'लकडाउन'मा धमाधम सडक पिच
भक्तपुर : कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउनकै बीच भक्तपुरमा धमाधम विकास निर्माणका कार्य अघि बढाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले लकडाउनकै बीच यहाँका विकास निर्माण तथा भूकम्पपछिको पुनर्निर्माणलाई खुकुलो बनाउने निर्णयसँगै यहाँ विकास निर्माणका कार्य धमाधम अघि बढेको हो ।
भक्तपुर नगर क्षेत्रमा सम्पदा संरक्षण, पुल, खानेपानी ट्यांकी निर्माण अघि बढेका छन् । त्यस्तै डिभिजन सडक कार्यालय भक्तपुरले टेन्डर स्वीकृत गरेको भक्तपुरको जगातीदेखि कमलविनायक सडक कालोपत्रे गर्ने कार्यसमेत अहिले अघि बढेको हो ।
कार्यालयबाट आरआर कन्स्ट्रक्सनले करिब एक करोड ५० लाख रुपैयाँमा करिब दुईकिलोमिटर उक्त सडक कालोपत्रे गर्ने ठेक्का पाएको हो । जसअनुसार वर्षाले प्रभावित नभए बुधबारसम्ममा कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने ठेकेदार राजाराम न्हिसुतूले जानकारी दिए ।
उनले सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढाएलगत्तै लकडाउन घोषणा गरिएपछि काम रोकिएको बताए । तर जिल्लामा विकास निर्माण कार्यलाई लकडाउनकै कारण नरोक्ने भएपछि दुई दिनअघिदेखि कालोपत्रे कार्य सुरु गरिएको उनको ठेकेदार न्हिसुतूको भनाइ छ ।
'ठेक्का स्वीकृत भएर सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढाउँदाबढाउँदै लकडाउन सुरु भयो, उनले भने, 'अब लकडाउनकै बीच विकास निर्माणका काम गर्न दिने भनेपछि कालोपत्र गर्न सुरु गरेका हौं ।'
उक्त सडक अरनिको राजमार्ग जगातीदेखि च्याम्हासिंहसम्म चार लेन फराकिलो रहेको छ । च्याम्हासिंहदेखि कमलविनायकसम् मभने दुईलेन रहेको छ । मंगलबारसम्ममा जगातीदेखि च्याम्हासिंहसम्मको चार लेन सडक कालोपत्रे गरिसक्ने ठेकेदार न्हिसुतूले जानकारी दिए ।
उनले मजदुरहरुलाई कोरोना भाइरस संक्रमण नहुने गरी सुरक्षा अपनाएर काम गर्न लगाइएको सुनाए ।चालू आर्थिक वर्षमा स्वीकृत योजनाअन्तर्गत काम हुन बाँकी रहेका अन्य सडकका योजनासमेत अगाडि बढाउने प्रक्रिया अघि बढाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।