कसरी जिते कोरोना ?
काठमाडौं : कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विकसित मुलुकलाई नागरिक बचाउन हम्मेहम्मे परिरहेका बेला संक्रमित नेपाली भने तङ्ग्रिँदै गएका छन्। सघन उपचार कक्ष (आईसीयू)मा नबसी आइसोलेसन वार्डबाटै डिस्चार्ज हुन सफल भएका छन्।
कोरोना भाइरस संक्रमणबाट सुविधासम्पन्न मुलुकमा १ लाख ७८ हजारभन्दा बढीको ज्यान गइसकेका बेला नेपालमा रहेका व्यक्ति भने निको भएर घर फर्केका छन्। चार महिनाको अवधिमा सात जना संक्रमित उपचारपछि निको भई डिस्चार्ज भएका छन्। शुक्रराज ट्रपिकल अस्पताल काठमाडौं र सेती प्रादेशिक अस्पताल धनगढीका तीन÷तीन जना र धौलागिरि अञ्चल अस्पताल बाग्लुङबाट एक गरी सात जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत माघ ९ गते चीनबाट आएका नेपाली युवामा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको थियो। उनी पुस २४ गते कोरोना भाइरसको उद्गम मानिने चीनको वुहानबाट स्वदेश आएका थिए। ३२ वर्षीय ती युवामा संक्रमणको पहिलो पुष्टि भएको जानकारी मन्त्रालयले पत्रकार सम्मेलनद्वारा दिइएको थियो। ती युवाको नाम सार्वजनिक गरिएको छैन।
दोस्रो संक्रमित काठमाडौंकी प्रसिद्धि श्रेष्ठ हुन्। उनी फ्रान्सबाट कतारको दोहा हुँदै चैत ५ गते स्वदेश आएकी थिइन्। शुक्रराज अस्पतालमा डिस्चार्ज हुँदा खुसी देखिएकी श्रेष्ठले भनिन्, ‘सुरुमा केही लक्षण देखिएको थिएन। माइल्ड (साधारण)खालको समस्या थियो।’ स्वदेश आएलगत्तै घरमा उनी क्वारेन्टाइनमा बसेकी थिइन्। भर्ना हुने बेलासम्म कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएको डिस्चार्ज हुने बेला उनले बताइन्। १९ वर्षीया श्रेष्ठ चैत ९ गते शुक्रराज अस्पताल भर्ना भएकी थिइन्। २७ औं दिनमा उनी डिस्चार्ज भइन्।
बेल्जियमबाट स्वदेश आएकी बाग्लुङकी ६५ वर्षीया मनकुमारी पौडेल पनि कोरोना भाइरसविरुद्ध लडिन्। कोरोना संक्रमणको पुष्टी पछि उनलाई चैत १७ गते अस्पताल भर्ना गरियो। ‘अचम्मै भयो। अस्पतालमा बस्दा एक दिन पनि गाह्रो महसुस भएन। आमा त तगडा हुनुहुन्छ भन्दै नर्सहरुले हौस्याए। आत्मबल बढ्यो ’ पौडेलले भनिन,‘ म जस्तो दम र प्रेसर (रक्तचापको)को विरामीले त कोराना सँग लडेर बाँचे। निरोगी युवाहरुलाई त झन् केहि हुँदैन।’ १८ दिनमै उनी डिस्चार्ज भएकी थिइन। मनकुमारी र प्रसिद्धि बैशाख ६ गते डिस्चार्ज भएका हुन।
त्यस्तै तेस्रो संक्रमित युवा साउदी अरब (युएई)बाट चैत ६ गते नेपाल आएका थिए। चैत १३ गते संक्रमणको पुष्टी भएको थियो। उनी धादिङका हुन। ३२ वर्षिय ती युवा बुधबार डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। उनी २९ औं दिनमा डिस्चार्ज भएका हुन।
त्यस्तै चौथो संक्रमित कैलालीका राज विक पनि डिस्चार्ज भएका छन। भारतमा संक्रमण देखिन थालेपछि चैत ११ गते नेपाल आएका थिए। १९ वर्षिय विकलाई क्वारेन्टाइनमा बसेको बेला गरिएको परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएपछि चैत २२ गते भर्ना गरिएको थियो। ‘ रोगप्रतिरोधात्मक क्षमता नै ठुलो कुरा रहेछ। मनोबल उच्च राखेर नै कोरोना भाइरससँग लडन सकियो।’ उनले भने। उनी अस्पतालबाट १६ दिनमा डिस्चार्ज भएका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र सेती प्रादेशिक अस्पतालमा उपचारत बुधबार थप दुई जना डिस्चार्ज भएका छन। जसमध्ये धादिङका तेस्रो संक्रमित युवा शुक्रराज अस्पताल र अर्को सेती अस्पतालबाट ४० वर्षिय पुरुष भएको डा. देवकोटाले बताए।
पहिलो व्यक्ति संक्रमित भएको साढे दुई महिनापछि कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको थियो। विदेशबाट आएका व्यक्तिमामात्र संक्रमण देखिएको अवस्थालाई पहिलो चरण मानिन्छ। विदेशबाट आएका व्यक्तिले स्थानीयलाई संक्रमण गराएको अवस्थालाई दोस्रो चरणका रुपमा लिइने विज्ञहरु बताउँछन।
गत चैत २२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण दोस्रो चरणमा प्रवेश गरेको सार्वजनिक गरेको थियो। दुबईबाट भारतहुँदै नेपाल आएका एक युवकबाट ३४ वर्षिया भाउजुमा संक्रमण भेटिएको थियो। उनको हाल सेती अन्चल अस्पतालमा उपचार भइरहेको छ। घरमै बसिरहेकी स्थानीयमा भाइरस संक्रमण भएको पुष्टि पछि कोरोना भाइरसको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको जनाइएको थियो।
कसरी भए निको ?
तीन जनालाई डिस्चार्ज गर्न सफल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारी संक्रमितहरुमा गम्भीर खालको लक्षण नदेखिएको बताउँछन।‘ कतिपय विरामीमा सामान्य खालको हल्का ज्वरो र खोकी लाग्ने, थकाई महसुस मात्र थियो। लाक्षणिक उपचार गरियो। एन्टिबायोटिक औषधि चलाइयो।’ उनले भने। संक्रमित विरामीलाई आवश्यक पर्ने अनुमानका साथ भेन्टिलेटर सहितको सघन उपचार कक्ष (आईसीयु) व्यवस्था गरेपनि प्रयोग गर्नु नपरेको डा. राजभण्डारीले जानकारी दिए।
शुक्रराज अस्पतालले अस्पतालको आइसोलेसन वार्डमा बसिरहेका अबस्थामा विरामीको मनोबल उच्च राख्ने कार्यलाईलाई पनि प्राथमिकता दिएको डा. राजभण्डारीले बताए। उनले भने,‘खानपानमा पनि ध्यान दिएका थियौं।’ अस्पतालले बनाएको नियम विरामीले सहजै मानेको र सकारात्मक सोंच बढाउने तिर पनि ध्यान दिएका कारण विरामीलाई निको हुन सहज भएको डा. राजभण्डारीले बताए। मनोबल उच्च राख्नका लागि भाइबर र म्यासेन्जरको माध्यमबाट पनि परामर्श दिइएको डा. राजभण्डारीले जानकारी दिए। अन्य विकसित मुलुकमा विरामीलाई सेवन गर्न दिइएको हाइड्रोक्लोरोक्विन औषधिको प्रयोग नगरिएको अस्पतालले जनाएको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जका पल्मोनोलोजी एण्ड क्रिटिकल केयर मेडिसिन विभागका सह प्राध्यापक डा. निरज बमका अनुसार, रोग प्रतिरोधात्मक क्षमता उच्च भएका र बाहिरी मुलुकबाट आएका भएकोले डिस्चार्ज हुन सफल भएका हुन। ‘कोरोना भाइरसको संक्रमण अहिले दोस्रो चरणमा छ। संक्रमण युवायुवतीमा मात्र भएको छ। यसले गर्दा मृत्युदर नभएको हो। ’ डा. बमले भने,‘ नेपालमा मात्र होइन भारत लगायतका मुलुकमा पनि कोरोना भाइरस संक्रमणको शुरुवाती चरणमा मृत्युदर थिएन।’
कोरोना भाइरसको संक्रमण तेस्रो चरण अर्थात समुदायतहमा फैलिएको अवस्थामा मृत्युदर देखिन सक्छ। ‘ समुदायमा दीर्घरोगी रहेका हुन्छ। मुटु, मिर्गौला , दम क्यान्सर लगायत दीर्घ रोगको औषधि सेवन गरिरहेका ज्येष्ठ नागरिक र रोगप्रतिरोधात्मक क्षमता न्युन भएका व्यक्तिमा संक्रमण भए मृत्यु हुने जोखिम हुन्छ। सबैजना सचेत हुनु पर्छ। ढुक्क हुने अवस्था छैन।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरले भाइरसजन्य सामान्य समस्यालाई पचाउन सक्ने क्षमता नेपालीहरुमा रहेको बताउँछन। ‘भाइरसबाटै हुने रुघाखोकीलाई त नेपालीहरुले सामान्य रुपमा लिंदै एक सातामै ठिक पार्न सक्छन। त्यहिं समस्यालाई विदेशीले झेल्न सक्दैनन। ’ डा. प्याकुरेलले भने।
त्यस्तै विदेशीले झैं नेपालीले एक आपसमा हात मिलाउने, अँगालो हाल्ने जस्ता संष्कार नभएकोले पनि संक्रमण नफैलिएको र संक्रमितहरुलाई पनि गम्भीर अवस्थामा पुराउनबाट जोगाएको बताउँछन। यसैगरि निको भएकाहरु ज्येष्ठ नागरिक नभएको र कुनै दीर्घ रोगले च्यापेको पनि पाइएको छैन। डा. प्याकुरेल भन्छन,‘ अमेरेकि एवं युरोपेलीहरु स्वास्थ्य विमा छ। गम्भीर अवस्था आइपरे सरकारले उपचार गर्दिहाल्छ भनेर लापरवाही गर्ने प्रवृत्तिले पनि जटिल अवस्थामा पुराएको हो।’
नेपालीमा कोरोना भाइरस पचाउने क्षमता धेरै भएको मान्नु पर्ने तर्क गर्दै डा. प्याकुरेलले थपे,‘ सघन उपचार कक्षमा बस्नु परेन। भेन्टिलेटरमा समेत राख्नु परेन। आइसोलेसन बेडबाटै डिस्चार्ज हुनु सुखद पक्ष हो।’
तेस्रो चरण उन्मुख
बाहिरि मुलुक नगएको स्थानीय व्यक्तिबाट स्थानीयमा संक्रमण भई समुदाय तहमा संक्रमण भएको अवस्थालाई तेस्रो चरणका रुपमा लिइन्छ। मन्त्रालयका प्रवक्ता डा. देवकोटाले एकै ठाउँमा धेरै संख्यामा संक्रमितहरु देखिन थालेको बताए। समुदायतहमा संक्रमण फैलने भएकोले तेस्रो चरणमा ठुलो समुदायको ठूलो जनसंख्यालाई प्रभावित गर्छ।चौथो चरणमा महामारीको अवस्था देखा पर्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले कोरोना भाइरसको संक्रमणको अवस्था हेर्दाजतेस्रो चरण उन्मुख रहेको बताउँछन। डा. प्याकुरेल भन्छन,‘ एउटै गाउँमा २४ जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको छ। यस हिसाबले हेर्दा तेस्रो चरणतर्फ उन्मुख भएको देखिन्छ।’ बरिष्ठ फोक्सो तथा सघन उपचार (आइसीयु) विशेषज्ञ डा. अर्जुन कार्कीले पछिल्लो अवस्थाले कोरोना भाइरस संक्रमण तेस्रो चरणतर्फ प्रवेश गर्ने संकेत देखिएको बताए।
मन्त्रालयका प्रवक्ता डा. देवकोटाले संक्रमणको दर बढिरहेकोले घरमै बसेर पूजाप्रार्थना गर्न अपिल गरे। डा. देवकोटाले भने,‘ मठमन्दिर, मस्जिद,चर्च , गुम्बाहरु लगायतका स्थानमा पूजा तथा प्रार्थना गर्ने व्यक्तिको भीडभाड हुने भएकोले भीडभाड नगर्न अनुरोध गर्छु। समुहमा पूजा तथा प्रार्थना नगर्न अनुरोध गर्न चाहन्छौं। सकेसम्म घरबाटै आ आफनो आस्था अनुसारको पूजाप्रार्थना गरेर एक अर्कालाई संक्रमण नसार्ने वातावरण सिर्जना गरौं।’
हालसम्म पीसीआर विधिबाट ९ हजार ११ जनाको परीक्षण भइसकेको छ। यस परीक्षणबाट हालसम्म ४५ जना संक्रमित भएको पाइएको छ। जसमध्ये सात जना निको भइ घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।