आफैँले बाटोमा गरेको अवरोधले समस्या भोग्दै स्थानीय

आफैँले बाटोमा गरेको अवरोधले समस्या भोग्दै स्थानीय

धादिङ :  गत साता नीलकण्ठ नगरपालिका वडा नं ९ झगरेका दुर्गा दुवाडी अचानक बिरामी परिन । उनलाई उपचारको लागि तत्काल सदरमुकाम स्थित जिल्ला अस्पताल लैजानुपर्ने भयो । वडा नं ९ को एम्बुलेन्स पनि थियो तर स्थानीयले कोरोना संक्रमण रोक्नको लागि भन्दै बाटोमा रुख ढालेर अवरोध गरिदिएपछि घरसम्म पुग्ने एम्बुलेन्स पनि जान सकेन । उनलाई गाउँलेले २ किलोमिटरसम्म स्ट्रेचरमा बोकाएर अवरोध गरेको ठाउँ कटाएपछि एम्बुलेन्समा चढाएर अस्पताल पठाइयो ।

गत बैशाख ३ गते पैदल यात्रा गरेर गोरखा हुँदै ज्वालामुखी गाउँपालिकाको खरीमा रहेको घर फर्किंदै गरेका होमबहादुर रानाको धादिङ र गोरखाको सीमाक्षेत्र बुङकोट घाट पुलबाट खसेर मृत्यु भयो । पुलबाट हुने ओहोर दोहोर बन्द गराउनको लागि वडा अध्यक्ष लगायत त्यस क्षेत्रका स्थानीयले पुलमा छेकबार गरेका कारण उनको लडेर मृत्यु भएको भन्दै निकै आलोचना गरे । रातीको समयमा हिँडेर आइरहेको रानाको छेकबार नाघ्न खोज्दा खसेर मृत्यु भएको परिवारले आरोप लगाइरहेकै छन् ।

गत चैत अन्तिम साता ज्वालामुखी गाउँपालिकाको मैदीमा गरिएको र्‍यापिड टेष्टमा एकजनालाई पोजेटिभ देखिएपछि स्थानीयमा आतङ्क फैलियो । र्‍यापिड टेष्ट र पिसिआर टेष्टको अर्थ नबुझेपछि झनै आतङ्कित बने । उनलाई आइसोलेसनमा राखेर उपचार गर्न धादिङवेशी ल्याइने भयो तर बाटोमा गरिएको अवरोधहरु पन्छाउदै धाङिवेशी ल्याइपुर्‍याउन निकै सकस भयो । त्यसपछि ज्वालामुखी गाउँपालिकाका ठाउँ ठाउँमा रुख ढालेर बाटो बन्द गराउने काम सुरु भयो जस्ले गर्दा गाउँपालिकाले गर्ने राहत वितरण र तथ्याङ्क संकलनगमा समेत अवरोध भयो ।

यी तीन प्रतिनिधि घटना हुन् । अहिले गाउँ गाउँमा यस्ता खाले समस्या धेरैले भोग्न थालेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले विगत १ महिना अघिदेखि देशभर लकडाउन गरिरहेको छ । तर पनि गाउँ गाउँमा फर्किएका युवाहरु मोटरसाइकल चलाएको र एक गाउँबाट अर्को गाउँ गइरहेको भन्दै स्थानीयले जथाभावी रुख ढालेर बाटोमा अवरोध गरेपछि त्यसको प्रत्यक्ष असर आफैँले भोग्न थालेका छन् ।

कतिपय ठाउँमा पैदल यात्रीले ज्यानै गुमाउनुपर्ने अवस्था आएको छ भने बिरामीहरुलाई अस्पतालसम्म लैजानको लागि बोक्नुपर्ने अवस्था आएको छ । यतिबेला गाउँ गाउँ कोरोना आउन नदिन र सवारी आवागमन हुन नदिनको लागि भनेर ढालिएका रुखहरुले नै स्थानीयले सास्ती भोग्न थालेका छन् । ज्वालामुखी गाउँपालिकाका स्थानीय दिनेश दुवाडीले भने, ‘आफैँलाई पछि आपत आइपर्न सक्छ भन्ने थाहा हुँदा हुँदै पनि लहडमा लागेर रुख ढालेको परिणामा अहिले स्थानीय आफैँले भोगिरहेका छन् ।’

कतिपय ठाउँमा सामुदायिक बनका रुख काटेपछि त्यसलाई पन्छाउनसमेत पाएका छैनन् । लहड र हुँइयाको भरमा लागेर जथाभावी रुख काटेर बाटोमा अवरोध गरेपछि बन उपभोक्ताले रुख काटेको विषयमा उजुर गरेपछि छानविन गर्नुपर्ने हुँदा पन्छाउनसमेत नपाएको गुनासो आउन थालेको छ ।

ठाउँ ठाउँमा जनप्रतिनिधि नै सामेल भएर बाटो बन्द गराएपछि झनै आलोचित बनेका छन् । कोरोना संक्रमण फैलिन नदिनको लागि जनसम्पर्कबाट टाढै बस्नु पर्छ तर त्यसो भन्दैमा आपतकालीन अवस्थामा आफैँलाई आउनसक्ने समस्याको ख्याल नगरी जनप्रतिनिधहरु नै बाटो पुल बन्द गराउने र रुख ढाल्ने अभियानमा लाग्नु चाहि दुःखद रहेको नागरिक समाजका अगुवा सिताराम प्रसाद बर्माले बताए । उनले भने, ‘सचेत हुने, आवागनम रोक्ने कुरा ठिकै हो तर यसकै बहानामा बाटो–घाटो र पुलपुलेसामा हिँड्नै नमिल्ने गरी ठप्प बनाउँदाको असर कम्तीमा जनप्रतिनिधिहरुले बुझ्नुपर्ने थियो ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.