गरिब तथा विपन्न मजदुरलाई तयारी खाना
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका २ दुवाकोटमा सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्न नपाएका गरिब तथा विपन्न मजदुरलाई तयारी खाना वितरण गरिएको छ । चाँगुनारायण नपा २ वडा कार्यालयको समन्वयमा नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखा तथा सहयोग संस्था भक्तपुरले करिब पाँचसय मजदुरलाई दैनिक रुपमा एकछाक तयारी खाना निःशुल्क वितरण गर्दै आएको हो ।
यसरी वितरण गर्ने खानाको व्यवस्थापन गर्न दैनिक बीसजनाभन्दा बढी स्वयंसेवक खटिएका छन् । उनीहरुले स्थानीय रितम्बरा स्कुलमा खाना तथा तरकारीलगायत पकाउने व्यवस्था गरेका छन् । जहाँ एउटा समूहले तरकारी तथा अचारका सामग्री काटकुट गर्ने, चामल पखाल्ने, दाल भिजाएर पकाउने काम गर्छ । उक्त समूहले खानाका सम्पूर्ण परिकार तयार गरेपछि अर्को समूह आएर त्यसको प्याकिङ गर्छ । यसरी प्याक भएको खाना अर्को समूह आएर वडाभित्रका टोलटोल तथा बस्तीबस्ती पुगेर वितरण गर्ने गर्दै आएको छ ।
खाना स्वस्थकर भएकाले खाना खाने दैनिक ज्यालादारी गरेर खानुपर्ने गरिब तथा विपन्न मजदुर परिवारहरुको संख्या दिनानुदिन बढिरहेको चाँगुनारायण नपा २ का वडा अध्यक्ष शिवहरि केसीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले उपलब्ध गराएको खाद्यान्न राहत नपुगेका गरिब तथा विपन्न मजदुर परिवारलाई गएको वैशाख १० गतेदेखि निःशुल्क खाना वितरण गर्ने व्यवस्था गरिएको हो ।
उनले नपाले उपलब्ध गराएको खाद्यान्न राहत वडाका एक हजार पचास जना दैनिक ज्यालादारी गरेर खानुपर्ने गरिब तथा विपन्न मजदुर परिवारलाई वितरण गरिएको सुनाए । पछि थप पाँचसयभन्दा बढीले आफूहरुले पनि राहत पाउनुपर्ने निवेदन वडामा दिएपछि उनीहरुको लागि नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखा र भक्तपुरस्थित सहयोग संस्था मिलेर बेलुकाका एक छाक निःशुल्क खाना वितरण गरिइको उनको भनइ थियो ।
सुरुमा दैनिक एकसय ८० जनालाई वितरण गरिएको निःशुल्क खाना मंगलबारसम्ममा पाँचसय पुगेको नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाका सभापति एवं चाँगुनारायण नपा २ वडाका सदस्य सोम प्रधानले जानकारी दिए । उनका अनुसार दैनिक रुपमा खाना वितरण गरिएपछि स्थानीय वडावासीले आफ्नो गच्छेअनुसार दाल, चामल तथा तरकारी सहयोग गर्न थालेका छन् । त्यस्तै समूहलाई आवश्यक काममा सघाउनेहरु पनि बढेका छन् ।
‘निःशुल्क खाना वितरण गर्न थालेपछि सहयोग गर्ने हातहरु बढेका छन्’, सभापति प्रधानले थपे, ‘सहयोगीहरुले फोन गरी गरी सहयोग लिन आउन आग्रह गरिरहेका छन् ।’
उनका अनुसार निःशुल्क खाना वितरण गर्न विदेशमा बस्ने नेपालीहरुले समेत सहयोग गरेका छन् । जसअनुसार बुधबारको खाना तयार गर्न लाग्ने सम्पूर्ण खर्च संयुक्त राज्य अमेरिका बस्ने कुमारप्रसाद शर्माले व्यहोरेको सभापति प्रधानले जानकारी दिए ।
त्यस्तै सहयोग संस्थाका अध्यक्ष राजाराम सुवालले बैशाख १५ सम्ममात्रै खाना खुवाउने योजना रहेकोमा सरकारले लकडाउनको समयावधि बढाएकोले १८ गतेसम्मलाई व्यवस्था मिलाइएको बताए ।
उनले सहयोगी हातहरु भने वैशाख २५ गतेसम्म निःशुल्क खाना वितरण गरिने सुनाए ।
निःशुल्क खाना तयारी गर्न स्वयंसेवकहरु दिनको १२ बजेदेखि ऋतम्बरा स्कुलमा भेला हुन्छन् । त्यहाँ पुगेकाहरुमध्ये कसैले तरकारी केलाउने, कसैले चामल भिजाउने, कसैले आगो बाल्ने काम थाल्छन् । जसै खाना तयार हुन्छ उक्त टोलीलाई विस्थापन गर्न अर्को टोली आएर दिउँसो चार बजेभित्र तयारी खानाको प्याकेज बनाउँछन् । उनीहरुले खानाको प्याकेज तयारी गर्दै वडाका टोलटोलमा वितरण गर्न जाने टोली आइपुग्छ । टोलीले तयारी खाना लिएर साँझ ७ बजेभित्र सबै तयारी खाना वितरण गरिसक्ने दुवाकोट रेडक्रसका सभापति प्रधानले सुनाए ।
वडा अध्यक्ष केसीले नपाले दोस्रो चरणमा मजदुरलाई खाद्यान्न तथा खाना वितरण नगरी दैनिक ज्यालादारीको काम नै दिने निर्णय गरेको सुनाए । त्यसको लागि वैशाख २० गतेभित्र दैनिक ज्यालादारीमा काम गर्नेहरुको नाम टिपाउने वडा कार्यालयहरुले सूचना जारी गरिसकेका छन् । नपाले दिएको काम गर्ने मजदुरलाई दैनिक ज्याला आठसय १० रुपैयाँ दिने निर्णय गरेको छ ।