रोगभन्दा भोकको चिन्ता !
कोभिड—१९ को प्रभाव नेपालले मात्र नभएर विश्वका प्रायजसो सबै मुलुकले भोग्नुपरेको हुँदा अबको भविष्य आर्थिक मन्दीले सताउने त होइन भन्नेतिर सरकार सजग भएर कार्ययोजना र दीर्घकालीन योजनामा लाग्नुपर्छ। जनता त घरभित्र लकडाउनको पालना गरेर बसिदिए पुग्छ, जनताको तर्फबाट स्वास्थ्य र सुरक्षामा ध्यान दिएर सरकारलाई सघाउनुबाहेक अरू विकल्प रहेन। स्थिति हेरी कति जनतालाई बिहान-बेलुकाको छाक जुटाउनु नै धौधौ छ भने, सानोतिनो व्यापारबाट दैनिकी चलाउने, छोराछोरी पढाउनेको अवस्था अरू दयनीय बन्दैछ। रोजगारीकै निम्ति विदेश पलायन भएका नेपाली पनि स्वदेश फर्किने स्थिति देखिएको छ। अबको भविष्यमा नेपाल मात्रै नभएर विश्वमै एक किसिमको आर्थिक मन्दी हुने हो कि भन्ने आशंका छ। यो अवस्थामा नेपालले पनि समयमै रोजगारी सिर्जनाका अवसर र कृषि उत्पादन एवं औद्योगिकरण बारेमा योजना नबनाउने हो भने स्थिति भयावह नहोला भन्न सकिन्न।
विकसित राष्ट्रहरूले समेत यो स्थिति सामान्य भएपछि आफ्नो राष्ट्रको अर्थतन्त्रमा धेरै ह्रास आउने आँकडा निकालेका छन् भने नेपालले हिम्मत नहारी आफ्नो कृषिजन्य भूमिलाई सतप्रतिशत प्रयोग गरी कृषिमा आत्मनिर्भर रहने प्रयास गर्ने हो भने त्यति धेरै आत्तिई हाल्नुपर्ने अवस्था आउँदैन। हाम्रो भूगोल, तराई,पहाड हिमाल, यहाँको खेतीयोग्य जमिनको विविधता, उब्जनी हुने खाद्यान्न, फलफूललगायतका बाली, विविध औषधिलगायतका उपभोग्य वस्तुको प्रचुर सम्भावना रहेका जडिबुटीको पहिचान र प्रयोग गर्न सकेमा स्थिति फरक हुनेछ। तर, यस्तो अवस्थामा पनि सरकारको तर्फबाट यथासक्य पहल नभएको, भावी योजना बारेमा नसोचिएको र अनुदानको रूपमा पाँच केजी चामल र आधा लिटर तेल अनि एक केजी दालले झारा टारेको देख्दा छिट्टै नै भोकमरी आउने हो कि भन्ने अनुमान गर्न सकिन्छ। लकडाउनको एक महिना नबित्दै देखिएका अनेक अभावले बताइरहेको छ, सरकार गम्भीर बनेको छैन। जनताको दैनिकी गुजाराको समस्या, स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा उपकरणको अभाव, सुरक्षाकर्मीको सुरक्षाबारे अनभिज्ञता लगायतका स्थिति देख्दा राष्ट्रको भविष्यबारे चिन्ता बढ्नु स्वाभाविक मानिन्छ।
देशमा आर्थिक मन्दी र भोकमरीको चिन्ता बढिरहेको बेला सत्ताारुढ दल भने दुई अध्यादेश (फिर्ता भइसकेका) बाट सिर्जित समस्याबाट ग्रस्त बनेको छ। सत्ताारुढ दलले नै मानवीय संवेदनाको ख्यालै नगरी राजनीतिक भागबन्डा र स्वार्थको राजनीतिलाई प्र श्रय दिनुले आमनागरिकप्रति ऊप्रतिको विश्वास क्रमशः टुट्दै गएको छ।
विदेशिएका नेपाली आफ्नो रोजगारी गुमाई देश फर्कने अवस्थामा छन्। विदेशमा बाँकी रहेका नेपालीले पनि अब रेमिट्यान्समार्फत् सहयोग गर्न नसक्ने अवस्था आउन सक्छ। यता, खेतीयोग्य जमिन बाँझो छन्। स्वदेश फर्केकालाई रोजगारी सिर्जना गर्न कृषि उद्योगको विकास गर्नु जरूरी देखिन्छ। युवा श्रम र ऊर्जा देशकै माटोमा प्रयोग होस् भन्ने सोचाइसहितको कार्य योजना बन्नुपर्छ। विकास बजेटमार्फत् कृषि क्षेत्रलाई बढावा गर्न सकेको स्थिति छैन। यसको अर्थ हो कृषि क्षेत्रको महत्तव देखेको छैन र यसबारेमा दूरगामी सोचाइ नै छैन। कृषकलाई प्रोत्सान गर्ने गरी सस्तो ब्याज दरको ऋण सहुलियत, अनुदान र सम्मान दिने प्रचलन नै छैन। कृषि क्षेत्रमार्फत नै अनेकौं कलकारखाना, उद्योग खोलेर रोजगारी सिर्जनाको अवसर मिल्ने, आम्दानी बढ्ने र सस्तो उत्पादन जनताले उपभोग गर्न पाउनेछन् भन्ने सोचाइअनुरूपको कार्य योजना बनेकै छैन। कृषि क्षेत्रको बढावासँगै उत्पादनका लागि बीउबिजन, कृषि सामग्री, उत्पादनपछि बजार व्यवस्थापन, किसानलाई उनीहरूको श्रमको उचित मूल्य, बिचौलियाको न्यूनीकरणलगायतका विषयमा धेरै गृहकार्य गर्नुपर्नेछ सरकारको तर्फबाट।
औद्योगिक नीति, असल कृषि अभ्यास, गुणस्तरीय खाद्यान्न, पोषण, कृषि सूचना तथा प्रविधिको विकास, मूल्य शृंखला, पूर्वाधारको विकास सबैलाई समेटेर नयाँ नीति ल्याइनु अथवा भएका नीतिहरूमा सुधार र परिमार्जनको खाँचो देखिन्छ। विज्ञहरूसँगको सल्लाह र सहयोग लिएर व्यवस्थापनमा जोड दिनुपर्ने देखिन्छ। सरकार ! धेरै कार्यमा गृहकार्य जरूरी छ तिम्रो, यो समयलाई अवसरमा बदल्नको लागि। पशुपालन, डेरी उद्योग, फलफूल एवं जडिबुटीको प्रशोधन लगायतका धेरै क्षेत्र छन् जसमा वेरोजगार मानवीय स्रोतलाई भरपुर उपयोग गर्न सकिन्छ।
नागरिक समाजसँग सहयोग लिएर, समन्वय गरेर, राष्ट्रिय बहसद्वारा विपत्लाई अवसरमा परिणत गर्नुपर्ने अवस्थामा नागरिकलाई असन्तुष्टि बनाउने कार्य गर्दा भविष्यमा मूल्यांकन कसरी होला ? बाँचौं र बचाऔंको स्थितिमा राजनीतिक स्वार्थलाई अगाडि सारेर दम्भ प्रस्तुत गर्नु किन्चित बुद्घिमानी हुँदैन। दम्भ के हो ? यो परिस्थितिमा ? मानिस सम्पूर्ण भौतिक सुविधाबाट हार खाएर कोरोनाको त्रासमा घरभित्र थुनिन बाध्य छ। अस्तित्वले कति चुनौती आँखासामु ल्याएर परीक्षा लिइरहेको छ। चुनौतीलाई अवसरमा परिणत गरेर देखाऊ मानिस भनेर चेतावनी दिँदै जागृत गराउन प्रयास गरेको छ।
अब आफ्नो दम्भको प्रस्तुति मात्र होइन अस्तित्वको खेल बुझ्ने बेला पनि आएको छ। संसार टक्क रोकिएको छ, जनावर, चराचुरुंगी बाहिर स्वछन्द डुलिरहेछन्, मानिस घरभित्र थुनिएर बाहिर चियाउनु परेको छ। प्रकृति आफ्नो समयमा उदाउने, अस्ताउने, फक्रिने, फुल्ने गरेको छ। आफ्नो स्वच्छतामा स्वास फेर्दै मानिस तिमीहरूको आक्रान्तबाट बाँचेका छौं हामी भनेर खिसिट्युरी गरेको छ। पासपोर्ट कार्यालयको भीड, रेस्टुराँका जंकफुड, सवारीको चाप, भागदौडको जीवनबाट पर धकेलेर वर्तमानमा बाँच तर भविष्यको सोच भनेर परिस्थितिले अट्टहास गरेको छ।
कसैलाई लुटेर, अन्यायमा पारेर के पुरुषार्थ ? मानवीयताको अस्त्रले हृदयले, प्रेमले, करूणाले मानवमाथि विजय प्राप्त गरेर देखाऊ न ! हो, यही अवसरलाई सार्थक पार्न यो समयले धेरै ज्ञान दिएको छ। घरभित्र बसेर तिमीलाई सहयोग गरेका जनताको भावनालाई कदर गरी अबको भविष्य सुन्दर र उपलब्धिमूलक बनाउन तिमी गृहकार्यमा लाग सरकार ! रोगले भन्दा भोकले मर्ने स्थितिबाट बचाऊ। गरिबी, भोकमरी, आर्थिक मन्दीबाट मुक्त राख्ने उपायका बारेमा योजना बनाऊ र योजनामुताविक अगाडि बढ, जनता तिमीलाई साथ दिन तयार छन् सरकार !