८१ वर्षीया वृद्धा ११ दिनमा डिस्चार्ज

८१ वर्षीया वृद्धा ११ दिनमा डिस्चार्ज

काठमाडौं : बेलायतबाट फर्किएको २६ दिनमा ८१ वर्षीया वृद्धासहित परिवारका तीन जनामा कोरोना देखिएको थियो। पछि पीसीआर परीक्षणले आमाछोरामा संक्रमण पुष्टि गर्‍यो, बुहारीमा देखाएन। तिनै वृद्धा र उनका ५८ वर्षीय छोरा बिहीबार ११ दिनमा कोरोनालाई परास्त गरेर घर फर्किएका छन्।

बुहारी बिहीबार सासूआमाको मुख हेर्न पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी थिइन्। उनले कोरोना संक्रमणबाट पार पाएकी आमाको मुख हेरिन्। आमा र श्रीमान्लाई लिएर पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्ट पुग्दा उनले खुसीको आँसु चुहाइन्। वृद्धा आमा अपार्टमेन्टमा फर्किन पाउँदा खुसीले गदगद थिइन्।

वैशाख १ गतेर्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा तीनै जनामा कोरोना पोजिटिभ देखिएको थियो। उनीहरूलाई तत्काल पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरियो। एउटै कोठामा बसेका कारण आमाछोरा दुवैले शय्याबाटै एकअर्काको मुख हेरे। बुहारीले भने मध्याह्न मात्र हेर्न पाएकी थिइन्।

उनीहरूको नाक तथा घाँटीको खकार (स्वाब) नमुना निकालियो। वैशाख २ गते रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट स्वास्थ्य जाँच गरिएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आमाछोरामा मात्र भाइरस पोजिटिभ भेटिएको थियो। आइसोलेसनमै रहेकी बुहारी डिस्चार्ज भइन्। उनीहरू कतार एयरवेजको उडानमार्फत चैत ५ गते बेलायतबाट स्वदेश आएका थिए।

‘कोरोना संक्रमणका बारेमा सचेत थियौं’, बुहारीले भनिन्, ‘सेल्फ क्वारेन्टाइनमा बसेका थियौं। अफवाह बढी फैलियो।’

तस्बिर छाप्न र व्यक्तिगत विवरण दिन अस्वीकार

यो परिवारले व्यक्तिगत विवरणसहित तस्बिर प्रकाशन गर्न अनिच्छा व्यक्त गरेको छ। ‘कोही व्यक्ति पनि बिरामी हुन चाहँदैन। लक्षण पनि थिएन। दुर्भाग्यवश संक्रमण हुन पुगेछ। भगवान्को कृपाले बाँचेर पनि आइयो’, उनले भनिन्, ‘केही अनलाइन मिडियाले जे पायो त्यही लेखे। अफवाह फैलाए। यसले गर्दा डिस्चार्जपछि पनि सार्वजनिक हुन अप्ठेरो महसुस भइरहेको छ।’

उनले झन्डै १० मिनेट अन्नपूर्णसित कुराकानी गरिन्। त्यस क्रममा उनले भनिन्, ‘अहिले खुसीको माहोलमा पनि तस्बिर र नाम सार्वजनिक गर्न मन दोधार भइरहेको छ।’

कोरोना संक्रमितबारे अफवाहले धेरैलाई तनाव दिएको छ। समाजको दृष्टिकोण पनि सकारात्मक हुन नसकेको डिस्चार्ज भएकाहरूको भनाइ छ। ‘त्यो उमेरकी ज्येष्ठ आमासमेत कोरोनालाई जितेर फर्किनुभएको छ। हामी खुसी छौं’, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले भने, ‘कोरोना भाइरस संक्रमण हुँदैमा मरिने रहेन छ।

नेपालका संक्रमितमध्ये सबैभन्दा ज्येष्ठ महिला बिहीबार डिस्चार्ज भएकी हुन्। यी वृद्धासँगै कोरोनालाई जित्नेको संख्या नौ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। संक्रमितको संख्या ४८ पुगेको छ।

आफन्त लिन आएनन्

धादिङका एक युवाले पनि कोरोना भाइरसलाई जितेका छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उनलाई बुधबार डिस्चार्ज गरेको थियो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा केही बेरमा डिस्चार्ज हुने जानकारी दिएका थिए।

अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार डिस्चार्ज गरे पनि होटलमा बस्न कोठा उपलब्ध भएन। आफन्तलाई खबर गरे पनि लिन आएनन्। ‘डिस्चार्ज गरिसकेका छौं। सन्देश पनि राम्रो जान्छ भनेर कन्भिन्स गरें’, उनले भने। जिल्ला अस्पताल र स्थानीय तहमा लिन आउन खबर गरेको उनले सुनाए। धादिङ अस्पतालका महेन्द्र धमलाले बिहीबार लिएर गएका थिए।

वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायले महामारीको डर र गलत प्रचारबाजीले समाजमा नकारात्मक धारणा बस्ने बताए। ‘गलत प्रचारबाजीले सामाजिक विचलन ल्याउने खतरा छ’, उनले भने, ‘कोरोना विजेतालाई परिवार र समाजले ससम्मान स्वागत गर्नुपर्छ। उपेक्षा गर्नुहुँदैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.