लकडाउनमा तस्करको नजर चुरिया वनमा

लकडाउनमा तस्करको नजर चुरिया वनमा

जनकपुरधाम : चुरेडाँडा जंगलले ढाकिएको छ। वसन्त ऋतुसँगै वृक्षले पालुवा फेरेका छन्, हरिया पातले वन मनमोहक देखिन्छ। प्रदेश २ को  संरक्षित क्षेत्र चुरिया वनमा लोभलाग्दा सखुवाका रुखहरु छन्, ती साल प्रजातिका बहुमूल्य रुख हुन्। लकडाउनको मौका छोपेर तस्करले चुरे क्षेत्रका वन कटान गरेर तस्करी गरिरहेका पाइएको छ।  

लकडाउनको अवधिमा काठ तस्करी गरेर तस्करहरुले जंगलमा हानिनोक्सनी बढाएका छन्। वन निर्देशनालय जनकपुरधाम प्रदेश–२ का साहयक वनअधिकृत सुरेश शर्माका अनुसार चैत्र ११ गते यता लकडाउनको अवधिमा तस्करी गर्न लागिएको एक हजार १६३ क्यूवी फिट काठ प्रदेशभरिबाट बरामद गरिएको छ। 

काठ तथा वन्यजन्तु चोरी सिकारी गरिरहेका  ३२ सिकारी तथा तस्करहरु पक्राउ परेका छन्। काठ तस्करीमा प्रयोग गरिएको ट्रयाक्टर, मोटरसाइक, साइकल, टेम्पु जस्ता सवारीसाधन पनि नियन्त्रण लिइएको छ। धनुषामा काठ तस्करी गराएको आरोपमा वन रक्षक चन्द्रनारायण मण्डललाई निलम्बन गरिएको छ।

वन क्षेत्रमा तस्करहरु सजिलै प्रवेश गर्छन्, जंगलको सीमानमा घेराबेरा छैन। जंगल राज्यको खुल्ला बैंक झैं हो, जहाँ बहुमूल्य वन र वनस्पति छन्। वनको शृङ्गारको रुपमा हात्ति, गौंडा, बाघ, चितुवा जस्ता वन्यजन्तुहरु छन्। सुस्ताएको तस्करहरु लकडाउनको मौका छोपेर फेरि वन तस्करीमा सक्रिय भएका छन्।
 तस्करहरुले सालका रुख कटान गरेर तस्करी गर्ने गरेका छन्।  
     
तस्करहरुको जालो भत्काउन उद्योग, वन तथा पर्यटन मन्त्रालयका सचिव पेमनारायण कडेंलको कमाण्डमा जिल्लापिच्छे रहेका डिभिजन वन कार्यालयका प्रमुखका नेतृत्वमा ‘स्टिङ्ग अप्रेसन’विशेष टोली परिचालन गरिएको छ। वन टोलीमाथि तस्करहरु जाइलागे जिल्ला प्रमुखलाई गोली हान्ने अधिकार पनि दिइएको छ।

बेड रुममा तस्करीको काठ

बैशाख ५ गते बिहान महोत्तरीको बर्दिबास नगरपालिका–३ पाटुबाट ४७ वटा चिरान फेन्टा र आरा बरामद भयो। डिभिजन वन कार्यालय महोत्तरीको टोलीले बेड रुम र बख्रा खोरमा लुकाइ राखिएको साल र कर्माको ५४ क्यूवी फिट  चिरान काठ बरामद गरेको हो। 

वन तस्करीविरुद्ध ‘स्टिङ्ग अप्रेसन’मा पुगेका वन टोलीले पाटु प्राकृतिक सामुदायिक वन नजिकैको बस्तीका घरहरुमा २ पिक काठ भेटिएको थियो। यो वन चुरे संरक्षित क्षेत्रमा  पर्दछ। रेन्जर सन्तोषकुमार यादवको नेतृत्वमा खटिएको टोलीले काठ तस्करीको आरोपमा पाटुका रामकृष्ण माझीलाई पनि नियन्त्रणमा लियो।

बैशाख–४ गते बर्दिबास–१० स्थित खयरमारास्थित बाँके मरहा साँझेदारी वन नजिकै आँप बगैंचाबाट पाँच थान सालको गोली भेटियो। त्यसको नजिकैको वन क्षेत्रका रुख ढालेर लान टुक्राइएको  चार थान साल जातकै काठको गोली फेला पर्‍यो। 

बाँके सबडिभिजन कार्यालय लक्ष्मिनियाँका  साहयक वनअधिकृत रामसुन्दर साहका अनुसार वन र आँप बगैंचामा फेला परेको बहुमूल्य साल जातको ५० क्यूफिट काठ रहेको छ। लकडाउनको मौका छोपेर काठ तस्करहरु रुख काटेर लान लागेको दुई ट्रयाक्टर काठ बरामद गरिएको छ। काठ तस्करी हुन लागेको खबर वन कर्मचारीहरुलाई गाउँलेले दिएका थिए।

कोरोना भाइरसको महामारीबाट नागरिकलाई बचाउन सरकार, प्रहरी–प्रशासन व्यस्त रहेको मौकामा हरिया सालका रुख कटान गरेर तस्करहरुले चौका हानिरहेका छन्।

तस्करहरुलाई निरुत्साहित गर्न विशेष टोली परिचालन गरिएको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त साहले जनाए।लकडाउनको अवधिमा तस्करी गर्न लागिएको  १ सय ८६ क्यूफिट साल जातको काठ बरामद  गरिएको छ।काठ तस्करीमा प्रयोग गरिएको तीन वटा मोटरसाईक, एउटा टेम्पु, दुई दर्जन बढी साइकल नियन्त्रणमा लिइएको छ।‘तस्करविरुद्ध हामीले विशेष निगरानी राखेका छौं। वन नजिकैको बस्तीमा सुराकीहरु राखेका छौं,’ प्रमुख साहले भने,‘ तस्करहरु हतियारसहित जंगल पस्ने गरेका छन्। काठ बरामद गर्न हवाई फायर गर्नु पर्ने स्थिति पनि छ।’

तस्करी नियन्त्रणका वन कर्मचारी, सशस्त्र वन रक्षक रक्षक सहितका छुट्टा–छुट्टै तीन टोलीमा ४५ जना खटिरहेका छन्। तस्करविरुद्धका सूचना दिएर वन कार्यालयलाई गाउँलेहरुले सहयोग गरिरहेका छन्।

स–मिलमा छापा

बैशाख ७ गते जिल्ला वन कार्यालय महोत्तरीको टोलीले  गौशालास्थित स–मिलमा स्टिङ्ग अपे्रशन गर्‍यो। गौशाला नगरपालिका–८ बेलगाछीस्थित खाल्टे बजारको एक काठ चिरान मिलबाट अवैध १५ क्यूफिट काठ बरामद भयो। रेन्जर सन्तोषकुमार यादवको नेतृत्वमा खटिएको टोलीले रमेश स–मिलमा छापामारी गरेर चिरान गर्दै गरेको सखुवाको काठ नियन्त्रणमा लिएको छ।

विशेष सूचनाको अधारमा पुगेको  वन कार्यालयको टोलीलाई देखेपछि मिलका मालिक रवी महतो फरार भएको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्त साहले जनाए। फरार भएका चिरान मिलको मालिकलाई पक्राय गर्न टोली खटाइएको श्रोतले जनाएको छ।  

समूह बनाएर काठ तस्करी 

चुरेबाट काठ तस्करी गर्न सर्लाहीमा तस्करहरुको समूह नै सक्रिय भएको पाइएको छ। काठ तस्करी गरि लैजाँदै गरेका ११ जना तस्करलाई लालबन्दी नगरपालिका–१४ नारायण खोला क्षेत्रबाट  दुई ट्रयाक्टरसहित वन कार्यालयले नियन्त्रणमा लिएको छ। सुराकीले दिएको गोप्य सूचनालाई पछ्याउँदै पुगेका टोलीले तस्करमाथि गरेको ‘स्टिङ्ग अप्रेसन’को क्रममा उनीहरु पक्राउ परेका थिए। चैत्र ११ गते बिहान ३ बजे वन टोलीले तस्करमाथि कारवाही गरेर २९४ क्यूवी फिट सालको काठ  बरामद गरेको थियो।

‘लकडाउनको फुर्सदमा बेरोजगार भएकाहरु जंगलमा पसेर काठ तथा वन्यजन्तुहरुको चोरी निकास गरिरहेका छन्,’ डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधव प्रसाद देवले भने,‘लकडाउनमा हामीले २४ घण्टा गस्ती परिचालन गरेका छौं, यस अवधिमा चार सय ५३ क्यूवी फिट काठ बरामद गरेका छौं।’ काठ तथा वन्य जन्तुको चोरी सिकारी गरिरका १७ जना सर्लाहीबाट पक्राउ गरिएको उनले बताए।

रौत्तहटमा दोहोरो गोली हानाहान

लकडाउनको बेला जंगलमा गस्ती गर्न खटिएका शसस्त्र वन रक्षक र सिकारी समूहबीच  रौत्तहटमा दोहोरो गोली हानाहान भएको पाइएको छ। 
डिभिजन वन कार्यालय रौत्तहटका प्रमुख विनोद सिंहका अनुसार, रौत्तहटको चोंचा वन क्षेत्रमा तस्करसँग वनकर्मचारीको आमनेसामने भएको थियो। घटना स्थलबाट तस्करहरुले एक थान भरुवा बन्दुक छोडेर भागेका थिए।

लकडाउनको मौकामा तस्करी गरि लैजाँदै गरेको तीन जना तस्कर र ७० क्यूवी फिट काठ रौतहटबाट बरामद गरिएको छ।

वन रक्षक निलम्बित

धनुषाका वन रक्षकलाई तस्करलाई काठ तस्करी गरेको आरोप लागेको छ। सब–डिभिजन वन कार्यालय लालगढमा कार्यरत वन रक्षक चन्द्र नारायण मण्डलले वन विनास गर्न तस्करलाई सघाएको उजुरी परेको छ। मण्डललाई निलम्बन गरेर छानविन भइरहेको डिभिजन वन कार्यालय धनुषाका प्रमुख अशोककुमार झाले बताए।‘वनमा भइरहेको तस्करी नियन्त्रण गर्न रातदिन गस्ती गरिरहेका छौं,’उनले भने।

दुई साता अघि मिथिला नगरपालिका–११ तुल्सीस्थित डाँडाटोलबाट बिशेष सूचनाका अधारमा वन टोलीले ४४ क्यूपिट सालको काठ बरामद गरिएको थियो। वनबाट कटान गरिएको ल्याएको काठ तस्करीमा सघाएको भन्दै गाउँलले वन रक्षक मण्डलविरुद्ध वन कार्यालयमा उजुरी गरेका थिए। लकडाउनको अवधिमा धनुषामा ८० क्यूफिट काठ बरामद गरिएको छ।

वन संरक्षणमा ८५० जना सक्रिय

लकडाउनमा वनकर्मचारी र प्रहरीको आँखा छलेर तस्करहरु वन प्रवेश गरिरहेका छन्। गैरकानुनी काम गर्ने विरुद्ध संयन्त्र मार्फत कठोर भएर काम भइरहेको उद्योग, वन तथा पर्यटन मन्त्रालयका सचिव पेमनारायण कडेंलले बताए।

‘डिभिजन कार्यालयका प्रमुखहरु फिल्डमै छन्,’ उनले भने, ‘तस्करी नियन्त्रण गर्न चाहिने सबै साधन श्रोत जिल्लामा पठाएका छौं।’ गस्ती गर्ने गाडी बिग्रिएपछि मन्त्रालयबाटै डिभिजन वन कार्यालय सप्तरीलाई सवारी पठाएको बताउँदै उनले थपें, ‘उच्च मनोबलमा साथ वन संरक्षण गर्न हामी सक्रिय छौं।’ 

लकडाउनमा वनमा हुने चोरी, सिकारी तस्करी नियन्त्रण गर्न प्रदेश २ का आठै जिल्लामा ८ सय ५० जना वन कर्मचारी, रेन्जर, फोरेष्टर, शसस्त्र वन रक्षक र रक्षक सक्रिय रहेको जनाएको छ। प्रदेश २ मा कूल २ लाख १९ हजार ७८० हेक्टर वन क्षेत्र रहेको छ। त्यसमध्ये  १ लाख १५ हजार ९०६ हेक्टरमा चुरीया जंगल फैलिएको छ। निकै संवेदनशील मानिने चुरेका वनमा लकडाउनको मौका छोपेर तस्करहरुले रुख कटान गरेर तस्करी गरिरहेको छ।  कूल वन क्षेत्रमध्ये १७ हजार ८४३ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.