लकडाउनमा थाल ठटाएर प्रदर्शन
वीरगन्ज : सरकारले कोबीड १९ अस्पताल बनाएको वीरगन्जको नारायणी अस्पतालमा पुन सबै रोगका बिरामीको उपचार र अन्य सेवा सुचारु गर्न माग गर्दै शनिबार थाल ठटाएर प्रदर्शन गरिएको छ । लकडाउनबीच आदर्शनगरमा स्थानीयले शनिबार सडकमा निस्किएर सामाजिक दुरी कायम राख्दै थाल ठटाउनुका साथै थपडी बजाएर र सिट्ठी फुकेर प्रदर्शन गरेका हुन् ।
सरकारले चैत ३० मा कोबीड १९ हस्पिटल तोकेपछि नारायणी अस्पतालमा बैशाख २ देखि कोबीड १९ बाहेकका अरु सबै उपचार र सेवा बन्द गरिएको छ । ४ जिल्लाको बिरामीको उपचार हुने महानगरको एक मात्र सरकारी अस्पतालको उपचार सेवा बन्द गरिँदा आर्थिक रुपमा कमजोर र मध्यम वर्गीय बिरामी उपचार नपाएर समस्यामा परेको प्रदर्शनकारीको भनाइ छ ।
सरकारी अस्पतालको उपचार सेवा यथशीघ्र सुचारुका लागि सरकार, महानगर र स्थानीय प्रशासनलाई दबाव दिन सडकमा थाल ठटाउनुका साथै सिट्ठी पनि फुकेर प्रदर्शन गरिएको स्थानीय काँग्रेस नेता बैकुण्ठ श्रीवास्तवले बताए ।
यसअघि शुक्रबार वीरगन्जकै घण्टाघरमा नेविसंघ र बिहीबार छपकैयामा जनता समाजवादी पार्टीले पनि नारायणी अस्पतालको उपचार सेवा सुचारुको माग गर्दै सडकमा प्रदर्शन गरेका थिए ।
सरकारले कोबीड १९ अस्पताल बनाएको नारायणी अस्पतालमा हाल कोरोनाका ५ जना संक्रमित उपचाररत छन् ।
शनिबार नै वीरगन्जमा विधार्थीहरुले लकडाउनका कारण विदेशमा अलपत्र परेका नेपालका विधार्थीहरुलाई उद्दार गरी नेपाल फर्काउन माग गर्दै प्रदर्शन गरेका छन् ।
घण्टाघर चोकमा जनता समाजवादी पार्टी निकटका विधार्थी संगठनले सामाजिक दुरी कायम राख्दै प्रदर्शन गरेको विधार्थी नेता मधुसुदन चौरसीयाले जानकारी दिए ।