दल दर्ताका लागि राजपा र समाजवादीका नेता निर्वाचन आयोगमा
काठमाडौं : दल दर्ताका लागि राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीका नेता निर्वाचन आयोगको कार्यालय पुगेका छन् । दुवै पार्टी एकता भएपछि अहिले दल दर्ताका लागि नेताहरु निर्वाचन आयोग पुगेका हुन् । जनता समाजवादी पार्टी दर्ताका लागि राजेन्द्र श्रेष्ठलगायत नेताहरू अहिले कान्तिपथस्थित आयोग कार्यालयमा पुगेका छन्।
बुधबार राती राजपा र समाजवादीबीच एकता भएपछि समाजवादी र राजपाका नेता नयाँ दल दर्ताका लागि आयोगको कार्यालय कान्तिपथमा पुगेका हुन् । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल राख्ने सहमति भएको छ । अहिले दल दर्ताका लागि दुवै पार्टीका शीर्ष नेता निर्वाचन आयोगमा पुगेका हुन् । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेताहरुले दल दर्ताका लागि आवश्यक कागजातको तयारी गरिरहेका छन् ।
एकतापछि नयाँ पार्टीको झण्डा भने समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ भने चुनाव चिह्न राजपाले प्रयोग गरेको छाता राख्ने सहमति भएको छ । बुधबार राती भएको सहमतिमा राजपाका तर्फबाट महन्थ, ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीले सोमबार मात्र मन्त्रिपरिषद् बैठकबाट दल विभाजन खुकुलो हुनेगरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएपछि राजपा फुट्ने चर्चा चलेको थियो । बाहिरी हल्ला विपरित बुधबार राती राजपा र समाजवादीबीच एकता भएको हो । संघीय संसदमा राजपा र समाजवादीका १७/१७ गरेर । ३४ सांसद रहेका छन् ।