स्याङजा भित्रिने सबैले १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने
स्याङ्जा : अबदेखि स्याङजा प्रवेश गर्ने जो कोही पनि १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय स्याङजाले जिल्ला प्रवेश गर्ने नागरिकलाई २ हप्ता अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो।
कोरोना भाइरस नियन्त्रणका लागि जिल्लामा प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङले जानकारी दिए। ‘अहिलेसम्म जिल्ला सुरक्षित छ। विदेशबाट जिल्लामा आउने सबैको नमूना संकलन रिपोर्ट पनि नेगेटिभ देखिएको छ’, उनले भने।
नागरिकका स्वास्थ्यको ध्यान दिँदै सरकारले लकडाउनको अवधि बढाउदै कडाई गर्दे गएको छ। कोरोना भाइरसको संक्रमण अत्याधिक छिटो र सजिलै सर्दछ। संक्रमित हुनभन्दा यसका रोकथामका उपाय अपनाउनु नै बुद्धिमान हुन्छ। स्याङ्जा प्रवेश गर्नेलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र स्वास्थ्य परीक्षण गर्ने प्रजिअ कुरुङबाङको भनाइ छ।
लकडाउनका बेलामा बाहिरबाट आउने जुन पालिकाका बासिन्दा हुन सोही पालिकाले एकान्तबासको व्यवस्थापन गर्नुपर्ने भएको छ। एकान्तबासको २ हप्तादिन पुरा भएपछि कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आए उनीहरुलाई घर पठाइने छ।
स्याङजा सदरमुकामदेखि उत्तरतर्फ रहेको कास्की र स्याङजाको संगम स्थल कुभिण्डे नाका पर्दछ। यो फेदिखोला गाउँपालिका अन्र्तगत छ। पालिकाले पनि कुभिण्डे नाका आउने सबैको विवरण लिने गरेको छ। बाहिरबाट आउनेहरुलाई यही नाकाबाटै सम्बन्धित पालिकामा पुर्याउने व्यवस्था मिलाएको छ। उनीहरुसँगै आएका सवारी साधनमा डिस्इफेन्सन स्प्रे गरेर अन्य यात्रुलाई सेनिटाइज, ज्वरो जाँच गरिने लगायतका व्यवस्थापन गरिएको पालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए।
यसैगरी, दक्षिणतर्फको पाल्पा र स्याङ्जाको सीमा नाका गल्याङ नगरपालिकाको राम्दी हुँदै प्रवेश गर्नेलाई पनि यसरी नै जाँचपछि क्वारेन्टाइनमा राख्ने र परीक्षणपछि नेगेटिभ देखिएमा मात्र घर पठाउनेगरी निर्णय भएको छ।