पुस्तकका लागि दिवस पर्खिनु पर्दैन
काठमाडौं : पोखरामा विगत ६ वर्षदेखि र्यान्डम रिडर्स सोसाइटीले पुस्तक साटासाट गरेर पुस्तक दिवस मनाउँदै आएको छ। सोसाइटीका अनुसार पठन संस्कृति बढाउन तथा आफूलाई मन परेका कृति अन्य साथीलाई पढ्न हौसला दिन पनि पुस्तक उपहार कार्यक्रम आयोजना गरिन्छ। तर कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेकाले यस वर्ष वैशाख ११ मा परेको पुस्तक दिवस मनाउन सम्भव भएन।
विश्व साहित्यमा २३ अप्रिल एउटा महत्वपूर्ण दिवस हो। सन् १६१६ मा सोही दिन शेक्सपियर अनि गारसिलासो डेला भेगाजस्ता चर्चित लेखकको निधन भएको थियो। सोही सम्मानमा अप्रिल २३ लाई युनेस्कोले सन् १९९५ को आफ्नो साधारणसभाको बैठकबाट विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस मनाउने निर्णय गरेको थियो। विश्वभरका लेखकलाई प्रेरित गर्न, लेखनलाई उत्साहित गर्न र लेखकको सम्मानस्वरूप यो दिवस मनाउन प्रस्ताव गरिएको थियो।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ अमर गिरी पुस्तकका लागि दिवस पर्खिनु नपर्ने बताउँछन्। उनी लकडाउनको पूरापूर अवधि पुस्तक खोतल्दै बिताएको बताउँछन्। लेखक मधुसूदन पाण्डे लकडाउनमा छ्यालब्याल रहेको पुस्तक मिलाउन फुर्सद पाएको जनाए।
लेखकको अनुमतिबिना दोस्रो संस्करण उल्लेख नगरेर पुस्तक पुनप्र्रकाशन गर्दा लेखक ठगिएका छन्। प्रमाणको अभावमा उनीहरूले क्षतिपूर्ति दाबी गर्न सक्दैनन्। तर लेखकहरू आफ्नो कृतिमा उदार हुँदै पनि गएका छन्। लकडाउनले पुस्तक किनबेचमा समस्या भएपछि केही लेखकले आफ्ना पुस्तकका पीडीएफ इच्छुक पाठकलाई उपलब्ध गराए। सरोजराज अधिकारीले जासुसीको जालो, रूप बजारकी नोरा, चक्रब्यूहमा चन्द्र सूर्य र धम्बोझी गरी आफ्ना चार पुस्तकको पीडीएफ इच्छुक पाठकलाई उपलब्ध गराएको जनाए।
विश्वमा पुस्तक पढ्ने संस्कृति बढ्दै गएको छ र प्रकाशन गर्ने संस्थाहरूले पनि वर्षमा लाखौं पुस्तक प्रकाशित गर्ने गरेका छन्। तर नेपालको सन्दर्भमा लेखकले अरूले लेखेका पुस्तकको अध्ययन नगर्ने र पुस्तक सम्पादनसमेत नगरी बजारमा ल्याउने गरेका कारण राम्रा पुस्तक आउन सकेका छैनन्। त्यसमाथि देश बाहिरबाट ल्याइने पुस्तकमा १० प्रतिशत कर लाग्ने प्रावधानले पुस्तक आयात थप्प छ।
त्यसो त नेपालमा अहिलेसम्म पुस्तक प्रकाशनसम्बन्धी नीति बन्न सकेको छैन। पुस्तकमा प्रयुक्त भाषाशैलीका बारेमा २०७५ मा सरस्वती प्रतीक्षाको ‘नथिया’ र विवेक ओझाको उपन्यास ‘ऐलानी’ विरुद्ध सर्वाेच्च अदालतमा रिट निवेदन परेको थियो। ती दुवै आख्यानकारले उपन्यासमार्फत वादी समुदायको आत्मसम्मानमा ठेस पुर्याएको आरोप लागेको थियो। सर्वाेच्च अदालतले दुवै कृतिलाई अर्को संस्करणमा सच्याउनुपर्ने आदेश दिइसकेको छ।
संसारमा सबैभन्दा धेरै पुस्तक पढ्ने पढन्ते आइल्यान्डका नागरिकलाई मानिन्छ। उनीहरू मौसमका कारण घरभित्र बसेर समय कटाउन पनि पुस्तक पढ्ने गर्छन्।
संसारमा हरेक पाँचजनामा एकजनामात्र पुस्तकप्रेमी रहेको अनुमान गरिन्छ। यसले पनि पाठक घट्दै गएको अनुमान गर्न सकिन्छ। अहिले संसारभरि कुल पुस्तकको बिक्री ७५ प्रतिशत अनलाइन र २५ प्रतिशत पुस्तक पसलहरूबाट हुने गर्छ। द टेलिग्राफका अनुसार संसारमा अहिलेसम्म सबैभन्दा बढी पढिएको पुस्तक ‘बाइबल’, ‘क्वेसन्स फ्रम चेयरम्यान माओ त्से तुङ’, ‘ह्यारी पोर्टर’ र ‘डे सिभिलटेट मोरम पुएरिलिउम लिबेल्लुस’ (ल्याटिन १५३०) हो।