अध्यादेश आएपछि पार्टी फुट्छ कि भनेर साथीहरु डराए
रेणु यादव समाजवादी पार्टीभित्र चुलिएको असन्तुष्टि स्वीकार गर्छिन्। पछिल्लो समय सरकारसँग मिलेर पार्टी फुटाउन खोजेको आरोप उनलाई लागेको छ। असन्तुष्ट समूहकी नेतासमेत रहेकी यादवसँग यिनै विषयमा अन्नपूर्णकर्मी आकाश क्षेत्रीले गरेको संक्षिप्त फोनवार्ता :
तपाईलाई पार्टी फुटाउन लागेको आरोप सही हो ?
पार्टीभित्र असन्तुष्टि छ तर पार्टी नै फुटाउने खालको निर्णय भएको छैन। हामीले कुनै ठाउँमा बैठक गरेको प्रमाण छ ? पार्टीका नेतामा आआफ्नै खालका असन्तुष्टि छन् जुन स्वाभाविक हो। यही समयमा अध्यादेश आयो र पार्टी फुट्छ कि भनेर पार्टीभित्र साथीहरु डराए। यस्तो केही छैन।
समाजवादी फुटाउन सरकारले अध्यादेश ल्याइएको हो ?
होइन, सरकारले हाम्रा लागि अध्यादेश ल्याएको होइन। योे अध्यादेश उहाँहरुको आफ्नै पार्टीका कारणले आएको हो कि के कारणले आएको हो थाहा भएन। तर, सबै पार्टीभित्र विभिन्न किसिमका असन्तुष्टि छन्, हुन्छन् । त्यो असन्तुष्टिकै कारण अध्यादेश आएको हो भन्नु गलत हो। मिडियाले पनि समाजवादी पार्टी कै कारण अध्यादेश आएको भनिरहेको छ। तर, पार्टीभित्रको असन्तुष्ट समूहको बैठक भएकै छैन। कतै छलफल पनि भएको छैन। हामी लकडाउनमा छौं। पार्टीभित्र असन्तुष्टि भएका कारण एउटा नेताको रुपमा मैले उनीहरुलाई चित्त बुझाउने काम गरिरहेकी छु।
अध्यादेशका विषयमा तपाईंको धारणा के छ ?
अहिलेको विकट स्थितिमा कोरोना भाइरस महामारीबाट भगवान्को कृपाले बाँचेका छौं, अन्य देशको तुलनामा नेपाली सुरक्षित छौं तर जनता त्रसित छन्। यस्तो संकटबाट जोगिनुपर्ने समयमा सरकारले अध्यादेश नल्याउनु पथ्र्यो। तर अध्यादेश किन ल्याउनुभयो ? के कारणले ल्याउनु भयो त्यो त ओलीजीलाई थाहा होला। यो अध्यादेश समाजवादीका लागि होइन भन्ने मेरो मान्यता छ। यति ठूलो अध्यादेश समाजवादीका लागि मात्र होला र ? उहाँकै पार्टीभित्रकै कारण होला। यो नल्याउनुपथ्र्यो।
एकीकृत नयाँ पार्टीप्रति असन्तुष्ट समूहको दृष्टिकोण कस्तो छ ?
असन्तुष्ट समूह पार्टीको नेताका कारण उहाँ असन्तुष्ट हुनुहुन्छ। तर, राजपा र समाजवादी एकीकरणका लागि हामी एक वर्ष पहिलेदेखि नै प्रयासरत थियौं। वार्ता टोलीमा म नै थिएँ। संयोग कस्तो भयो भने हिजो राति दुवै पार्टीबीच सबै कुरा मिल्यो र एकीकरणको पक्रियामा गयो। यो स्वागतयोग्य हो। किनभने धेरै पार्टी हुनुभन्दा पनि कमभन्दा कम पार्टीलाई जनताले पत्याउँछन्। सहीदिशामा देश अगाडि बढ्छ भन्ने हामीले विश्वास लिएका छौं। त्यसैकारण यो स्वागतयोग्य हो।
समाजवादीका नेताको ‘अपरहण’ विषय के हो ?
कुनै पनि नेतालाई अपहरण गरिएको छैन। मलाई नै अचम्म लाग्यो। किन देशलाई नै यस्तो भ्रममा हाल्ने काम गरियो ? डा. सुरेन्द्रजी लकडाउनमा हुनुहुन्छ। उहाँलाई काठमाडौं आउनुपर्ने थियो। प्रधानमन्त्रीले खबर गर्नुभयो के गर्नुभयो तर सुरक्षाकर्मी उहाँको मित्र भएकाले सुरक्षाकर्मीसँग उहाँ आउनुभयो। उहाँ अपहरण हुनुभएको छैन। सुरक्षाकर्मीको गाडीमा आएकाले अपहरण भनियो। कसैले अपहरण गर्दा पनि गर्दैन। सत्तापक्ष पनि अपहरण गर्ने काम गर्दैन। देशमा भूकम्प पनि आएको छैन, माननीयलाई अपरहण गर्नको लागि।