भैरहवामा विपन्न वर्गसहित‘फ्रन्टलाइनर’लाई निःशुल्क खाना
भैरहवा : लकडाउनका कारण समस्यामा परेका सर्वसाधरणलाई निःशुल्क खाना खुवाउन सुरु गरेको छ । भैरहवाको नयाँगाउँ–रानीगाउँ युवा समाज पक्लिहवाद्वारा व्यक्तिगत लगानीमा लकडाउनका कारण समस्यामा परेका र फ्रन्टलाइनमा रहेर कोरोना संक्रमणसँग जुधिरहेकालाई खाना खुवाउन सुरु गरिएको हो ।
समाजले गत हप्तादेखि खाना खुवाउने अभियान सुरु गरेको हो । लकडाउनले होटल बन्द रहँदा अस्पतालमा रहेका बिरामी, बिरामीको कुरुवा र स्वास्थ्यकर्मीलाई समस्यामा परेपछि नजिकै रहेको यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (मेडिकल कलेज) परिसरमा खानाको मेस संचालन गरिएको हो ।
हप्तामा दुईपटक संचालन हुने मेसमा लकडाउनले खानाको अभाव झेलिरहेका समाज वरिपरि क्षेत्रका विपन्न वर्गका परिवार र फ्रन्टलाइनमा रहेर काम गरिरहेका सुरक्षाकर्मी, पत्रकारलाईसमेत निःशुल्क खानाको व्यवस्थापन गरिएको समाजका अगुवा सुशिल गुरुङले बताए ।
‘हामीहरुकै लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरु फ्रन्टलाइनमा रहेर दिनरात फिल्डमा खटिएका छन्, उनीहरुलाई कसले हेर्ने? खाना खुवाएर भए पनि सहयोग गर्नुपर्छ भन्ने भावनाले हामी अघि बढेका हौँ ’,उनले थपे ।
उनले समाजबाट दोस्रो चरण निःशुल्क शकाहारी खाना अभियान अन्तर्गत आइतबार ३ सय ५० जनालाई नास्ता र सात सय जनालाई खाना खुवाइएको बताए । यसअघि पहिलो चरणमा सात सय जनालाई खाना खुवाइएको थियो । उनले लकडाउन अवधिभरि निःशुल्क शाकाहारी खाना मेस संचालन हुने बताए ।
स्थानीय सिद्धार्थनगर नगरपालिकाले राहत वितरणको उचित व्यवस्थापन गर्न नसक्दा समाजिक संघ संस्था, स्थानीय समाज अगाडि सरेर समस्यामा परेकालाई सहयोग गरिरहेका छन् ।