बलात्कारमा संलग्न तीन युवा पक्राउ
काभ्रे : जर्बजस्ति करणी अभियोगमा फरार रहेका तीन फरार अभियुक्तलाई जिल्ला प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रेस विज्ञप्ती जारी गर्दै ती अभियुक्तहरुलाई ८ महिनापछि प्रहरीले बुधबार नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले जर्बजस्ती करणी अभियोगमा असोजदेखि फरार रहेका तीन युवाहरुलाई लकडाउनको समयमा घरमै लुकिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रबि पौडेलले जानकारी दिए ।
पक्राउ परेका युवाहरुले २०७६ असोज १३ गते धुलिखेलको हस्पिटल चोकमा बसोबास गर्दै आएकी १६ वर्षीय बालिकालाई प्रलोभन देखाइ जर्बजस्ती करणी गरेको विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा उल्लेखित जानकारी अनुसार बा.५.च ३८४९ नम्बरको बोलेरोमा राखी उनीहरुले धुलिखेलबाट बनेपा नगरपालिका स्थित काभ्रे क्याम्पसभन्दा माथि जंगलमा लगी गाडीभित्र नै जबरजस्ती करणी गरेका थिए । घटनाका बारेमा कसैलाई केहि नभन्नु भन्दै बालिकालाई उनीहरुले धम्काएका थिए ।
घटनाबारे बालिकाको परिवारले असोज १६ गते मात्रै प्रहरीमा उजुरी दिएका थिए । उक्त घटनापछि ती युवाहरु फरार थिए ।
करणीपश्चात फरार रहेका युवाहरुलाई मुलुकी अपराध संहिता, २०७४ को करणी सम्बन्धी कसूर अन्तर्गत जबरजस्ती करणी (दफा २१९) अन्र्तगत २०७६ असोज १६ गते जाहेरी दर्ता भएको थियो । काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट असोज १७ गते नै पक्राउ अनुमती लिई खोजतलास गरिरहेको प्रहरीले लुकीछिपी बसेको अवस्थामा उनीहरुकै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
फरार अभियुक्तहरुमा काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नं ८ कुन्तावेशी घर भई हाल बनेपा नगरपालिका वडा नं १० मा बस्दै आएका १९ वर्षीय सविन गौतम, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं ४ को शेरा घर भइ बनेपा नगरपालिका वडा नं १० मा डेरा गरी बस्दै आएका १९ वर्षीय सविन दुलाल र काभ्रेको पनौती नगरपालिका वडा नं ५ सुन्दरबस्ती बस्ने १८ वर्षीय सन्देश थापा रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनीहरुले प्रयोग गरेको बा ५ च ३८४९ नम्वरको बोलेरो गाडीसमेत नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।