दोलखाको चार स्थानीय तहमा खोप सञ्चालन
दोलखा : दोलखाको चार वटा स्थानीय तहले नियमित खोप सेवा कार्यक्रम सुचारु गरेका छन्। कोरोना भाइरसका कारण सरकारले लकडाउन गरेपछि महिना दिन यता रोकिएको नियमित खोप कार्यक्रम दोलखाको चार स्थानीय तहले सुरु गरेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए।
कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम रोक्न भौतिक दूरी कायम गर्नु पर्ने भएकाले नियमित खोप सेवा रोक्नु परेको थियो। कोभिड-१९ को महामारीको समयमा नियमित खोप कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै सूचना जारी गरेपछि विगु, तामाकोशी, मेलुङ गाउँपालिका र भीमेश्वर नगरपालिकाले नियमित खोप कार्यक्रम सुरु गरेको झाले बताए।
बालबालिकालाई जन्मदेखि १५ महिनाको अवधिमा सात पटक विभिन्न ११ वटा रोगविरुद्ध खोप दिइन्छ। जसमा बीसीजी, डीपीटी, हेपाटाइटिस बी, दादुरा, जापानिज इन्सेफ्लाइटिस लगायत पर्छन्। भौतिक दूरी कायम गरेर नियमित खोप सञ्चालन गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन र बच्चा लिएर आउने आमाहरुलाई अनुरोध गर्ने गरेको स्वास्थ्य कार्यालयको भनाई छ।