स्वास्थ्य परीक्षण नगरी गाउँमा

स्वास्थ्य परीक्षण नगरी गाउँमा

कुश्मा : कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणका लागि लकडाउन भएको एक महिना बितिसकेको छ । सरकारले फेरि वैशाख २५ गतेसम्मका लागि लक डाउन घोषणा गरेपछि अन्तरजिल्ला, अन्तरपालिका आवतजावतलाई कडाइ गरिरहेको छ । अझै सोमबारदेखि उद्धारमा समेत रोक लगायत र बिना पासका सवारीसाधनमा रोक लगाउन गृह मन्त्रालयले निर्देशन दिइसकेको छ । 

यस्तो अवस्थामा पनि पर्वत भित्रिने यात्रुको संख्या घटेको छैन । मंगलबारसम्म धौलागिरिको प्रवेशद्वारा डिमुवा नाकाबाट लक डाउनपछि ६ हजारभन्दा बढी यात्रु भित्रिएका छन् । पोखरा बागलुङ राजमार्ग हुँदै पर्वत लगाएतका जिल्लाहरुमा मानिसहरु भित्रिने संख्या बढेको छ । लकडाउनको अवधिमा ६ हजारभन्दा बढी यात्रु भित्रिएका छन् । पर्वतको मोदी गाउँपालिकाले स्थापना गरेको हेल्प डेस्कले दिएको जानकारी अनुसार लकडाउन सुरु भएको चैत ११ गतेदेखि मंगलबार बिहानसम्म ६ हजार ५ सय ४४ जना मानिस प्रवेश गरेका छन् । ती मध्ये झण्डै १ हजार पाँच सय पर्वतका मात्रै हुन् । 

डिमुवा नाकामा जिल्ला भित्रिनेहरुको तथ्यांक राख्ने गरिएको छ । डेस्कमा खटिएका मोदी गाउँपालिकाका स्वास्थ्य संयोजक उमेश अधिकारीका अनुसार पछिल्लो एक साताको अवधिमा एक हजार जना पर्वतका नागरिक सवारीसाधान मार्फत भित्रिएका छन् । काठमाडौं, पोखरा, चितवन, बुटवल लगायतका शहरमा बस्नेहरु लकडाउन लम्बिँदै गएपछि धमाधम घर फर्किन थालेका अधिकारीले बताए । जनप्रतिनिधि, सांसदहरु र विभिन्न सामाजिक अभियान्ताहरुले अलपत्र सर्वसाधारणहरुलाई उद्धार गरी जिल्ला भित्रयाइरहेका छन् । 

लामो समयसम्म बजारमा बेखर्ची बस्नुपर्दा समस्या भएका नागरिक गाउँ फर्किन पाउँदा खुशी छन् । तर, जिल्लामा भित्रिनेहरु स्वास्थ्य परीक्षण बिना नै धमाधम गाउँ गइरहेको पाइएको छ । 

डिमुवा नाकामा थर्मल गनमार्फत सामान्य ज्वरो परीक्षण भए पनि र्‍यापिड टेष्ट लगायत अन्य परीक्षण हुन नसक्दा ग्रामीण क्षेत्रमा संक्रमणको जोखिम बढेर गएको छ । गन्तव्यमा जानेहरु बिनारोकतोक सोझै गाउँ फर्किने गरेका छन् । स्थानीय तहलाई गाउँ फर्किनेलाई अनिवार्य क्वारेण्टाइनमा राख्न भनेको छ । तर, स्थानीय तहले उनीहरुलाई क्वारेण्टाइनमा राख्न सकेका नसकेको गुनासो गरेका छन् । 

आइतबार र सोमबार मात्रै राजधानी काठमाडौं, चितवनसहित विभिन्न शहरबाट बस रिजर्भ गरेर झण्डै एक हजार जनाको संख्यामा मानिस भित्रिएको डिमुवामा रहेको हेल्थ डेस्कले जनाएको छ । 

विभिन्न सांसद तथा नेताहरूले उनीहरूलाई बस रिजर्भ गरेर पठाएको बताइएको छ । जिल्ला भित्रिएकाहरू अधिकांश ग्रामीण बस्तीका छन् । कुश्मा नगरपालिकाले पनि झन्डै डेढ सय मजदुरलाई गन्तव्य पठाएको छ । पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार तराईका जिल्लाबाट आएकाहरुलाई अनिवार्यरुपमा क्वारेन्टाइनमा राख्न पालिकाहरुलाई अनुरोध गरिएको र सोहिअनुसार स्थानीय तहले व्यवस्थापन गरेका छन् । राजधानी लगायत अन्य शहरहरुबाट आएकाहरुलाई ज्वरो चेकजाँच गरेर कुनै लक्षण नभएमा सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको पौडेलले बताए । जिल्ला प्रशासन कार्यालयका अनुसार अहिले पर्वतमा २३ जना क्वारेन्टाइनमा रहेका छन् भने २ जना आइसोलेशनमा छन् । 

जिल्लाको जलजलामा ६, पैंयुमा ६, फलेवासमा २, महाशीलामा ९ जना क्वारेन्टाइमा रहेका छन् । तीमध्ये ६ जना तराई क्षेत्रबाट आएका हुन् भने अन्य विभिन्न जिल्लाबाट आएका हुन् । त्यस्तै भारतबाट आएकाको सम्पर्कमा रहेका फलेवास नगरपालिका वडा नं. ३ का एक दम्पत्ती पर्वतको अस्थायी कोरोना अस्पतालमा आइसोलेशनमा छन् ।

 ज्वरो र खोजी जस्ता लक्षण देखिएपछि उनीहरुलाई आइसोलेशनमा राखिएको पर्वत जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले जानकारी दिए । उनीहरुको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर पोखरा पठाइएको र भोलि रिपोर्ट आउने डा. देवकोटाले जानकारी दिए । 

पर्वत अस्पतालका विशेषज्ञ डाक्टर विष्णु भण्डारी पनि अब होम क्वारेन्टाइनमा बस्ने बाहेक अन्य विकल्प नभएको बताए । गाउँमा आएकालाई २१ दिनसम्म घरमा नै बस्नका लागि प्रेरित गर्ने, स्वास्थ्य संस्थामा नजाने, वरपर घुम्न नदिने र घरमै सुरक्षित बस्ने वातावरण बनाउनुपर्ने डा. भण्डारीको सुझाब छ । गाउँमा स्वास्थ्यकर्मी समेत संक्रमित हुने जोखिम बढेको कारण सानो तिनो समस्यामा स्वास्थ्य संस्था नजान उनको आग्रह छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.