बालबालिकालाई खोप लगाउन सुरु
बुटवल : कोरोना भाइरसको महामारीसँगै रोकिएको खोप सेवा बुटवलमा सुरु गरिएको छ । बालबालिकाका लागि अत्यावश्यक खोप दिन थालिएको हो ।
खोप सेवा बन्द हुदा हजारौं बालबालिकाका अभिभावकले चिन्ता गरेका थिए । बुटवल उपमहानगरले करिव ६ हजार बालबालिकालाई खोप दिँदै छ । बुटवलमा सुरु भए पनि अन्य क्षेत्रका बालबालिकाले खोप पाउन सकेका छैनन् । यस क्षेत्रमा रुबेला दाजुराको खोपसमेत सञ्चालनकै क्रममा रोकिएको थियो ।
नियमित खोप सेवालाई अवरुद्ध हुन नदिन बुटवलले स्वास्थ्यकर्मीलाई पीपीइ लगाएर काममा खटाएको छ । बालबालिकाका लागि अत्यावश्यक र आधारभूत स्वास्थ्य सुरक्षाका लागि खोपको अति नै जरुरी पर्दछ ।
बालबालिकालाई निश्चित रोगबाट बचाउन अग्रिम दिइने एन्टिजोनलाई खोप भनिन्छ । एन्टिजोनहरू रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि निश्चित समयमा उमेर समूह अनुसार बच्चालाई लगाइन्छ । बुटवलमा अहिले लगाउन थालिएका सबै खोप विश्व स्वास्थ्य संगठनद्वारा मान्यताप्राप्त खोप हुन् ।
बीसीजी, पेन्टा, ओपीभी, एफआइपीभी, पीभीसी, एमआर तथा जेई र टीटी नामका खोप लगाउन सुरु गरिएको छ । यी खोपहरु जन्मिदेखि २३ महिनाको बच्चालाई लगाउनुपर्ने हुन्छ । कतिपय खोप १२ वर्षको बच्चासम्मलाई दिने खालका हुन्छन् । जन्मिएदेखि २३ महिना पुगेका उमेर समूहका बच्चाहरु हाल बुटवलमा झण्डै छ हजार जना रहेको उपमहानगरको स्वास्थ्य शाखाको तथ्यांकमा छ ।
बुटवलमै खोप भण्डारण केन्द्र सञ्चालन गरेकाले खोपका लागि सहज भएको छ । नगर प्रमुख शिवराज सुवेदीले स्वास्थ जस्तो संवेदनशील क्षेत्रमा कुनै पनि हेल्चेक्य्राइँ नगर्न र सुरक्षित रहेर सुरक्षित पार्न निर्देशन दिएका छन् । उपमहानगरमा रहेका र पीपीई लगाउँदै खोप कार्यक्रममा जुट्ने स्वास्थकर्मीहरुलाई निर्देशन दिँदै प्रमुख सुवेदीले प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन जरुरी रहेकोमा जोड दिए ।
विश्व अहिले कोरोना भाइरस संक्रमणको खोपका बालबालिकामा लगाइने बीसिजी र दादुरा रुबेला खोपमा अनुसन्धान गरिरहेको बेला बुटवलले नियमित सुरुआत गरेर सकारात्मक कामको थालनी गरेको छ । ‘रोग प्रतिरोधात्मक क्षमतासमेत बढाउने र बालबालिकाका लागि अति जरुरी रहेको खोपलाई बन्द नगर्न जुनसुकै सुरक्षाको प्रवन्ध मिलाएर भए पनि सुचारु गर्नुपर्छ भनेर लागेका हौं’, प्रमुख सुवेदीको भनाइ छ । कोरोनामा देखिने लक्षण ज्वरो र श्वासप्रश्वास समस्याका लागि बीसीजी खोपलाई प्रभावकारी मानिएको छ ।
जन्मिने बित्तिकै लगाउनुपर्ने बीसीजीदेखि विभिन्न आठ प्रकारका खोपलाई बुटवलले निरन्तरता दिएको छ । नगरका सहरी स्वास्थ्य केन्द्र, सेमलार स्वास्थ्य चौकी र मोतिपुर स्वास्थ्य चौकीमा बैशाख १० गतेदेखि सुरु भएको खोप आउँदो १४ गतेसम्म सञ्चालन हुने गरी कार्यक्रम सुरु गरिएको हो ।
पीपीई लगाएका दुई जना स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले खोप लगाउने समय तालिका मिलाइएको र उनीहरुको संयोजन स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंह नेतृत्वमा कर्मचारीहरुले गरेका छन् ।
बुटवलमा हाल वर्षभरिमा पाँच सय ५२ खोप सेसनहरु सञ्चालन हुँदै आएका छन् । यस क्षेत्रमा बीसीजी खोप ११ हजार ४०, डीपीटी हेप वी हिव १२ हजार तीन सय ८०, एमआर ११ हजार छ सय ७० तथा टीटी १० हजार ५० र जेई तीन हजार पाँच ११ जनाले वार्षिक रुपमा लगाउने गरेको स्वास्थ्य शाखाको तथ्यांकमा छ ।