‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान

‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान

चितवन : कुनै समय चितवन निकुञ्जको पश्चिम क्षेत्र माडीमा वितण्डा मच्चाउने ‘ध्रुवे’ हात्तीलाई स्याटेलाइट रेडियोकलर जडान गरिएको छ। बिहीबार चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष–जैविक विविधता संरक्षण केन्द्र सौराहाको प्राविधिक टोलीले दाह्रा काटेर रेडियोकलर जडान गरी छाडेको छ।

केही समयदेखि हात्ती प्रजनन केन्द्र खोरसोर रहँदै आएको मौका पारी रेडियोकलर जडान गरी ट्रयाकिङ गर्न सुरु गरिएको हो। रेडियो कलरमार्फत कसरास्थित निकुञ्जको कार्यालयबाटै हात्ती कहाँ–कस्तो अवस्थामा छ भन्ने पत्ता लाग्छ। 'दाह्रा काटेपछि हात्तीले कमजोर महसुस गर्छ, जसले क्षति कम गर्छ', चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण प्रकाश उप्रेतीले भने। वि.सं २०६९ मङ्सिर ६ मा हात्तीको अनुगमन गर्न निकुञ्जले दाह्रा काटेर जिपीएससहित रेडियोकलर जडान गरेको थियो। पुस १५ देखि हात्ती सम्पर्कविहीन भयो।

रेडियोकलर माघ २४ गते पर्सा निर्मलबस्तीको जङ्गलमा फेला परेको थियो। यो समयमा ध्रुवेलाई मार्नुपर्ने चर्को आवाज उठेको थियो। त्यसपछि ध्रुवे करिब तीन वर्षअघि मात्रै निकुञ्जमा देखियो। वर्षको एक दुईपटक हात्ती प्रजनन केन्द्र खोरसोर देखापर्ने ध्रुवे आजभोलि बाक्लोरूपमा देखिँदै आएको थियो। यही मौका पारेर निकुञ्ज र संरक्षण केन्द्रले ध्रुवेलाई रेडियोकलर लगाउन सफल भएको हो।

यस पटक भने स्याटेलाइट रेडियोकलर जडान गरिएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत डा बाबुराम लामिछानेले भने, 'यो कम्तीमा दुईदेखि चार वर्षसम्म चल्छ। जिपीए रेडियोकलरभन्दा यसबाट हात्तीको अवस्था छिटो पत्ता लगाउन सकिन्छ।' 

वि.सं २०६९ कात्तिकमा माडीमा दुई जनाको ज्यान लिएपछि मङ्सिरबाट यो हात्तीलाई नियन्त्रणमा लिने प्रयास सुरु भएको थियो। ध्रुवेले वि.सं २०६६ देखि २०६९ भित्रको समयमा १५ जनाको ज्यान लिएको थियो भने ५० बढी घर भत्काएको थियो। चितवन राष्ट्रिय निकुञ्जमा चारदेखि पाँच रैथाने जङ्गली हात्ती छन्। तिनीहरू एक्लाएक्लै हिँड्छन्। तिनै हात्तीले मानवीय बस्तीमा प्रवेश गरेर धनजनको क्षति गर्ने गरेका छन्। 

नेपाल–भारत आवतजावत गर्ने करीब ४० देखि ५० हात्ती निकुञ्जमा छन्। निकुञ्जले पालेका ५७ हात्ती छन्। चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवे र रोनाल्डोलाई रेडियोकलर जडान गरिएको छ। चितवनमा जङ्गली हात्तीको आक्रमणबाट वर्षेनी धनजनको क्षति हुने गरेको छ। वर्षौँदेखि निकुञ्ज र बस्तीबीच व्यवस्थित तारबारको माग उठ्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.