दोलखामा 'लकडाउन'मा थप कडाइ, सरकारी सवारी समेत नियन्त्रणमा
चरिकोट : सरकारले 'लकडाउन' लाई थप कडाइ गर्न निर्देशन गरेसँगै दोलखामा मंगलबारबाट कडाइ गरिएको छ । सदरमुकाम चरिकोटमा लकडाउनको उल्लंघन गरेको भन्दै मंगलबार प्रहरीले सरकारी मोटरसाइकल नियन्त्रणमा लिएको छ । मंगलबार बिहान मात्र दुईवटा सरकारी बाइकदेखि ट्रयाक्टरसम्म नियन्त्रणमा लिइएको दोलखा प्रहरीका प्रवक्ता निरीक्षक रेशम बोहराले जानकारी दिए ।
गृह मन्त्रालयको निर्देशनअनुसार थप कडाइमा उत्रनु परेको प्रवक्ता बोहराको भनाई छ ।मंगलबार मात्र प्रहरीले २ सरकारी बाइकसहित १६ वटा मोटरसाइकल, ४ पाङ्ग्रे सवारीसाधन ६, ६ चक्के एक र ट्याक्टर एकवटा नियन्त्रणमा लिइएको प्रवक्ता बोहराले जानकारी दिए ।
लकडाउनको ३६ दिनमा प्रहरीले ३ हजार ५ सय ८८ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरेको जनाएको छ । लकडाउनमा थप कडाइ गर्ने क्रममा मंगलबार बिहान मात्र ९० जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्ने उपायबारे प्रशिक्षण दिएर छोडिएको छ ।
प्रहरीको सो तथ्यांक लकडाउन अवधिभरमध्ये बिहान ५ बजेदेखि राती १० बजेसम्मको हो । लकडाउन उल्लंघन गर्ने महिला र पुरुषको छुट्टाछुट्टै तथ्यां नराखिए पनि संख्या बराबर जस्तै रहेको प्रहरीको भनाई छ ।
लकडाउन उल्लंघन गरेकालाई कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम र बच्ने उपायबारे हरेकलाई १० मिनेटको प्रशिक्षण दिइएको दोलखाका प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।