स्वास्थ्य जाँचबिना नै सुदूरपश्चिममा भित्रिए ३ हजार
टीकापुर : कोरोना संक्रमणको जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा पूर्वी नेपालबाट आएका झण्डै ३ हजार नागरिक बिना चेकजाँच भित्रिएका छन्। लकडाउन लम्बिँदै गएपछि पूर्वी नेपालका विभिन्न जिल्लाबाट सुदूरपश्चिम आएका उनीहरु, प्रदेशको प्रवेशद्वार कर्णाली चिसापानीबाट चेकजाँच बिना नै प्रवेश गरेका हुन्।
चिसापानीमा हेल्थ डेस्कसमेत सञ्चालन गरिएको छैन। उनीहरुको व्यक्तिगत विवरण लिएर विभिन्न स्थानीय तहहरुमा पठाइने गरिएको छ। लम्कीचुहा नगरपालिका-३ का वडाध्यक्ष भक्त चलाउनेका अनुसार चैत्र २७ गतेदेखि चिसापानीबाट झण्डै तीन हजार नागरिक सुदूरपश्चिम प्रवेश गरेका हुन्।
चैत्र २७ गतेपछि बिहीबारसम्म २ हजार ५ सय ८ जना नागरिकले सुदूरपश्चिम प्रवेश गरेका छन्। शुक्रबार र शनिबार ५ सय बढी नागरिकहरु सुदूरपश्चिममा भित्रिएका हुन्। ‘२७ गतेदेखि हामीले लगत लिन सुरु गरेका हौं, शनिबारसम्म ३ हजार बढीले सुदूरपश्चिम प्रवेश गरेका छन्’ अध्यक्ष चलाउने भने ‘उनीहरुलाई हामीले स्थानीय तह, संघसंस्थासँग समन्वय गरेर सम्बन्धित पालिकामा पुर्याउने गरेका छौं।’अध्यक्ष चलाउनेले लम्कीचुहा नगरपालिकाले सुरुमा चिसापानीमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको भएपनि चैत्र २६ गतेदेखि हटाइएको बताए। नगरपालिकाले बाहिरबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिन थालिएपछि, हेल्थ डेस्क हटाएको जनाएको छ।
पूर्वी नेपालमा कोरोनाका संक्रमितको संख्या बढ्दै गएका बेला सुदूरपश्चिमको प्रवेशद्वारा चिसापानीमा ज्वरोसमेत परीक्षण नहुनुले कोरोनाको जोखिम बढेको छ। यसअघि, वीरगञ्जबाट लम्कीचुहा पुगेकी ५३ वर्षीय पाना विकमा कोरोना पोजिटिभ देखिएको थियो। हाल उनी कोरोनालाई जितेर घर फर्किसकेकी छन्।
पूर्वी नेपालको धादिंङ, गोरखा, तनहुँ, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, काठमाडौं, काभ्रे, नुवाकोट लगायतका जिल्लामा मजदुरी गर्ने सुदूरपश्चिमेलीहरु लडकडाउन लम्बिदै गएपछि धमाधम फर्किन थालेका हुन।केहीअघिसम्म पैदल हिँडेर चिसापानी पुग्ने गरेको भए पनि चार/पाँच दिनदेखि उनीहरु विभिन्न स्थानीय तह र प्रदेश सरकारले व्यवस्था गरेका सवारी साधनमा आइरहेका छन्।
नुवाकोटको विदुर नगरपालिकामा ज्यालादारी काम गर्दै आएका टीकापुर नगरपालिका-८ का दीलिप चौधरीले अन्य ठाउँमा हेल्थ डेस्क राखिएको भएपनि चिसापानीमा भने नभएको बताए। ‘अन्य ठाउँमा हेल्थ डेक्स छन्, ज्वरो नाप्छन्, सोधपुछ गर्छन्’ चौधरीले भने ‘चिसापानी पुग्दा त्यस्तो देखिएन, हामी नगरपालिकाको गाडीमा घर फर्कियौं।’
कैलारी गाउँपालिका रानामौराका चन्द्रबहादुर चौधरी सात जनाको टोलीसहित सोलुखुम्बुबाट चार दिन अघि हिँडेका थिए। सोलुको एक हाइड्रोपावरमा काम गर्ने उनीहरु दुई दिनसम्म पैदल हिँडे।
कोहलपुरसम्म ट्रकमा र कोहलपुरबाट बसमा चिसापानी पुगेका चौधरीले भने ‘जहाँ जे भेट्यो, त्यसमै चढेर आयौं, अरु प्रदेशमा चेक गरेका छन्, तर यहाँ त विवरण मात्रै लगे, स्वास्थ्य चेकजाँच गरेनन्।’ लामो यात्रा गरेर आउँदा आफूहरु जोखिममा हुनसक्ने बताउँदै चौधरीले हेल्थडेस्क राखेर चेकजाँच हुनुपर्ने बताए।
लकडाउन लम्बिएसँगै मजदुरी गर्न पूर्वी नेपाल पुगेका उनीहरु गाउँपालिका मार्फत् घर जाने गरेका छन्। कैलालीको टीकापुर, लम्कीचुहा नगरपालिका, जानकी गाउँपालिकाले पूर्वी नेपालबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखेको भएपनि अन्य गाउँपालिकाले भने सोझै घर पठाउने गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता डाक्टर रणबहादुर रावलले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार चिसापानीमा सामान्य चेकजाँच गर्ने हेल्थ डेस्कसमेत नराखिनु दुःखद् भएको बताए। उनले सुदूरपश्चिम प्रदेशले जिम्मेवारीपूर्वक चिसापानीमा स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क सञ्चालन गर्न माग गरे। ‘सुदूरपश्चिमको प्रवेशद्वारमै हेल्थ डेस्क छैन, यो निकै दुःखद् कुरा हो, प्रदेश सरकारको उपस्थिति सीमामै छैन।’ डाक्टर रावलले भने, ‘पूर्वी नेपालबाट सुदूरपश्चिम आएकाहरुलाई सामान्य चेकजाँच गरेर मात्रै पठाइनुपर्छ।’
चिपासानीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र लम्की चुहा नगरपालिका-३ ले पूर्वी नेपालबाट आएकाहरुलाई गन्तव्यस्थलसम्म पुर्याउने व्यवस्था गर्दै आएका छन्। चिसापानीमा खटिएका सुरक्षाकर्मीहरुसँग समेत पर्याप्त सुरक्षा सामग्री, पञ्जा, सेनिटाइजर, मास्कहरु छैनन्।
अन्य जिल्लाबाट आएकाहरुको स्वास्थ्य चेकजाँच, र्यापिड टेस्ट गरिनुपर्ने भएपनि सुदूरपश्चिम प्रवेश गरेकाहरु भने सामान्य स्वास्थ्य चेकजाँच बिना नै फर्किरहेका छन्।
यता सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले ज्वरो मापनको थर्मोगनको अभाव भएका कारण चिसापानीको हेल्थ डेस्क क्वारेन्टाइन तिर सारिएको बताए। उनले बीचमा मानिसहरुको आवतजावत नभएकाले हटाएको तर अब भने छिट्टै राखिने बताए।