भक्तपुरका एचआईभी संक्रमित बालबालिकालाई राहत
भक्तपुर : भक्तपुरका १२ जना एचआईभी संक्रमित १२ वर्षमुनिका बालबालिकालाई दुईमहिनाका लागि राहतस्वरुप खाद्यान्न तथा पोषण वितरण गरिएको छ । राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपाल (एनएपीएन) ले उक्त राहत उपलब्ध गराएको हो । एनएपीएनले प्रत्येक बालबालिकालाई प्रतिमहिना आठ किलो चामल, एक किलो दाल, एक किलो गेडागुडी, १० वटा अन्डा, एक किलो गहुँको पीठो, एक किलो चिनी, एक किलो नून, दूध दुई लिटर, फलफूल एक किलो र खाने तेल एक लिटर उपलब्ध गराएको छ ।
जीवनदायिनी एन्टिरेट्रोभाइरल (एआरभी) औषधि खाइरहेका यहाँका १२ जना बालबालिकालाई उक्त राहत वितरण गरिएको एनएपीएनको सदस्य संस्था सुरुवात सामुदायिक उपचार तथा पुनःस्थापना केन्द्रले जनाएको छ ।
सुरुवातका अध्यक्ष उमेश खड्काले लकडाउनको कारण एचआईभी संक्रमित बालबालिकाको घरसम्मै पुगेर उक्त राहत वितरण गरिएको जानकारी दिए । उनले पहिलो चरणको पहिलो एक महिनाको लागि उक्त राहत वितरण गरिएको बताए । अर्को महिना बाँकी अर्को महिनाको लागि राहत उपलब्ध गराइने उनको भनाइ थियो ।
'एनएपीएनले उपलब्ध गराएअनुसार पहिलो महिनाको लागि यहाँका १२ जना एचआईभी संक्रमित बालबालिकालाई राहत वितरण गरिसकेका छौं, अध्यक्ष खड्काले भने, 'अर्को चरणको दोस्रो महिनाको लागि राहत वितरण गर्नेर्छौं ।'
सुरुवात आफैले प्रत्येक संक्रमित बालबालिकाको लागि राहतको प्याकेज तयार गरेको थियो ।एनएपीएनको उपलब्ध गराएको राहतबाट आफूहरुको ठूलो राहत भएको संक्रमित बालबालिकाले बताएका छन् । उनीहरुले लकडाउनले गर्दा आफ्ना अभिभावकले कमाइ गर्न नपाएकोमा अवस्था उपलब्ध गराएको राहतले सिंगो परिवारकै लागि ठूलो राहत भएको सुनाए ।
एचआईभी संक्रमितले एआरभी औषधिमात्रै सेवन गरेर हुँदैन ।
औषधिअनुसार उपयुक्त पोषणयुक्त खानेकुरा पनि खानुपर्छ । पोषणयुक्त खानेकुराको अभावमा संक्रमितमा एचआईभी भाइरसको प्रभाव बढेर उनीहरुको स्वास्थ्य प्रभावित हुन्छ । त्यसमाथि कोरोना भाइरस संक्रमणका दृष्टिले एचआईभी संक्रमित बालबालिका बढी जोखिममा रहेकाले उनीहरुको लागि राहतको व्यवस्था गरिएको एनएपीएनका अध्यक्ष राजेश दिदियाले स्पष्ट पारे ।
एनएपीएनले देशभरका १२ वर्षमुनिका एचआईभी संक्रमितलाई दुई महिनाको लागि राहतस्वरुप खाद्यान्न तथा पोषण सहयोग गरेको छ । देशभर रहेका एनएपीएनमा आवद्ध ५९ वटा समुदायमा आधारित गैरसरकारी संघसंस्थाले बालबालिकालगायतलाई उक्त राहत वितरण गरिरहेको अध्यक्ष दिदियाले जानकारी दिए ।
दुई महिना दिइने उक्त राहतको लागि नेपालस्थित सेभ द चिल्ड्रेनले आर्थिक सहयोग गरेको एनएपीएनले जनाएको छ । सरकारले ग्लोबल फण्डमार्फत एचआईभी संक्रमित बालबालिकालाई प्रत्येक महिना एकएक हजार रुपैयाँसमेत उपलब्ध गराउँदै आएको छ ।