आरडीटी किट अभावमा परीक्षण रोकियो
राजविराज : उदयपुरमा फेला परेका कोरोना संक्रमित २८ मध्ये दुईजना सप्तरीको सुरुङ्गा नगरपालिकाका भएपनि आरडीटी किट अभावमा सो क्षेत्रमा परीक्षण हुन सकेको छैन् । सुरुङ्गा नगरपालिका-११ औराहा भजक्का क्षेत्रका बासिन्दाले वडालाई सिल गरी कोरोना परीक्षण तीव्र पार्न माग गरे पनि जनशक्ति र आरडीटी किटको अभावका परीक्षण हुन नसकेको हो ।
त्रियुगा नगरपालिका-३ भुल्केमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएका दुईजना भजक्काको रहेको खबरले सो ठाउँका युवाहरुले बार लगाएर बाटोहरु घेरेको वडा अध्यक्ष गयाप्रसाद चौधरीले बताए । चौधरीका अनुसार आवतजावत समेत बन्द हुने गरी बाटोहरु अवरुद्ध पारिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पुष्टि गरेका ११ जनामध्ये दुईजना सुरुङ्गा-११ का स्थायी बासिन्दा हुन् । स्थानीयवासीका अनुसार एकै परिवारका संक्रमित ५ मध्ये १ जना १८ वर्षीय युवा भुल्केस्थित मामाघर गएपछि लकडाउनका कारण सुरुङ्गास्थित घर फर्किन पाएनन् । अर्का ३५ वर्षीय मौलबी तीन महिनादेखि घर नफर्किएको र भुल्केस्थित मस्जिदमा बस्ने गरेको उनको परिवारले जानकारी दिएको वडा अध्यक्ष चौधरीले बताए ।
तर, भुल्केवासीले उनी सुरुङ्गा र भुल्केस्थित मस्जिदमा आउने जाने गरेको बताउँछन् ।संक्रमित मौलवीको घरमा २० जनाको परिवार रहेको र उनकी श्रीमती सुरुङ्गाको औरहा भजक्का, कुशहा, कदमाहा, टिकुलिया सम्म गएर तरकारी बेच्ने गरेको वडा अध्यक्ष चौधरीले बताए ।
भुल्केमा पहिलो पटक फेला परेका संक्रमित भारतीय सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिकाको मस्जिदमा बस्दै गएको पत्ता लागेपछि सो क्षेत्रमा मात्र २ सय ३७ जनाको आरडीटी परीक्षण गरिएको थियो ।
संक्रमितहरु बसेको सप्तकोशी, कञ्चनरुपमा ठूलो सङ्ख्यामा परीक्षण गर्नु परेकाले आरडीटी किट अभाव भएको स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ । स्वास्थ्य कार्यालयमा प्राप्त आठ सयमध्ये सात सय ४० किट सकिएको निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपलाई उपलब्ध गराइएको एक सय किट पनि सकिएको सिनियर अहेव डम्बर गुप्ताले बताए ।
यसैगरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आएको १ सय ६० मध्ये १ सय १७ किट सकिसकेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए । मागअनुसार आरडीटी किट, भिटिएम, पीपीइ, मास्क, सेनिटाइजर, थर्मल गन आदि आपूर्ति हुन नसक्दा स्वास्थ्य सेवामा समस्या भएको स्वास्थ्य कार्यालय निमित्त प्रमुख यादव बताउँछन् । इस्लाम धर्मावलम्बीहरुको धार्मिक सभा 'इज्तिमा' भएको बोदे बर्साइनमा नेपाली सेनाको सहयोगमा स्वाब संकलन केन्द्र स्थापना गर्ने निर्णय भएको पाँच दिन बिते पनि भिटिएम र आरडीटी किटको अभावमा परीक्षण सुरु हुन सकेको छैन् ।
बोदे बर्साइन नगरपालिका-५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म भएको धार्मिक सभा 'इज्तिमा' मा एक लाख बढी इस्लाम धर्मालम्बीहरु भेला भएका थिए । 'इज्तिमा' मा भेला भएका जमातीहरु नै आफ्नो कार्यक्षेत्र बाँडेर फरक–फरक मस्जिद गएकाले सो क्षेत्र पनि जोखिमयुक्त भएको ठहर गर्दै बोदे बर्साइनमा स्वाब संकलन राख्ने निर्णय भएको हो ।
नेपाली सेनाको चिकित्सकसहितको टोली स्वाब संकलनका लागि तयारी अवस्थामा रहे पनि भिटिएमकै अभावले आउन पाएका छैनन् । जिल्लामा भिटिएम र आरडीटी किटलगायतका सामाग्री माग भन्दा निकै कम प्रदेश सरकारले पठाएको निमित्त प्रमुख यादवले जानकारी दिए । 'किट अभाव छ,' उनले भने, 'प्रदेश सरकारले एक दुई दिनमा पठाइदिने आश्वासन दिएको छ ।' कोरोना संक्रमणको जोखिममा रहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकलगायतको आरडीटी परीक्षण पनि हुन सकेको छैन ।
अनुगमन, निरीक्षणका लागि बुधबार आएका प्रदेश २ को महिला तथा बालबालिका सामाजिक न्याय समितिसँग पनि अस्पतालका प्रमुख मेसु डा. दास र स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले स्वास्थ्य सामग्री माग गरे । आठ जना प्रदेश सांसदको नेतृत्व गर्दै आएका समितिका सभापति जैनुल राइनले प्रदेश सरकारलाई निर्णय भइसकेको पीसीआर मेसिन जडान गर्न र स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउन निर्देशन दिने आश्वासन दिए ।