लकडाउनमा शहरी क्षेत्रबाट म्याग्दी आएकालाई क्वारेन्टाइनमा
बेनी : काठमाडौं लगायत शहरी क्षेत्रबाट म्याग्दीमा आएका एक सय जनाभन्दा बढी सर्वसाधारणलाई क्वारेन्टाइन (एकान्तबास)मा राखिएको छ। कोभिड–१९ जिल्ला कमाण्ड पोष्ट म्याग्दीको निर्णयअनुसार उनीहरुलाई स्थानीय तहले बनाएको क्वारेन्टाइनमा पठाइएको हो। कोरोना भाइरस रोकथामका लागि एक महिनादेखि जारी लकडाउन (बन्दाबन्दी)का कारण सहरी क्षेत्रमा फसेकाहरु गाउँ फर्किएका थिए।
स्थानीय तह, प्रशासन र सुरक्षा निकायको समन्वयमा जिल्लामा आएका ११२ जनालाई सम्बन्धित पालिकाले बनाएको एकान्तबासमा राखिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए। काठमाडौबाट शुक्रबार म्याग्दीमा धवलागिरी गाउँपालिकाका ८४, बेनी नगरपालिकाका ९ जना, मंगला गाउँपालिकाका ५ जना, मालिकाका १०, रघुगंगाका ३ र अन्नपूर्ण गाउँपालिकाका ३ जना आएका थिए। यसअघि बुटबलबाट २६ र काठमाडौबाट ३१ जना आएका थिए।
‘विदेशबाट आएकाहरुलाई एकान्तबासमा राखेर कोरोनाको द्रुत परीक्षण सकेर जिल्लालाई सुरक्षित बनाएका थियौं,’ उनले भने ‘सहरी क्षेत्रमा लकडाउनका कारण फसेकाहरु आएपछि कोरोनाको जोखिम न्युनीकरण गर्न देशभित्रैबाट आएकालाई पनि १४ दिन एकान्तबास राख्ने निर्णय लियौ।’
यसअघि १०० जनाभन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ। हालसम्म १५४ जनामा कोरोनाको द्रुत परीक्षण भएकोमा सबैलाई कोरोना नभएको पुष्टि भएको छ। जिल्लाभर १७५ जना क्षमताको क्वारेन्टाइन बनाइएको छ। बाहिरी जिल्लाबाट आएकाहरुलाई उनीहरुको गाउँ नजिकैको क्वारेन्टाइनमा राखिएको हो।
अध्ययन, रोजगारी र मजदुरीका लागि राजधानीमा बसेकाहरु लामो लकडाउनका कारण समस्यामा परेपछि प्रशासन, सुरक्षा निकाय र पालिकाको समन्वयमा गाडीको व्यवस्था गरेर गाउँ पठाइएको काठमाडौंबाट म्याग्दीमा सर्वसाधारण पठाउन समन्वय गर्नुभएका रेशम भण्डारीले बताए।
बेजिल्लाबाट आउने सबैलाई क्वारेन्टाइनमा राख्ने पूर्व निर्णय अनुसार काठमाडौंबाट आएकाहरुलाई राखिएको र तोकिएको समय पूरा भएपछि स्वास्थ्य परीक्षण गरेर घर जान दिने धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताइन्। रात्री बस चढेर आएकाहरुलाई बेनीमा खाना खुवाएर गाउँ पठाइएको छ।
धवलागिरी गाउँपालिकाको ताकम मावि, हेम मावि, जनविकास आधारभूत, भूमे आधारभूत, धनजनता मावि, धवलागिरी आधारभूत, खोरीया आधारभूत र लमसुङ माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ।