कैलालीबाट हिँडेरै बाजुरा
बाजुरा : सरकारले लकडाउनको समय बढाउँदै गएपछि पछिल्लो समय घर फर्कनेहरु बढिरहेका छन्। बाजुरा जिल्ला भित्रिने र बाहिर जाने क्रम बढिरहेको छ। बाजुरामा ज्याला मजदुरी तथा कामका लागि आएकाहरु पनि जिल्ला बाहिर गइरहेका छन्।
गाडी भाडा तिर्नका लागि पैसा नभएपछि कैलालीका १४ जना मजदुर बाजुराबाट पैदलै कैलाली जान हिँडेका छन्। सदरमुकाम मार्तडीमा रहेका बिभिन्न विकासे आयोजनामा काम गर्न आएका कैलालीका विभिन्न स्थानीय तहका १४ जना हिँडेर कैलालीको बडदगरिया गाउँपालिका वीरेन्द्र कठायतले बताएका छन्। आफुहरुसँग एक जनासँग ३ सयसम्म पनि पैसा नभएपछि चाउचाउ खाएर भएपनि घर जान थालेको उनले बताएका छन्।
सोमबार राति बाजुराबाट कैलालीका लागि हिँडेको बुधबार दिउँसो अछाम र बाजुराको सिमाना पुगेको बताएका छन्। 'राति १ घण्टा बाटोमा आराम गर्ने गरेका छौं' उनले 'रात दिन लगाएर हिँडेका हौं। बाजुरामा प्रमुख जिल्ला अधिकारीलाई पास माग्दा गाडी खोज्नुहोस पास दिन्छु भनेको हो।' गाडी रिजर्भ गर्नलाई पैसा नभए पछि हिँडेर कैलाली घर गएको उनले बताए। खल्तिमा एक जनाको अहिले दुई तीन सयभन्दा बढि नरहेको भोकभोकै भए पनि घर पुग्ने गरि गएको उनीहरुले बताएका छन्। अछाम पुगेपछि बाजुरामा मान्छे पुर्याएर आएको बस फिर्ता गएको तर प्रहरीले पासबिना गाडिमा चढन नदिएको उनीहरुले बताए।
प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले भने 'पास बनाई दिन्छु। भनेको हो उनिहरुले पैसा नभएको भनेपछि उनीहरु हिँडेर गए। आफुले त भनेको हुँ कोही गाडी आएमा त्यसैमा हालेर पठाई दिन्छु भनेको हो पैसा छैन् भनेपछि उनीहरु गए।'