गाउँ फर्किएकालाई सबैलाई 'कबुलियतनामा'
ओखलढुंगा : सुनकोसी गाउँपालिकाले गाउँ फर्किएका सबैलाई 'पूर्वशर्त' पालन गर्नैपर्ने व्यवस्था गरेको छ। गाउँपालिकाले काठमाडौंमा रहेका ५ सय २७ नागरिकलाई कबुलियतनामा गराएर घर ल्याएको थियो।
घर फर्किनेले अनिवार्य होम क्वारेन्टाइनमा बस्नु पर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु पर्ने गाउँ घुक्न नपाउने र समस्या भएमा तत्काल स्वास्थ्यकर्मीको सम्पर्कमा जानुपर्ने कबुलियतनामा गराइएको छ। सबैलाई शर्त पालन गर्न राजी छु भनेर सही गरेपछि मात्रै घर ल्याइएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए। उनले भने 'सबैलाई क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्न कठिन छ। उनीहरुलाई शर्त पालना गर्ने गरि कागजमै सही गराएर जिम्मेवार बनाउन खोजिएको हो।'
गाउँपालिकाले मंगलबारसम्म ५२७ जनालाई बस रिर्जभ गरेर घर पुर्याएको छ। उनीहरुलाई गाउँपालिकाले कबुलियतनामा गरे अनुसार नियम पालना गरे नगरेको बारे निगरानी गर्ने जनाएको छ। गाउँपालिकाको रिर्जभ बसमा एक सिट, एक ब्यक्ति राखेर, माक्स, पञ्जा सेनिटाइजर पानी तथा जुस बसमै व्यवस्थापन गरेर गाउँ ल्याइएको हो। स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गरेर गाउँ फर्किएकालाई घर पुर्याइएको उक्त अभियानमा खटेका वडा-९ का अध्यक्ष झनक कार्कीले बताए। कबुलियतनामा र अभिमूखिकरण गरेर घर पठाइएकाले उनीहरुले नियम पालन गर्ने हुँदा गाउँले त्रसिन हुन नपर्ने कार्कीको भनाइ छ।
गाउँ फर्किएका व्यक्ति घर, नबसी हिडहुल गर्ने र उनीहरुको स्वास्थ्य परिक्षण समेत नभएकाले स्स्थानीयमा त्रास बढेको छ। सुनकोसीले कबुलियतनामा गराएको, मोलुङ र मानेभञ्ज्याङले स्वास्थ्य परिक्षण गराए पनि अन्य तहले स्वास्थ्य परिक्षण नै नगरि गाउँ ल्याएका छन्। यसरी ६ हजार हाराहारी काठमाण्डौं र इटहरीबाट गाउँ आएका छन्। सिद्धिचरण नगरपालिकाले भने बसबाट झर्ने साथ चेकजाँच गर्न थालेको जनाएको छ।