क्वारेन्टाइनमा कुहिएको चामल
बाजुरा : बाजुराको त्रिशक्ती माबिको क्वारेनटाइनमा बसेकालाई म्याद सकिएको चामल दिएको पाइएको छ । चामलको उत्पादन मिति सन् २०१७ को दोस्रो महिना रहेको छ । उत्पादन भएको १ वर्षसम्म म्याद भए पनि त्रिशक्ती क्वारेनटाइनमा भने अहिले उक्त चामल खानलाई दिएको क्वारेनटाइनमा बसेका शिक्षक हिरेन्द्र कुवरले बताए । 'हामी बसेको १२ दिन भयो तर त्यहि चामल खाइरहेका रहेछौँ, बल्ल थाहा पायौँ ', कुवरले बताए ।
'म्याद सकिएको चामल दिएको रहेछ, दुई तिन जना त खाना खाने बितिकै बान्ता गरेका थिए', क्वारेनटाइनमा बसेका अर्का दिनेश जोशीले भने । पकाउँदा पनि भात कालो भएको उनले बताएका छन् । 'पछि चामल हेर्दा त मिति सकिएको पाइएको छ', हिरेन्द्र कुवरले भने, 'हामी त सधैँ खाइरहेका थियौँ, तर म्याद हेरेनौँ पछि क्वारेनटाइनमा बस्न अर्को समुह आएपछि उनीहरुले हेरेपछि मात्र थाहा पाएकका हौं।'
'हामी मंगलबार साँझ आएका थियौँ, चामल दियो, त्यो बेला मिति हेरेनौँ, चामल खाने बितिकै दुई तीन जनाले बान्ता गरेका थिए, बिहान हेर्दा त मिति सकिएको चामल दिएको थाहा पायौं', दिनेश जोशीले बताए। चामलको बोरामा २०१७ को मिति लेखिएको भए पनि मार्करले २०२० लेखिएको भिष्मराज जैशीले बताउँछन् । १८ जनाको समुह एकै कोठामा १६ गतेदेखि बसाएको र १८ जनालाई दुई सिरक र तीन कम्मल भएकव् उनले बताए। बत्ति वाइरिङ गरेको बल्ब माग्दासमेत नदिएको जैशीले बताए ।
स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई खबर गरेको कसैले पनि वास्था नगरेको उनको भनाइ छ ।
वडा अध्यक्ष भरत थापाले पनि चामल म्याद सकिएको स्वीकार गरेका छन् । 'हामीले सुनिल बानियाँबाट चामल खरिद गरेका हौँ, मिति हेरेनौँ पछि क्वरोनटाइनमा बस्नेले थाहा पाएपछि मिति सकिएको रहेछ', उनले भने । मिति सकिएको थाहा पाँउने बितिकै चामल फिर्ता गरेर नयाँ चामल दिएको थापाले बताएका छन् ।
ब्यापारी सुनिल बानियाले पनि बेतालमाण्डौ रहेका ब्यापारी मानबहादुर धामीबाट खरिद गरेर ल्याएको वडा अध्यक्षले बताएका छन् ।
नगरपालिका नगरप्रमुख दिपकबिक्रम शाहले भने म्याद सकिएको पाइएको बताएका छन् । यसरी कालोबजारी गर्नेलाई कारवाही गर्ने बताएका छन् । प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले यो बारेमा कुनै जानकारी नभएको बताएका छन् । क्वारेनटाइनको अनुगमन गर्नुपर्ने भए पनि बाजुराका कुनै पनि क्वारेनटाइनमा अनुगमन भएका छैनन् । जिल्लामा १८ क्वारेनटाइनमा २ सय ३९ जना बसिरहेका छन् ।