सिमामा अलपत्र किरियापुत्रीलाई घर ल्याइयो
सन्धिखर्क : भारतीय सिमानामा अलपत्र परेका किरियापुत्री र उनका छोरासहित २ जनालाई पाणिनि गाउँपालिकाले उद्दार गरी घर ल्याएको छ ।
उनका बुबा उदयबहादुर बिकको ८ गते राती निधन भएको थियो । बुवाको निधनमा एक्लो छोरा धनीश्वर पनि किरिया बस्न आउन नसकेपछि गाउँपालिकाले नेपाल सरकार र भारतको उत्तर प्रदेस सरकारसँग समन्वय गरेर २ जनालाई उद्दार गरी घरमा लिएर आएको पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताए । हिन्दु धर्म र सस्कृति अनुसार छोराबिना किरिया बस्न नमिल्ने भएपछि दुई देशका सरकारसँग समन्वय गरेर २ जनालाई घरमा ल्याइएको अध्यक्ष गौतमको भनाइ छ ।
'कसैसँग नछोइकनै किरिया गर्ने गरी किरिया बसाएर र्यापिड टेस्ट र स्वाब परीक्षण सबै गराएर सबै रिपोट नेगेटिभ देखिएपछि घरमै सेल्फ क्वारेन्टाइनमा किरिया बस्न लगाएको अध्यक्ष गौतमले बताए ।
अन्य जिल्लाका मानिसहरु बाबुआमाको किरिया पनि सिमानामै बसेको भन्ने खबर आइरहँदा पाणिनि गाउँपालिकाले आफ्नो पालिकाका किरियापुत्री र उनका छोरा राजु बिकलाई घरमा ल्याएर सेल्फ क्वारेन्टाइनमा राखेको हो ।
बुबाको मृत्यु हुँदा दागबत्ती दिन आउन नपाएका उनी किरिया गर्न आउन पाउँदा खुशी भएका छन् । सबैले उतै सिमानामा किरिया बस्न पर्छ होला भनेका थिए । पालिका अध्यक्षको पहलमा घरमै आएको बुबाको किरिया गर्न पउँदा खुशी लागेको धनीश्वरले बताए ।
बाबु छोरा भएर रोजगारीका लागि भारतमा गएका थिए ।