भारतीय जमातीसहित ४ संक्रमित आज डिस्चार्ज हुँदै
वीरगन्ज : वीरगन्जस्थित नारायणी अस्पतालको आइशोलेसनमा राखिएका ५ मध्ये ४ कोरोना संक्रमितलाई आइतबार डिस्चार्ज गरिँदैछ। अस्पतालमा उपचाररत ५ मध्ये तीन भारतीय मुस्लिम जमाती र रौतहटका १ युवक गरी ४ जनालाई आइतबार बिहान ११ बजे तिर डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ड डा.मदन उपाध्यायले जानकारी दिए।
चारै जनाको तेश्रो र चौथो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य अवस्था पनि सामान्य भएकाले उनीहरुलाइ डिस्चार्ज गर्न लागिएका डा.उपाध्यायले बताए। उनका अनुसार हेटौडा स्थित प्रादेशिक प्रयोगशालाबाट शनिबार बेलुकी अस्पताललाई प्राप्त चौथो रिपोर्ट नेगेटिभ आएको हो। यसअघि तेश्रो रिपोर्ट पनि नेगेटिभ आएको थियो।
उपाध्यायले भने–‘पहिलो र दोश्रो पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो, तर तेश्रो र चौथो रिपोर्ट लगातार नेगेटिभ आएप्छि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चार जनालाइ डिस्चार्ज गर्न लागेका हौं।’डिस्चार्ज गर्न लागिएका चार मध्ये रौतहटका युवालाई आफन्तको जिम्मा लगाएर घर पठाइने उनले बताए।
तीन भारतीय जमातीलाई भने सीमा बन्द रहेकाले वीरगन्जकै क्वारेन्टाइनमा राख्ने गरी डिस्चार्ज गर्ने विषयमा स्थानीय प्रशासनसँग छलफल भइरहेको मेसु उपाध्यायले जानकारी दिए।
वीरगन्ज–२ छपकैया स्थित मस्जिदमा बस्दै आएका २६ भारतीय जमातीमध्ये ३ जनामा कोरोनाको संक्रमण रहेको चैत ३० मा पुष्टि भएको थियो।
रौतहटका संक्रमित युवकलाई भने बैशाख १ गते संक्रमणको पुष्टि भएपछि बैशाख २ गते नारायणी अस्पतालमा ल्याइएको थियो। सर्लाही धनकौलका१४ वर्षीय किशोरलाई भने गत बिहीबार राति मात्रै अस्पताल ल्याइएको हो। उनको पनि स्वास्थ्य अवस्था सामान्य रहेको मेसु उपाध्यायले जानकारी दिए।