छैन सामाजिक दुरी कायम : भीडभाडमै हुन्छ तरकारी खरिद
धनगढी : धनगढी उपमहानगरपालिका -४ का बाबुराम आचार्य तरिकारी खोज्दै किसानको बारीमा पुगे । लकडाउनले गर्दा बजारमा अतिआवश्यक सामग्री पाउन छोडेपछि आचार्य धनगढी उपमहानगर-२ मा पर्ने नेपाल भारत सीमा मोहना नदीको बगर खेतीमा तरिकारी खरिद गर्न पुगेका हुन् । उनी जस्तै दैनिक सयौँ मानिस मोहनाको तटमा तरकारी खरिद गर्न जाने गरेका छन् ।
कोरोनाको जोखिम कम गर्न सामाजिक दुरीको महत्वपूर्ण भूमिका रहन्छ। तर, मोहनाको तरकारी बारीमा त्यस्तो कुनै दुरी कायम गरिँदैन् । एकै पटक भीड गरेर तरकारी खरिद गर्छन । 'बजारमा तरकारी पाउन छोड्यो । पाए पनि विचौलिया मार्फत पाइन्छ,' धनगढी बसपार्कमा घर भएका जयराज न्यौपानेले भने, 'तर यहाँ आउने नागरिक नत माक्स लगाएका छन् । न कुनै दुरी पालना गरेका छन् ।'
कोरोनाको संक्रमणको डरले बजारमा देखिने व्यवसाय मात्र बन्द नगरी यस प्रकारका भीड हुने ठाउँमा सरोकारवालाको ध्यान जान आवश्यक भएको उनले बताए । 'सरकारले लकडाउन लम्ब्याउँदै जाने तर अतिआवश्यक वस्तु खरिद गर्दा ध्यान नदिएमा समस्या विकराल हुन्छ,'न्यौपानेले भने, 'दुई देशका नागरिकको ओहोरदोहोर हुने यस प्रकारका क्षेत्रमा व्यवस्थित हुन आवश्यक छ ।'
सीमामा सुरक्षाकर्मी परिचालन गरेपनि तरकारी किन्दा कुनै त्यस्तो सुरक्षा संवेधनशिलता नअपनाएको उनले बताए । नेपालमा वर्षौदेखि बस्दै आएका भारतीय मुलका नागरिकहरुले हरेक वर्ष मोहनाको तटमा बगर खेती गर्ने गरेका छन् । स्थानीयको जमिन भाडामा लिएर उनीहरु बगर खेती गर्ने गरेका हुन् ।
लकडाउन नभए सुदूरपश्चिमलगायत पूर्वी क्षेत्रमा समेत पुग्ने तरकारी यस वर्ष कतै पनि पुर्याउन सकेको छैन् । भारत मुलका नागरिकका १२÷१५ जना परिवार मिलेर १५ विघा बढी क्षेत्रमा हिउँदे तरकारी खेती गरेका छन् । बारीमा खरभुजा, फर्सि, लौका, काक्रा, करेला, खुर्सानी, बोडी, टमाटरलगायत तरकारी लटरम फलेका छन् ।
बजारमा सामग्री पाउन छोडेपछि बारी खोज्दै धेरै ग्राहक आउने गरेको तरकारी व्यवसाय गदैँ आएका अखिलेस अहमदले बताए । 'लकडाउनले गर्दा बजारमा पुर्याउन सकेको छैन, उनले भने, 'सकेजति यहाँ नै बिक्री गर्ने हो । नभए गाई गोरुलाई खुवाउनको विकल्प छैन ।'
उनले सिनेटाइजर, पञ्जा लगाएर तरकारी बिक्री गर्ने गरेको बताए । धनगढी बजारका अधिकांश नागरिक तरकारी खरिद गर्न मोहना पुग्ने गरेका छन् । पछिल्ला दिनमा लकडाउन केही हदसम्म खुकुलो भए पनि दैनिक उपभोग्य लगायतको कुनै पनि व्यवसाय गर्ने पसल खोल्न सकेका छैनन् ।
स्थानीय प्रशासनले पनि कुनै त्यस्तो नीति बनाएको छैन् । सुरुमा धनगढीमा कोरोना संक्रमित देखिएपछि अतिआवश्यकबाहेकका पसल समेत बन्द गर्न प्रशासनले सूचना जारी गरेको थियो। पछिल्लो समय धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाराथ ५ बिरामीमध्ये ४ जना डिस्चार्ज भएपछि केही खुकुलो भएको हो ।