आर्थिक समस्यामा मृगौला पीडित पत्रकार

आर्थिक समस्यामा मृगौला पीडित पत्रकार

भक्तपुर : कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउनका कारण मृगौला पीडित पत्रकार विजयकुमार पोखरेल (बीके पाल्पाली) को परिवार आर्थिक समस्यामा परेको छ । लकडाउनले काम गर्न नपाएपछि पत्रकार पाल्पालीको उपचार सँगै घरमा खाद्यान्नको समस्या भएको उनकी जीवनसंगिनी रेणुका भट्टराईले बताएकी छन् ।

लकडाउन लम्बिएकै कारण समस्यामाथि समस्या थपिएको उनको भनाइ थियो । उनले आफूसमेत मधुमेहको रोगी भएकाले समस्यामाथि समस्या थपिएको दुखेसो पोखिन् ।‘लकडाउन बढेसँगै श्रीमानको लागि आवश्यक औषधि अभाव हुने चिन्ताले भित्रभित्रै खाइरहेको छ’, भट्टराईले भनिन्, ‘छोराछोरीलाई भोकै सुताउनुपर्ने अर्को समस्या आइलागेको छ ।’

उनले लकडाउनअघिसम्म आफूले जसोतसो पाल्पालीको उपचार र घरखर्च जुटाउँदै आएकी थिइन् । उनले लकडाउन महिनादिनमात्रै रहने अनुमान गरेकी थिइन् । सोहीअनुसार सबै व्यवस्था गरेकी थिइन् तर लकडाउन लम्बिँदा आफ्नो योजना सबै भताभुंग भएको सुनाइन् ।‘लकडाउन धेरै लम्बिए महिनादिन जाने अनुमान गरेकी थिएँ । त्यसैले एक महिनालाई पुग्ने औषधि र खाद्यान्नको जोहो गरेकी थिएँ’, भट्टराईले थपिन्, ‘एकमहिनापछि आफू पुनः काममा फर्केर जीवन अघि बढाउँला भन्ने योजना बनाएकी थिएँ तर लकडाउन लम्बिँदा मेरो सबै योजना भताभुंग भयो । काममा जान पाइनँ ।’

त्यसैले पत्रकार तथा साहित्यकार पाल्पालीको जीवनरक्षा गर्न उनले अपील गरेकी छन् ।

पत्रकार तथा साहित्यकार पाल्पाली २०७० सालमा दुवै मृगौला फेल भएर थलिए । काठमाडौंको महाराजगञ्जमा उपचार सम्भव नभएपछि उनलाई भारत लगेर मेदान्त अस्पतालमा उपचार गराइएको थियो । त्यसबेलै उनलाई मृगौला प्रत्यारोपण गर्न सुझाइएको थियो । जसअनुसार आफूले मृगौला दिने तयारी अगाडि बढाउँदै आफूलाई पनि मधुमेह भएको थाहा पाएको पाल्पालीकी जीवनसंगिनी भट्टराईले बताइन् ।

‘उहाँ (पाल्पाली)लाई मैले मृगौला दिने निधो गरेर प्रक्रियामा अघि बढेको थिएँ’, उनले भनिन्, ‘तर मलाई मधुमेह देखियो । मृगौला फेर्ने धोको पूरा भएन । अहिले उल्टै मेरो मधुमेह नियन्त्रणबाहिर गयो । चिकित्सकहरुले इन्सुलिन लिन सुझाएका छन् ।’

उनले श्रीमानको उपचारसँगै आफ्नै उपचार गर्नुपर्ने बाध्यता आइलाग्दा आफूले धेरै कमजोर महसुस गर्न थालेको दुःखेसो पोखिन् । भित्रभित्रै भयले राज गरिरहेको उनले सुनाइन् । ‘अहिलेको अवस्थाले भित्रभित्रै आफ्नो जीवन नै कहिले सकिने हो भन्ने भयले राज्य गर्न थालेको छ’, भट्टराईले आँखाभरि आँसु राख्दै भने, ‘तैपनि छोराछोरीको मुहार हेरेर आत्मबल बढाएर हिँडिरहेकी छु ।’

पत्रकार पाल्पालीका एक छोरी र एक छोरा छन् । ४५ वर्षीय पाल्पालीको पुख्र्यौली घर पाल्पाको विकट सोमादी २ छहरा हो । त्यहाँ आमा र दाजु छन् । तर अध्ययनको सिलसिलमा काठमाडौं आएका उनले काभ्रेकी भट्टराईसँग विवाह गरेका थिए । भट्टराई आफै पनि सञ्चारकर्मी तथा साहित्यकार हुन् ।

पाल्पाली नेपाल बोर्डर साप्ताहिकका प्रकाशक तथा सम्पादक हुन् । त्यस्तै कानुनमा स्नातक गरेर अधिवक्ताको कामसमेत गरेका पाल्पालीको परिवारले उनी मृगौलाबाट थलिएपछि आर्थिक समस्या भोग्नुपर्‍यो । भारत पुगेर उपचारपछि नेपाल आएको पाल्पालीको परिवार २०७२ सालको भूकम्पसँगै भक्तपुरको सूर्यविनायक नपा ८ सिपाडोलमा आएर भाडाको घरमा बसे । घर भाडा महंगो हुँदै आएपछि सिपाडोलमै करिब सात आना जग्गा भाडामा लिएर त्यही जग्गामा जस्ताको टहरा बनाएर अहिले पाल्पालीको घरपरिवार बस्दै आएको छ । जस्ताकै टहराको एउटा कोठाको खाट नै अहिले पत्रकार पाल्पालीको संसार भएको छ । मृगौलाको उपचार गर्दागर्दै उनको कम्मरको हड्डी खिइएपछि उनलाई बस्नसमेत समस्या रहेको श्रीमती भट्टराई सुनाउँछन् । चिकित्सकहरुले त पाल्पालीको कम्मरको हड्डीसमेत प्रत्यारोपण गर्न सुझाएको उनी सम्झन्छन् ।
‘मृगौला फेर्न त सकिएको छैन’, उनले भनिन्, ‘कहाँबाट कम्मरको हड्डी प्रत्यारोपण गर्नू ।’

उनका अनुसार पाल्पालीलाई अहिले हप्तामा तीन दिन डाइलासिस गर्नुपर्छ । चिकित्सकहरुको सल्लाहअनुसार सीएपीडी विधिअनुसार उनको जस्ताको टहरामै डाइलासिस हुँदै आएको छ । तर लकडाउनको कारण सीएपीडी डाइलासिस गर्ने औषधि अभाव भइरहेको भट्टराईले दुःखेसो पोखिन् ।
उनका अनुसार पाल्पालीको उपचार तथा पोषण र घर व्यवहार धान्न करिब मासिक २० हजार रुपैयाँ खर्च हुँदै आएको छ । उनलाई ऋणमाथि ऋण थपिँदै आएको छ तर लकडाउनले काम गर्न कतै निस्किन नपाएको भन्दै उनले दुःखेसो पोखिन् ।

लकडाउनकै कारण बच्चाबच्चीले भोकै सुत्नुपर्ने अवस्था आएकाले उनले सहयोगको लागि अपिल गरेकी छन् । ‘मैले जसोतसो पत्रकार पाल्पालीलाई अहिलेसम्म बचाउँदै आएकी छु । बालबच्चा हुर्काउँदै आएकी छु’, भट्टराईले हात जोड्दै आग्रह गरिन्, ‘तर अहिले म आफै मधुमेहले कमजोर भएकी छु । पत्रकार पाल्पाली जीवनमरणको दोसाँधमा छन् । छोराछोरी भोकै बस्नुपर्ने अवस्था आएको छ । त्यसैले पत्रकार पाल्पाली र उनका घरपरिवारको जीवनरक्षाको लागि सहयोग गर्न हार्दिक अपील गर्दछु ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.