लकडाउनमा सडक प्रदर्शन : नारायणीलाई जनरल अस्पताल बनाउने माग
वीरगन्ज : कोरोनाका ४ संक्रमित राखिएको वीरगन्जको नारायणी अस्पताललाई तत्काल जनरल अस्पताल बनाउन माग गर्दै बिहीबार प्रदर्शन गरिएको छ । नवगठित जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले लकडाउनको अवधिमा पनि बिहीबार वीरगन्जको छपकैयास्थित सडकमा निस्किएर प्रदर्शन गरेका हुन् ।
तर प्रदर्शनका क्रममा उनीहरुले सामाजिक दुरी भने कायम राखेका थिए । सरकारले कोबिड १९ अस्पतालका लागि घोषणा गरेको नारायणी अस्पतालमा कोरोनाका संक्रमित भेटिएसँगै त्यहाँ अरु सबै उपचार सेवा बन्द गरिएको छ ।
नारायणी अस्पताललाई कोबिड १९ अस्पताल घोषणा गरेर सरकारले वीरगन्जको नेशनल मेडिकल कलेजमा सरकारी दरकै शुल्कमा बिरामीको उपचार गर्न निर्देशन दिएको छ । तर नेशनल मेडिकल कलेजले बिरामीसँग चर्को शुल्क लिएको गुनासो आएकाले नारायणी अस्पताललाई नै फेरि जनरल अस्पताल बनाउन माग गर्दै आफूहरुले प्रदर्शन गरेको जनता सामाजवादी पार्टीका नेता राजेशमान सिंहले बताए ।
'विश्व स्वास्थ्य संगठनको मापदण्डविपरित घना मानववस्तीबीचमा रहेको सरकारी अस्पताललाई कोबिड १९ अस्पताल बनाइएको छ, अर्को कुरा नेशनल मेडिकल कलेजले सरकारी रेटभन्दा बढी शुल्क लिइरहेको छ', सिंहले भने, 'गरिब जनता उपचार नपाएर मर्ने अवस्था छ ।'
कोबिड १९ अस्पतालका लागि वीरगन्ज महानगरपालिकाले गण्डक हस्पिटललाई लिइसकेकोले नारायणी अस्पतालमा राखिएका ४ संक्रमितलाई त्यहीँ सारेर नारायणी अस्पताललाई तत्कालै जनरल अस्पताल बनाउनु पर्ने माग आफूहरूको रहेको सिंहले बताए ।
जनता समाजवादी पार्टीका नेता लियाकत अलीको नेतृत्वमा भएको प्रदर्शनमा नेताहरु राजेशमान सिंह, सलाउद्धिन मन्सुरी, वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार लगायतको सहभागिता थियो ।