमाले ‘एक छाक होटलाँ खानी पैसाले घराँ तीन छाक खान पुग्छ। पर्दैन त्यहाँ जान’ भन्दै आमाले अस्वीकृत भावमा मुन्टो हल्लाउनुभयो। तर, उहाँले मेरो कुरालाई नकार्न भने सक्नुभएन। र जान तयार हुनुभयो। 

ड्यामसाइड पोखरा। ‘प्याराडिसो क्याफे’। ‘भेज की ननभेज’ भन्दै वेटर पनि आइपुग्यो। ननभेजमा पोर्क भनेको सुनेर आमाले ‘पोर्क’भनेको हो ? भनेर सोध्नु भयो। मैले भने सुँगुरको मासु। आमाले नाक खुम्च्याउनु भो र भन्नु भो ‘म त खान्न मासु।’ ‘आज औँसी हो।’ फ्याट्ट बोल्नु भो आमा। ‘औँशी गइसक्यो, घाम डुबीसक्यो। अब खाँदा केही फरक पर्दैन,’ आमा र मैले ‘एउटा मटन सेट, एउटा फिस सेट’ खायौँ। 

आमाले एकोहोर मेरो आनुहारमा हेर्नु भयो। मैले पनि बुढ्यौलीको घाम र डढेको आमाको अनुहार नियाँले निकै बेर। मौन बस्यौँ एकछिनसम्म। ‘अब कहिले फर्किन्छस्, बाबू’ आमाले एक्कासी सोध्नुभयो। ‘पर्सि सोमबार’ मैले जवाफ दिएँ। ‘सँबार पूर्व जानु हुन्न’ भनेर सम्झाइन्।

आमाको त्यो डढेको अनुहारको रहस्य मलाई जान्न मन लाग्यो। तर, मैले सोध्न सकिरहेको थिइनँ। मनलाई बलियो बनाएर बोलेँ, ‘आमा म एउटा कुरा सोध्छु। तर सत्य कुरा भन्ने भए मात्र ?’ ‘के हो भन्न ? ‘तिम्रो यो अनुहार के भएर डढेको थियो खासमा ?’ ‘किन चाहियो तँलाई ? मैले उहिल्यै भनेको होइन ‘दाल झाँध्दा डडेको भनेर’। तर, आमाको भावले केही कुरा लुकाएको बताइरहको थियो। मैले जिद्धी गरिरहेँ। आमा एकोहोरिनु भो। लामो सुस्केरा तानेर भन्नु भयो ‘कुरा निकै लामो छ बाबु, त्यसै गाँठो परेर आउँछ मुटुमा।’

०००
‘२०२५ सालमा तेरो बाउसँग बिहे गरेर आउँदा मेरो उमेर १५ वर्षको थियो। १० वर्षसम्म पनि सन्तान भएनन्। अकलादेवी, डोर वाराही, विन्धवासिनी, तालवाराही काँमात्रै भाकल गरिनँ। अन्तिममा सन्तानेश्वरको दर्शन गरेपछि तँ गर्भमा बसिस्। त्यसपछि म धेरै बिरामी भएँ। छादेको छादै। रिँगटा लागेको लागै, म मरिसकेको थिएँ। तेरा बाले आखत हेराउनु भो। बोक्सी-डायनी, डक्किनीले पक्रेका छन् भनेर साइला धामीले निधो निकाले। यो डायनीले ‘सके आमा र गर्भको बच्चा दुवैलाई खान्चे, र यसले गर्भ पनि तुहाउन सक्छे। दिन हेराएर बोक्सी डाम्नुपर्छ।’ भनेर भने। तेरा बाले साँझ धामीलाई घरै बोलाउनु भयो। पूजापाठ भयो, भाकल भयो, कालो खुखुराको भाले काटियो, धामी बसे। छेउमा ठूलो पन्यू तताइयो, सुरुमा धामीले फुक्दै कुचोले पिटे। त्यसपछि धामीले दाँतै गाडेर कोपरे र अन्तिममा अगेनामा तताएको रातो पन्यूले पालै-पालो डामियो भुँडी, तिग्रा पिठियूँ, ढाड अनि धेरै ठाउँमा। ती सबै ठाउँमा डामिन्जेल त सहेकी थिएँ जब गालामा डामियो म मूर्छा परेर लडेछु। मलाई पानी छम्किएर कुनामा लडाइयो।

तेरा बाले धामीलाई घरै बोलाउनु भयो। पूजापाठ भयो। छेउमा ठूलो पन्यू तताइयो। धामीले दाँतै गाडेर कोपरे र अन्तिममा अगेनामा तताएको रातो पन्यूले पालै-पालो डामियो। ती सबै ठाउँमा डामिन्जेल त सहेकी थिएँ। जब गालामा डामियो म मूर्छा परेर लडेछु। 

जेठको उखरमाउलो घाम। भोलिपल्ट म थला परेँ। शरीरभरि पानी-फोका उठे। केराको पात बिछ्याएर सुत्थेँ म। आलु ताछेर दल्थेँ, गोलभेडा निचोरेर दल्थे, गाईको नौनी घिऊ घस्थेँ। अन्ततः बिस्तारै निको हुँदै गयो घाउ। यो गालामा पानी भरिएर झर्लङ् झर्लङ् भाथ्यो। 

ठ्याक्कै भदौको आधाआधीमा अलिअलि खाटा बस्न थाल्यो घाऊमा। बान्ता पनि रोकियो। मेरो पेट पनि ठूलो हुँदै गयो र मंसिरको आन्तिम बुधबार तँ जन्मिइस्। यो कुरा कसैलाई थाहा थिएन। सिर्फ म, तेरी हजुर आमा, बा र साइँला धामीलाई बाहेक। ‘यो सजायँको दाग हो बाबु, तँलाई जन्माउँदाको,।’ 
आमा बोल्नै छोड्नु भो। म निकै घोरिएर तालपारिको घनघोर रानीवनतिर हेरिरहेँ उदाशीन अतीत सम्झेर...।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.