‘दूध बिक्री नहुँदा निःशुल्क बाड्नुपर्‍यो’

‘दूध बिक्री नहुँदा निःशुल्क बाड्नुपर्‍यो’

सुर्खेत : लकडाउनका कारण कर्णालीका किसान मारमा परेका छन्। उत्पादन भएको दूध खपत नहुँदा भैँसीपालक किसान क्षति बेहोर्न बाध्य छन्। बैंकबाट ऋण लिएर व्यवसायिक भैँसीपालन गरेका किसानलाई दूध बिक्री नहुँदा ब्याज कसरी तिर्ने भन्ने पिरलो छ।

लकडाउनका कारण किसानले उत्पादन गरेको दूध बिक्री हुन छाडेको छ। कतिपय किसानले उत्पादन गरेको दूध ढुवानीमा समस्या भएको गुनासो गरेका छन्। बजारमा माग घटेको, ढुवानीमा अवरोध भएको र भैँसीलाई दाना नपाउँदा आफूहरू घाटा बेर्होन बाध्य भएको किसानको भनाइ छ। लकडाउनका कारण झन्डै ६० प्रतिशत दूधको खपत घटेको नेपाल डेरी एसोसियसन कर्णाली प्रदेशले जनाएको छ।

लकडाउनअघि कर्णालीमा दैनिक २५ हजार लिटरभन्दा बढी दूध खपत हुन्थ्यो। तर, हाल माग घटेको र ढुवानीमा समस्या हुँदा मुस्किलले १५ हजार लिटर दूध पनि खपत नहुने गरेको एसोसियसनका अध्यक्ष प्रेम रिजालले बताए। कोरोना भित्रिन सक्ने भन्दै प्रदेश सरकारले बाहिरबाट दूध आयात गर्न प्रतिबन्ध लगाएको छ। तर, पनि प्रदेशभित्रै उत्पादन हुने दूध खपत नभएको उनको भनाइ छ। उनले भने,‘लकडाउनअघि सुर्खेतको उत्पादनले नभ्याएर नेपालगञ्ज र बर्दियाबाट दूध आउँथ्यो, अहिले बाहिरबाट ल्याउन प्रतिबन्ध छ। तर, पनि यहाँको दूध खपत भएको छैन।’

व्यवसायिक भैँसीपालन गर्दै आएको सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डीचौरकाकिसान रत्नलाल सुवेदीको घरमा चारवटा दुहुना भैँसी छन्। साथमा एउटा उन्नत जातको गाई पनि छ। उनले दैनिक ३० देखि ४० लिटरसम्म दूध विक्री गर्थे। तर लकडाउन भएपछि उनले दूध बेच्न पाएनन्। दूध बिक्री नभएपछि पाडो र आफन्तलाई खुवाए। ‘न दूधबिक्री भयो, न भैँसीलाई दाना नै खुवाउन पाएँ’, सुवेदीले भने। सोही ठाउँका किसान कृष्ण कँडेलले पनि दूध बेच्न पाएका छैनन्। नौं वटा गाईभैँसी पालेका उनले दैनिक ६० लिटरभन्दा बढी दूध उत्पादन गर्छन्। तर लकडाउनका कारण दूध बेच्न पाएका छैनन्।

दूध बिक्री नहुँदाकतिपय किसानले पाडा र गाईबाख्रालाई नै दूध खुवाएका छन्। दूध नबिक्दा यहाँका किसानले दैनिक २८ देखि ३० हजारसम्म घाटा वहोर्नु परेको हो। दूध बिक्री नहुँदा ऋण लिएर भैँसीपालन गरेका किसानलाई बैंकको ब्याज कसरी तिर्ने भन्ने पिरलो छ। लकडाउनपछि सुर्खेतकापाम्का, गर्पन, बाबियाचौर लगायत ठाउँबाट दूध ढुवानी भएको छैन। दूधको खपत घटेको भन्दै वीरेन्द्रनगरका डेरीहरूले किसानको दूध ल्याउन मानेका छैनन्।

होटल व्यवसाय र विद्यालयहरू बन्द हुँदा दूधको खपत घटेको डेरी व्यवसायीहरूले जनाएका छन्। गर्मी मौसममा दुग्धजन्य बस्तुमा माग बढ्ने समयमा लकडाउन हुँदा उत्पादित दूध पनि खपत नभएको उनीहरूको भनाइ छ। लकडाउनपछि दूधको खपत ह्वात्तै घटेको छ।

‘लकडाउनले सबै गाउँ फर्किएका छन्, वीरेन्द्रनगर रित्तो जस्तै भएको छ’ डेरी एसोसियसनका अध्यक्ष रिजाल भन्छन्, ‘खपत घटेपछि अहिले उपत्यका बाहिरका किसानको दूध ल्याउनै सकिएको छैन।’कोरोनाको त्रासका कारण प्रदेश सरकारले बाह्य प्रदेशबाट दूध र दुग्धजन्य पदार्थ ल्याउन प्रतिबन्ध लगाएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि विहान सातदेखि नौं बजेसम्म मात्रै दूध ढुवानी गर्न पाउने निर्णय गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.