नेपालमा निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने
काठमाडौं : देशभर कोभिड १९ परीक्षणका लागि सरकारले देशका विभिन्न स्थानमा १६ वटा प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
आरडिटी र पिसिआर गरी हालसम्म ५३ हजार भन्दा धेरैको परीक्षण गरिसकेको सरकारले जनाएको छ । यससँगै परीक्षण गर्न अब निजी प्रयोगशालाका लागि पनि बाटो खुलेको छ । परीक्षण दायरा बढाउन भन्दै सरकारले निजी प्रयोगशालाको लागि पनि बाटो खुला गरेको हो ।
यसका लागि स्वास्थ्य मन्त्रालयले ‘इन्ट्रीम गाइडलाइन फर दि स्टाब्लिसमेन्ट एन्ड अप्रेशनलाइजेशन अफ मलिकुलर ल्याबोरेटरी फर कोभिड १९’ नामको निर्देशिका सरकारले जारी गरेको छ । सोही निर्देशिका बमोजिम अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्ने निजी प्रयोगशालाका लागि पनि परीक्षण गर्न बाटो खुलेको हो ।
सोमबार स्वाथ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनको क्रममा पनि यसबारे जानकारी दिएको छ । यद्यपि निजी प्रयोगशालाले सरकारसँग छुट्टै अनुमति लिनुपर्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
तर यसरी अनुमतिका लागि प्रावधानबारे विस्तृतमा खुलाइएको छैन । साथै हालसम्म निजी प्रयोगशालाले पनि आवेदन दिएको वा नदिएको भन्ने बारे मन्त्रालयले जानकारी दिएको छैन । छिमेकी देश भारतमा भने निजी प्रयोगशालाले निश्चित रकम लिएर कोभिड १९ को परीक्षण गर्दैआएका छन् ।