भाग्यको आविष्कार

भाग्यको आविष्कार

गणतन्त्रमा पहिलेजस्तै कोही कसैको सन्तान भएकै वा जात वा भूगोल आदिकै आधारमा भाग्यशाली हुने अवस्था आउनु हुँदैन


कर्म मानिसको अपरिहार्य आवश्यकता हो। परिणतिविनाको कर्म हुँदैन। परिणति सदैव मानिसको नियन्त्रणमा हुँदैन। जब कर्मको परिणति कुनै घटना वा परिस्थितिको शक्तिले निर्धारण गर्छ तब भाग्यको अवस्था आउँछ। असल परिणति आयो भने भाग्य र खराब आयो भने दुर्भाग्य हुन्छ। धर्ममा विश्वास गर्नेहरू भाग्यलाई दैवी शक्तिसँग जोड्छन् भने अरूका लागि यो खालि सम्भावनाको खेल मात्र हो। मनग्ये कमाउने भाग्यमाथि विश्वास गर्दैनन् तर कमजोर असहाय भाग्यमाथि पूरै विश्वास गर्छन्। धेरैजसो सफलता आफूले आर्जन गरेको दाबी गर्छन् भने असफलतामा भाग्यलाई दोष दिन्छन्।

आधुनिक अमेरिकी समाजलाई दर्शन प्रदान गर्ने जोन राउलले सबै कालखण्डका सामाजिक तनावको कारक असमानतालाई बताएका छन्। उनले संसारमा भएका र अब हुने क्रान्ति वा आन्दोलन सबै बढी समानताका लागि भएको बताउँछन्। सन् १२१५ को म्याग्नाकार्टा, १६८८को गौरवपूर्ण क्रान्ति, १७७५ को अमेरिकी स्वतन्त्रता, १७८९ को फ्रेन्च क्रान्ति, १९१७ को रुसको साम्यवादी क्रान्ति, १९४९ को चीनको जनवादी क्रान्ति, सबै नै नागरिक समानताका लागि भएका थिए। प्रत्येक पटकको सफल क्रान्ति वा आन्दोलनले पहिलेको भन्दा बढी समानता सुनिश्चित गरेको हुन्छ। नेपालको संवत् २००७ को क्रान्ति, २०४६ को आन्दोलन, २०६३ को जनआन्दोलन सबै नै बढी समानता र त्यसलाई सुनिश्चित गर्नेसँग नै सम्बन्धित थिए। गणतन्त्रात्मक संविधानले नागरिक समानता झनै दरिलो भएको छ।

कुनै दुई मानिस कहिल्यै समान हुँदैन। यसकारण निरपेक्ष समानता सम्भव छैन र यसले मानव विकासलाई अवरुद्ध पार्छ। साम्यवादी व्यवस्था समाप्त हुनुको मुख्य कारण निरपेक्ष समानताको अंगीकार थियो। यसकारण समानता अभीष्ट हुँदाहुँदै पनि सबै समाजले जन्म र परिवेश होइन, सक्षमताको विविधतालाई स्वीकार गरेकै हुन्छन्। कसैको पाठेघरमा निशेचित र परिवारमा जन्मिएको कारण मानिस फरक हुन्छ भन्ने कुरा ग्राह्य छैन, तर, सबैमा उत्तिकै सक्षमता नहुने र सक्षमताअनुसार पुरस्कार पाउनुपर्ने कुरालाई वर्तमान समाजले मान्यता दिएको छ।

सक्षमता चार चिजले निर्धारण गर्छ ः जैविक, बौद्धिक, सीप र वातावरण। जैविक भनेको कोषमा रहेको डीएनएको आधारमा मानिसका चरित्र बन्ने हो। यसमा कसैको नियन्त्रण हुँदैन। बौद्धिक भनेको दिमागको वातावरणसँग अन्तरक्रिया गरी प्रतिक्रिया दिने क्षमता हो। यो क्षमतामा सबैमा बराबर हुँदैन फरक हुन्छ। अध्ययन र अभ्यासले यसलाई बढाउन सकिन्छ। सीप कामलाई बारबार दोहोर्‍याएर निपुर्ण बनाउने हो। यसका लागि मिहेनत र लगन चाहिन्छ। म्याल्कमक्याडवले ‘आउट लायर’ मा विटल्सले १० हजार घन्टा अभ्यास गरेपछि नाम कमाएका थिए भन्छन््। परिस्थिति भनेको वातावरण हो। यी सबै चरित्र परिस्थितिमा निर्भर हुन्छन्। अमेरिका र नेपालमा जन्मिएको मानिसको सफलता चुम्ने अवसर कहिल्यै बराबर हुँदैन।

भाग्यको भूमिका नकार्ने सबै सफलतालाई बौद्धिकता र कडा मिहेनतसँग जोड्छन्। बौद्धिकता र मिहेनतको कारण नै सफल भएको र बढी कमाउन सकेको दाबी गर्छन्। उनीहरू भाग्यलाई जस दिएर आफूलाई कमजोर देखाउन चाहँदैनन्। उनीहरूको सफलताको पछाडि सानातिनादेखि ठूलो भाग्यले काम गरिरहेको हुन्छ। आफूजत्तिकै सक्षमता भएको तर उत्तिकै सफल र कमाउन नसकेकाप्रति उदासीन रहेर भाग्यको भूमिकालाई नकार्छन्।

उल्लिखित जैविकबाहेक बाँकी सबै तत्तवलाई राज्यले प्रभावित गर्न सक्छ। राज्यले बौद्धिक सीप र परिस्थिति सफलताका लागि बढी अनुकूल हुनेगरी निर्माण गर्न सक्छ,। अर्थशास्त्री रवर्ट फ्रयांकले ‘सकसेस एण्ड लक’ मा यसलाई सामूहिक भाग्य भनेका छन्। उनी अमेरिका वा अन्य कुनै पनि बढी आय भएको मुलुकका मानिस बढी सफल र कमाउने हुनुको कारण त्यहाँको राज्यले सामूहिक भाग्यनिर्माणमा गरेको लगानीलाई मान्छन्। भाग्य छ भन्दैमा डोकामा दूध दुहेर हुँदैन। भाग्यले काम गर्न पनि पात्र र परिस्थिति सक्षम हुनुपर्छ। यो काम राज्यले गर्न सक्छ अर्थात् राज्यले भाग्यको आविष्कार गर्न सक्छ।

गणतन्त्र स्थापना भइसकेपछि नेपालमा पहिलेजस्तै कोही कसैको सन्तान भएकै वा जात वा भूगोल आदिकै आधारमा भाग्यशाली हुने अवस्था आउनु हुँदैन। प्रतिफल सक्षमतासँग मात्र सम्बन्धित हुनुपर्छ। सबै व्यक्तिको सफलता र आम्दानी उसको सक्षमतासँग जोडिनुपर्छ। कम सक्षमले बढी प्रतिफल लिन खोज्दा उत्पादकत्व बढाउने प्रेरणा कमजोर हुन्छ। फलत आर्थिक वृद्धि कम हुन्छ, विकास हुँदैन। सक्षमता र सफलताबीच सीधा सम्बन्ध स्थापित गर्न सकिएन भने न नेपालको विकास हुन्छ न त समृद्धि हासिल हुन्छ। राजनीतिक स्थिरता अर्को क्रान्ति वा अन्दोलनको गर्भाधानमा सीमित हुनेछ।

आधुनिक युगको समानता भनेको आयमा होइन अवसरमा हो। सबैलाई आफूले चाहेअनुसार जीवनयापन गर्ने समान अवसर हो। नोवेल अर्थशास्त्री अंगुस डेटर ‘टि ग्रेट इस्केप’ मा अवसरमा समानता मापनका लागि बाबु र छोराको आम्दानी एक अर्काबाट स्वतन्त्र छ कि छैन ?  हेरे पुग्छ भन्छन्। स्वतन्त्र छ समानता छ, छैन समानता पनि छैन। फेरि, समान अवसर मात्र पर्याप्त हुँदैन, अवसर उपयोग गर्न सक्षम मानवस्रोत पनि चाहिन्छ। कमजोरले क्षमतावानसँग प्रतिस्पर्धा गर्न सक्दैन।

सक्षमता विकासका लागि राज्यले यसका पूर्वाधारमा लगानी गर्नुपर्छ। यस्तो लगानीले नै वास्तवमा सामुदायिक भाग्य निर्धारण गर्छ। यस्तो लगानीले व्यक्तिको बौद्धिकता, सीप र अनुकूल परिस्थिति निर्माणमा सघाउँछ।

भाग्य छ भन्दैमा डोकामा दूध दुहेर हुँदैन। भाग्यले काम गर्न पनि पात्र र परिस्थिति सक्षम हुनुपर्छ। यो काम राज्यले गर्न सक्छ अर्थात् राज्यले भाग्यको आविष्कार गर्न सक्छ।

शिक्षा सबैभन्दा बढी प्रतिफल दिने क्षेत्र हो। यसले व्यक्तिमा काम गर्ने क्षमता, काममा आफूलाई ढाल्न सक्ने क्षमता र भविष्यको सोच र उद्यमशिलताको विकास गर्छ। विकासको गतिसँग शिक्षाको स्तर बढाउँदै जानुपर्छ। गरिब मुलुकमा यसको महत्तव झन् बढी हुन्छ। गरिबसँग आयआर्जनका लागि ज्याला र रोजगारी मात्र विकल्प हुन्छ। उनीहरूसँग न पुँजी हुन्छ न त जोखिम लिने क्षमता। शिक्षाले बजारको मागअनुसार ज्याला र रोजगारीको लागि योग्य बनाउँछ।

नेपालमा सामुदायिक शिक्षामा लगानी कममात्र छैन यसको गुणस्तर ज्यादै न्यून छ। तहअनुसार सिकाइको स्तर कमजोर छ। सफलतालाई बौद्धिकता र मिहेनतसँग जोड्नेहरू सामुदायिक क्षिक्षामा लगानी गर्न रुचाउँदैनन् बरु बेकार ठान्छन्। आफ्ना सन्तानलाई निजीमा पढाउँछन्। सरकारले सामुदायिक शिक्षामा लगानी बढाएर गुणस्तरीय शिक्षा दिने व्यवस्था मिलाउनुपर्छ। नत्र सामुदायिक शिक्षा बेरोजगारको भीड उत्पादन गर्ने कारखाना बन्छ।

मागअनुसारको सीपयुक्त जनशक्तिलाई काम र बढी ज्याला पाउन सजिलो हुन्छ। एक समयको सीप सदावहार हुँदैन, प्रविधिमा आउने परिवर्तनअनुसार निरन्तर सीप विकास गर्नुपर्छ। नत्र काम पाएकाले पनि केही समयपछि गुमाउनुपर्छ। नेपालले सीप विकासको तरिका र लगानी अन्य देशको तुलनामा एकदम कम छ। यसमा लगानी बढाउँदै तरिका पनि फेर्दै जानुपर्छ।

स्वास्थ्य समक्षमता विकासको अर्को महत्तवपूर्ण क्षेत्र हो। जीवन नै नरहे केही हुँदैन तर जीवन रहेर मात्र पनि हुँदैन, स्वस्थ पनि रहनुपर्छ। रोगीले धेरै किसिमको सीमितता सामना गर्नुपर्छ। स्वस्थ जनशक्तिको उत्पादकत्व र आय बढी हुन्छ। स्वास्थ्य रामो भएन भने गरिबको धेरै धन र समय उपचारमा खर्च हुन्छ, उनीहरू थप कमजोर बन्छन्। हालको स्वास्थ्यको लगानीस्तर एकदम कम छ। सबैले राम्रो सेवा पाउन सक्नेगरी लगानी बढाउनुपर्छ। यसका लागि एकदम धेरै पैसा चाहिन्छ भन्ने पनि छैन, थोरै पैसामा पनि स्वास्थ्य सुविधा राम्रो बनाउन सकिन्छ। निजी क्षेत्रबाट सेवा उपलब्ध भइहाल्छ भन्नेको लहलहैमा लागेर सरकार सेवा सुधारमा चुप बस्न मिल्दैन। निजी क्षेत्र अक्सर अवसरवादी हुन्छ, पूर्ण उत्तरदायी हुँदैन।

अर्को पूर्वाधारको क्षेत्र यातायात र सूचना, सञ्चार र प्रविधिको हो। यातायातले पहुँच, छनौट, अवसर र अन्तरक्रिया अभिवृद्धि गर्छ। सञ्चार र सूचना प्रविधिले ज्ञानको उपलब्धता, अनुकुलन, सहकार्य र विस्तारमा सहयोग र अन्तरक्रियालाई छिटो छरितो बनाउँछ। यिनीहरूले उद्यमशिलताको स्फुटनमा सहयोग पुर्‍याउँछन्। यी पूर्वाधारमा सबैको पहुँच सुनिश्चित गर्न निर्माण, विस्तार र गुणस्तर सुधारमा लगानी बढाउनुपर्छ। कानुनको शासन सक्षमता बढाउने अर्को पूर्वाधार हो। सक्षमता र अवसर उपलब्ध गराउँदैमा उपभोग सुनिश्चित हुँदैन। समानता र अवसरलाई कानुन बनाएर कार्यान्वयन गर्दा एकजना पनि पाखा पर्नु हुँदैन। यसको अभावमा अवसरको उपभोग समान रूपमा गर्न नपाउँदा सफलता केहीमा साँघुरिन्छ। कानुन सबैका लागि समान रूपमा प्रभावी बनाउन लगानी र व्यवस्था गर्नुपर्छ। त्यस्तै आँकडाबिना शासन गर्न सकिँदैन। आँकडाले वस्तुगत बनाउँछ। आधारबिनाको शासन सदैव भेदभावपूर्ण हुन्छ। महाभूकम्प र लकडाउको राहतमा समस्या आँकडाबाट आएको थियो। आमनागरिकको बारेमा दुरुस्त आँकडा राखेर सोही आधारमा शासन गर्दा मात्र सक्षमता बढाउन मद्दत पुग्छ।

उल्लिखित पूर्वाधारको विकासले नेपालीको सामूहिक भाग्य अभिवृद्धि गर्छ। जसले अन्ततः व्यक्ति, समाज र राष्ट्रलाई समृद्ध बनाउँछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.