दोलखाका ९ स्थानीय तहले बनाए १८ लाखको साझा कोष
दोलखा : दोलखा जिल्लामा अस्पताल व्यवस्थापनका लागि १८ लाखको साझा कोष स्थापना गरिएको छ।कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्लाका ९ स्थानीय तहले साझाकोषको स्थापना गरेका हुन् ।
जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख एवम् प्रतिनिधि तथा जिल्ला विपद् व्यवस्थापन समितिको संयुक्त बैठक १८ लाख बराबरको साझाकोष स्थापना गरिएको हो ।
दोलखा जिल्लामा कोरोना भाइरससँग सम्बन्धित अस्पताल, एम्बुलेन्स र स्वास्थ्य सामग्रीलगायतका लागि खर्च गर्ने गरी साझाकोषको स्थापना गरिएको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जानकारी दिए ।
कोषमा दोलखाका ९ वटा स्थानीय तहले २÷२ लाखको दरले रकम उपलब्ध गराउने गराई सञ्चालन गरिने जिसस प्रमुख पाण्डेको भनाई छ । स्वाव संकलन गरे पछि परीक्षणका लागि एम्बुलेन्समा पठाउने खर्च, चालक खाना खाजालगायतको खर्च व्यहोर्ने विषयमा अन्योलता भएपछि साझा कोषको अवधारणा निस्किएको उनको भनाई छ ।
कोषबाट सम्भाव्य कोरोना बिरामीको स्वाब परीक्षणका लागि धुलिखेल वा काठमाडौं पठाउने, शव राख्ने मच्र्युरी बाकस खरिद गर्ने, मानसिक सन्तुलन गुमेकाको उपचार गर्ने जस्ता प्रयोजनको लागि खर्च गरिने बताइएको छ ।
जिल्लाका ९ वटै स्थानीय तहमा जिल्ला बाहिरबाट आएका नागरिकको स्वास्थ्य परीक्षण घर-घरमा पुगेर गर्ने, तथा जिल्लामा दैनिक उपभोग्य वस्तु, कृषि औजार, मल, बिउ तथा निर्माण सामग्रीको ढुवानीलाई सहज र व्यवस्थित बनाउने पनि निर्णय भएको प्रमुख पाण्डेले बताए ।