प्रदेश २ का जोखिमयुक्त स्थानमा स्वाब संकलन सुरु

प्रदेश २ का जोखिमयुक्त स्थानमा स्वाब संकलन सुरु

राजविराज : स्वास्थ्य मन्त्रालयले भिटिएमसहित प्राविधिक स्वास्थ्यकर्मी खटाएपछि प्रदेश २ का जिल्लामा तीव्रताका साथ स्वाब संकलन सुरु भएको छ । परीक्षणलाई थप बिस्तार गर्ने क्रममा प्रदेश २ का आठवटै जिल्लाका २७ स्थानमा स्वाब संकलन केन्द्र स्थापना गरी परीक्षण गर्न लागिएको स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

    
प्रदेश २ को सप्तरी, सिरहा, धनुषा महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका जोखिमयुक्त स्थानहरूमा १ हजार ५ सय २० पिसिआर नमूना संकलनको लक्ष्यसहित स्वास्थ्यकर्मी तथा प्रयोगशालाका प्राविधिकसहितको टोली परिचालन गरिएको छ ।
    
स्वाबको नमूना संकलनका लागि स्वास्थ्य सेवा विभाग, नेपाली सेना, ल्याब टेक्निसियनहरूको छाता संगठन मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) लगायतका स्वास्थ्यकर्मी तथा प्रयोगशाला प्राविधिकसहितको टोली जिल्ला–जिल्लामा परिचालन भएका छन् ।
    
स्वाब संकलन गरी परीक्षण गर्न सप्तरीमा ३ सय २० र सिरहामा चार सय भिटिएम पठाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका फणिन्द्र ज्ञवालीले जानकारी दिए । भिटिएम र १५ वटा पीपीईसहित प्रयोगशालाका प्राविधिक टोली सप्तरी आएपछि शनिबारदेखि स्वाब संकलन कार्य सुरु भएको छ । संक्रमित फेला पर्न सक्ने सम्भावित सप्तरीको बोदे बर्साइन–५ जाँजर, सुरुङ्गा–११ अरहा भजक्का र सप्तकोशी–१ फत्तेपुरमा पिसिआर बिधीबाट परीक्षण गर्न स्वाब संकलन केन्द्र स्थापना गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
    
सप्तरीबाहेकको स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइए पनि सप्तरीको स्वाब संकलन गरी परीक्षणका लागि बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने ज्ञवालीले जानकारी दिए । स्वाब संकलनका लागि गजेन्द्रनारायण सिंह अस्पताल, स्वास्थ्य कार्यालय, नेपाली सेना, पूर्व क्षेत्रीय प्रहरी अस्पताल रुपनी र मेलानका ल्याब टेक्निसियन खटिएका छन् ।
    
स्वाब संकलनमा खटिन बोदे बर्साइन जानुअघि अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादव, विश्व स्वास्थ्य संगठनका किरण खडकाको उपस्थितीमा प्राविधिक स्वास्थ्यकर्मीहरूले पीपीईको प्रयोग र सुरक्षित साथ स्वाब संकलनको प्रकृयाबारे नमूना परीक्षण र अभ्यास गरे ।
    
उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिमा फेला परेका संक्रमित जमातीहरू सप्तरीको कञ्चनरूप नगरपालिका–२ बरमझिया, वडा नम्बर–१२ चर्खिया र सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित मस्जिदमा बसेर गएको सप्तरी प्रहरीले ट्रेसिङ्ग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत मङ्गलबार संक्रमित पुष्टि गरेको भुल्केका ११ जनामध्ये दुई जना सप्तरीको सुरुङ्गा नगरपालिका–११ अरहा भजक्काको स्थायी बासिन्दा हुन् । 
    
यसैगरी बोदे बर्साइन नगरपालिका–५ जाँजरमा फागुन ३ देखि ५ गतेसम्म भएको धार्मिक सभा ‘इज्तिमा’ मा सहभागी एक लाखभन्दा बढी इस्लाम धर्मालम्बीहरू नै जमातीका हैसियतले विभिन्न मस्जिदमा गएकोले सो क्षेत्रलाई पनि जोखिमयुक्त ठहर गर्दै जिल्ला सुरक्षा समितिले एक साताअघि नै स्वाब संकलन केन्द्र स्थापना गरी परीक्षण गर्ने निर्णय गरेको थियो । 
    
यी क्षेत्रहरूलाई सुरक्षा समितिले जोखिमयुक्त स्थान ठहर गरेको छ भने जनप्रतिनिधी र स्थानीयवासीले समेत पिसिआर विधिबाटै कोरोना परीक्षण गर्न माग गर्दै आएका छन् । त्रियुगा नगरपालिका–३ भुल्केमा आरडिटी परीक्षण गर्दा नेगेटिभ आए पनि पिसिआर परीक्षण गर्दा पोजिटिभ आएको भन्दै सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम शर्माले पिसिआर विधिबाटै स्वाब परीक्षण गर्नुपर्ने माग गर्दै आएका थिए । 
तर स्वाब संकलन गर्ने भिटिएमको अभावमा परीक्षण हुन पाएको थिएन । राजविराजस्थित अस्पताललाई प्राप्त ८२ ओटा भिटिएममध्ये ४७ ओटा प्रयोग भइसकेको छ । राजविराजबाट पठाइएको ४७ ओटा स्वाबको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख मेसु डा. दासले जानकारी दिए ।
    
शनिबार र आइतबार प्रदेश २ मा हुने स्वाब परीक्षणको नतिजाले प्रदेशको कोरोना संक्रमितको अवस्थाबारे स्पष्ट भइ आगामी कार्ययोजना निर्धारण गर्न मार्गप्रशस्त हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.