राजधानीका मान्छे गाउँमा : स्थानीय त्रसित
ओखलढुंगा : राजधानी तथा अन्य शहरबाट रातारात मान्छे गाउँ छिरेपछि स्थानीय त्रसित भएका छन् । लामो समय जिल्लाबाहिर बसेर आएका व्यक्ति गाउँ प्रवेश गर्ने र हिँडडुल गर्न थालेपछि त्रास बढेको हो ।
संघीय सरकारको नीतिविपरित स्थानीय तहले गाडीमा गाउँपालिकाको व्यानर राखेर धमाधम मान्छे ओसार्न थालेका छन् । यसरी ल्याइएका मान्छेलाई स्वास्थ्य परीक्षण गर्ने र क्वारेन्टाइनमा राख्न स्थानीयको माग छ । केही समय पहिले सर्वोच्च अदालतले अपलत्र नागरिकलाई गन्तव्यमा पुर्याउन आदेश दिएको थियो ।
गाउँमा रातारात मान्छे भित्रिन थालेपछि त्रास बढेको चिसंखुगढी ८ का किसन राईले बताए । उनले गाउँमा भागाभाग हुने स्थित आएको गुनासो गरे ।
एक हप्तामा जिल्लामा राजधानीबाट ४ हजार हाराहारी व्यक्ति जिल्ला भित्रिएका छन् । यसरी गाउँ आएका व्यक्तिबाटै गाउँमा कोरोना फैलने त्रास बढेको सुनकोसी गाउँपालिका वडा नं. १ का वडा सदस्य सहदेव गिरिले बताए । उनले गाउँपालिकाको नेतृत्वले चासो नदिँदा रातारात गाउँ आउने व्यक्तिको स्वास्थ्य परीक्षणसमेत नभएको बताए ।
त्यस्तै खिजीदेम्वाले ७ सय जनालाई गाडी व्यवस्था गरेर गाउँ ल्याएको छ । तर, उनीहरूको स्वास्थ्य परीक्षणसमेत नगरी घर पठाएको छ । गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार नागरिकलाई गाउँ ल्याउने व्यवस्था गरेको दावी गरे । उनीहरूलाई घरैमा बस्न भनिएको छ ।
अन्य स्थानीय तहले पनि दैनिक गाडीबाट जिल्लाबाहिर रहेका नागरिकलाई ल्याइरहेका छन् ।
मानेभञ्ज्यांग गाउँपालिकामा शनिबारसम्म ५ सय मान्छे भित्रिएका छन् । सिद्धिचरणमा करिव ४ सय, चम्पादेवीमा १ हजार र मोलुङमा २ सय हाराहारी मान्छे गाउँ आएका छन् । मोलुङ गाउँपालिकाले भने जिल्लाबाहिरबाट ल्याएर स्वास्थ्य परीक्षण गरेपछि मात्रै घर पठाएको छ । र उनीहरूलाई होम क्वारेन्टाइनमा अनिवार्य गरिएको छ । घर बस्न वातावरण अनुकुल नभए क्वारेन्टाइनमै व्यवस्था गरिएको गाउँपालिकाका सुचना प्रविधी अधिकृत गोपाल नेपालले बताए ।
छिमेकी जिल्ला उदयपुर कोरोनाको केन्द्रविन्दु भएकाले कटारी लगायतबाट समेत मान्छे आउने भएकाले गाउँपालिका उच्च जोखिममा रहेको मानेभञ्ज्यांग गाउँपालिका उपाध्यक्ष सविता राईले बताइन् ।
स्थानीय तहले नागरिकलाई गाउँ ल्याउन होडबाजी गरे पनि उनीहरूको व्यवस्थापनमा चासो नदिँदा गाउँघरमा त्रास बढेको र कोरोना संक्रमण डर गाउँमा बसोबास गरिरहेका व्यक्ति भयभित भएको खिजीदेम्वाका कुमार तामाङले बताए । जिल्लामा कारोना रोकथाम तथा नियन्त्रणका लागि कमाण्ड पोष्ट र जिल्ला विपद् व्यवस्थापन समितिले काम गरिरहेका छन् । ती निकायले कोरोना रोकथामबारे नीतिगत काम गरे पनि त्यस्ता नीति स्थानीय तहले कार्यन्वयन गर्न छाडेका छन् ।
गाउँमा त्रास हुने र कोरोना संक्रमण फैलन सक्ने भएकाले त्यसरी ल्याइएका नागरिकको स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गर्न निर्देशन दिइए पनि मोलुङ बाहेक अन्य तहले अटेरी गरेका छन् । कमाण्ड पोष्टका संयोजक प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले हुलका हुल मान्छे ल्याउने संघीय सरकारको नीति नभएको र अलपत्र नागरिकलाई ल्याइए पनि सुरक्षाका न्यूनतम मापदण्ड अनिवार्य पालन गराउनु पर्ने बताए ।