अछाममा लकडाउन उलंघन : एकैदिन भित्रिए ६५ जना
अछाम : गृहमन्त्रालयले लकडाउनमा कडाई गर्न सुरक्षा निकाय र प्रशासनलाई परिपत्र गरेकै दिन जिल्लामा बाहिरबाट ६५ जना भित्रिएका छन् । डोटी र अछामको सीमाना चौखुट्टेमा रोकिएका ६१ जनालाई सोमबार जिल्ला भित्र्याइएको हो भने मंगलबार मात्रै धनगढीबाट चारजना आएका छन्।
लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारी आवतजावतमा पूर्णरुपमा रोक लगाउन निर्देशन दिएको हो ।
तर, त्यसको उलंघन गर्दै काठमाडौं, धनगढी, महेन्द्रनगर,टिकापुरलगायत विभिन्न ठाउँबाट आएका ६५ जना जिल्ला भित्रिएका छन् । उनीहरुमध्ये १६ जना बाजुरा जाने बसमा र ४९ जना अछामको बसमा आएका हुन् । चार जना बा १५ च २६४ नम्बरको स्कोरपियोमा मंगलबार बिहान आएको चौखुट्टे प्रहरी चौकीले जानकारी दिएको छ ।
जिल्लाका ९ वटा स्थानीय तहका ६१ जनालाई सम्बन्धित स्थानीय सरकारले क्वारेन्टाइनमा राख्ने प्रतिवद्धता जनाएपछि जिल्ला भित्रिन दिएको जिल्ला प्रहरी कार्यालय अछाममा प्रमुख प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिए ।
उनले भने, '६१ जना आइतबार चौखुट्टेमा रोकिएका थिए,फर्काउन पनी नमिल्ने भएपछि सम्बन्धित स्थानीय तहको जिम्मा लगाएका छौं।'
लकडाउनमा कडाई गर्दागर्दै पनि केन्द्रबाट नै पठाइएका गाडी भएका कारणले रोक्न र नाकाबाटै फर्काउन नसकिएको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले बताए ।
६५ जना मध्ये सबैभन्दा बढी वान्नीगढी जयगढ गाउँपालिकाका २२ जना, कमलबजार नगरपालिका, ढकारी र तूर्माखाँद गाउँपालिकाका ९ जना,साँफेबगर नगरपालिकाका १२ जना, चौरपाटी गाउँपालिकाका ३ जना, रामारोशन गाउँपालिकाका ८ जना, मंगलसैन नगरपालिकाका ९ जना र मेल्लेख गाउँपालिकाका ३ जना रहेका छन् । सबैलाई स्थानीय तहले बनाएको क्वारेन्टाइनमा राख्ने स्थानीय तहका प्रमुखले बताएका छन् ।