मस्जिदमा प्रशासनको छडके अनुगमन
जनकपुरधाम : धनुषाका मुस्लिम समुदायले शिक्षा आर्जनस्थल मदर्सा र मस्जिदमा प्रशासनले अनुगमन थालेको छ। तराई मधेशको जिल्लामा भारतीय तथा पाकिस्तानी मुस्लिम धर्मगुरु भेटिन थालेपछि मदरसा र मस्जिदमा प्रशासनले निगरानी बढाउँदै अनुगमन थालेको छ। प्रदेश नं. १ स्थित उदयपुरमा मदरसाबाट कोरोना संक्रमित फेला परेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले एक दर्जन मदरसा, मस्जिदमा अनुगमन थालेको हो।
मुस्लिम समुदायको रमजान पर्व सुरु हुन लागेको बेला लकडाउमा एक ठाउँबाट अर्को ठाउँ लुकिछिपी जान सक्ने स्थानको तथ्याङ्क संकलन गरी संयुक्त सुरक्षा समितिले मदरसा र मस्जिदमा छड्के अनुगमन थालेको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए। मुस्लिम अगुवाहरुको सहयोगमा स्थानीय प्रशासनले व्यक्तिहरुको विवरण, स्वास्थ्य अवस्था लगायत विषयमा चासो राखेका छन्। प्रमुख जिल्ला अधिकारी निरौलाले भने, 'अनुगमनमा मदरसा, मस्जिदहरुमा लकडाउनको पालना गरिएको र केही स्थानमा नवाज पढ्दा पनि सामाजिक दूरी कायम गरि भिडभाड नहुने गरी लकडाउनको पालना गर्न धर्मगुरुलाई आग्रह गरेका छौं। अहिलेसम्म जनकपुर नगरमा बाहिरबाट जामातीहरु आएको हामीले भेटेनौं। तैपनि सर्तकता अपनाएर टोली खटाएका छौं।'
जनकपुरधाम उपमहानगरपालिकास्थित लादोबेलाको नूरी मस्जिद, दारुल उलूम अताये मुस्तफा मस्जिद, रेजा जामा मस्जिद, अल्जामी अतुल कादिया मदिना तूल उलूम मस्जिद, रुपैठाको जामिया इमाम अहमद रेजा मदरसाको अनुगमन गरिएको छ। यसैगरी नूरी जामे मस्जिद, मस्जिद कादरिया, बसहियाको कादरी बरकाती जामे मस्जिद, मदरसा फैजुल इस्लाम दायमी मदरसा, जानकी मन्दिर पछाडितर्फको मदरसा र मस्जिदमा समेत सुरक्षा निकायका अधिकारीहरुले अनुगमन गर्दै निगरानी बढाएको छ।
यता कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्णय बमोजिम सचेतना स्वरुप जनकपुरधाम उपमहानगरपालिका-२५ स्थित लोहनामा जामिया बरकातुन्न नबि मस्जिदमा रहेका ९ जनाको मौलानाहरुको कोरोना परिक्षण गरिएको छ। जनकपुरधाममा पर्ने लोहनास्थित मस्जिदमा भारतका शिक्षक शिक्षिकाहरु बस्दै आएकोमा उनीहरुको आरडिटी टेस्ट गरिएको छ। प्रादेशिक अस्पतालमा गरिएको आरडिटीमा परिणाम नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ। धनुषाका मदरसा र मस्जिद लगायत अन्य सबै धार्मिक स्थलहरुमा सामूहिक धार्मिक गतिविधिमा पूर्ण रुपमा रोक लगाउने निर्णय समेत प्रशासनले गरेको छ।