अन्‍नपूर्ण पोस्ट १९ औं वर्षमा : हाम्रो अविचलित यात्रा

अन्‍नपूर्ण पोस्ट १९ औं वर्षमा :  हाम्रो अविचलित यात्रा

अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक आजबाट १८ वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ। हाम्रो यो यात्राका क्रममा मुलुकमा अनेकौं आरोह-अवरोह उत्पन्न भए। जतिसुकै जटिल परिस्थितिमा पनि हामी आफ्नो कर्म र दायित्वबाट विचलित भएका छैनौं। विगतको यो अनुभवले हामीलाई भावी यात्रा तय गर्न थप हौसला प्रदान गरेको छ।

हरेक वर्ष वार्षिकोत्सवका अवसरमा तपाईंहरूसमक्ष ‘विशेष विशेषांक’सहित प्रस्तुत हुन्थ्यौं। कोभिड-१९ महाविपत्तिका कारण विशेषांकसहित उपस्थित हुन परिस्थितिले साथ दिएन। हामी यो परिस्थिति सहज हुनासाथ विशेषांकसहित अझ परिष्कृत रूपमा तपाईंहरूमाझ आउनेछौं। यद्यपि, हामी महाविपत्तिबीच पनि पाठक तथा श्रोतालाई तथ्यपरक सूचना र विश्लेषणयुक्त सामग्री पस्कन निरन्तर खटिरहेका छौं। संकटको यो घडीमा निरन्तर खटिरहने विश्वास दिलाउन चाहन्छौं। महाविपत्तिबाट जोगिन जारी ‘लकडाउन’सँगै बजार बन्द हुँदा अन्नपूर्ण पोस्ट् आमपाठकले सहज रूपमा पाउन सक्नुभएको छैन। यद्यपि, ग्राहकलाई घर-घरमा पत्रिका पुर्‍याउने प्रयत्न गरिरहेका छौं।

नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालि (थ्रीएनआई)अन्तर्गतको अन्नपूर्ण मिडिया नेटवर्क पत्रकारिताको मूल्य, मान्यता, आदर्श र जिम्मेवारीबोधसहितको यात्रामा छ। हाम्रो मूलभूत मान्यता सत्य-तथ्य समाचार प्रवाह गर्ने, राष्ट्रिय/अन्तर्राष्ट्रिय विविध विचारलाई स्थान दिँदै परिवर्तित समयअनुरूप परिष्कृत पत्रकारिता गर्नु हो। लोकतान्त्रिक पद्धति, विधिको शासन, संघीयता, राष्ट्रिय स्वाधीनता र भ्रष्टाचाररहित समाज निर्माणमा खट्नु हाम्रो दायित्व हो।

हामीले लामो समयसम्म राजनीतिक अस्थिरता बेहोर्नुपरेको जगजाहेर छ। संक्रमणकालीन चरित्र नेपालको नियति बन्यो। २०७२ को नयाँ संविधान र त्यसपछि दुईतिहाइ मतमा सरकार निर्माण भएसँगै स्थायित्व, शान्ति र समृद्धिको यात्रामा मुलुक अघि बढ्छ भन्ने आमविश्वास थियो। नेपालले निरन्तर भोग्दै आएको ‘संक्रमणकालीन चरित्र’ले सदाका निम्ति बिदा पाउनेछ भन्ने विश्वास पनि जगाएको थियो। विडम्बना, कोरोना महामारीबीच सत्तारुढ दल नेकपाभित्र आन्तरिक विवाद चर्किंदै गयो। नेकपाभित्रको कलह-किचलो हेर्दा मुलुक झन् डरलाग्दो संक्रमणकालीन सुरुङमार्गभित्र प्रवेश गर्ने त होइन (? ) भन्ने चिन्ता थपिएको छ। यस्तो संगिन परिस्थितिमा सत्तारुढ दलभित्र उत्पन्न विग्रहको नियति त्यतैतिर मोडिएको आभास हुँदै छ। नागरिकले अढाई वर्षअघि विश्वासका साथ दिएको मतविरुद्ध उभिएमा तिनलाई इतिहासले क्षमा दिनेछैन। अब जनमतको बर्खिलापमा होइन कि घोषित स्थायित्व र समृद्धिका निम्ति स्वार्थ र अहम् त्यागेर अघि बढ्नुको विकल्प छैन।

राजनीतिक दल र राज्य संयन्त्रलाई सही बाटोमा हिँडाउने दायित्व हाम्रो पनि हो। सरकार तथा दलहरू आआफ्नो भूमिकाबाट विचलित भएमा तिनको वास्तविक तस्बिर उजागर गर्ने मामलामा हामी चुक्ने छैनौं। स्वच्छ-स्वस्थ, प्रतिस्पर्धा र सभ्य समाज लोकतन्त्रका आधारशिला हुन्। त्यसनिम्ति सरकारी तथा निजी क्षेत्रका अनुचित क्रियाकलाप, बेथिति-विसंगति खोजबिन गरी तिनलाई जवाफदेही बनाउने हाम्रो प्रयास जारी रहनेछ।

महाभूकम्प र नाकाबन्दीको ठूलो आघात बेहोरेको हाम्रो मुलुक त्यसबाट उठेलगत्तै पुनः कोरोना भाइरस विश्वव्यापी महाव्याधिको चपेटामा परेको छ। जोडबलले उठ्न खोज्नु र धक्का खानु हाम्रो अर्थतन्त्रको ‘नियमित-आकस्मिकता’जस्तै भएको छ। यति खेर हामी मात्र होइन, विश्व अर्थतन्त्र र सामाजिक व्यवहारमा समेत अप्रत्याशित उतारचढावका बादल मडारिएका छन्। विश्व नै ‘अब के हुन्छ ? ’ भन्ने भययुक्त तनावमा छ। स्वाभाविक रूपमा हामी पनि त्यही भयबाट गुज्रिरहेका छौं। त्यसै पनि आर्थिक विकासको मामिलामा हामी धेरै पछाडि थियौं। अझै पनि १८ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ। न्यून आय र अल्पविकसित मुलुकको हाम्रो परिचय यथावत् छ। विकासशील र मध्यम आय भएको मुलुक बन्ने नेपालको प्रयासलाई कोरोना भाइरसको महाव्याधिले पुनः एकपटक धक्का दिएको छ।

मर्यादित र विश्वसनीय पत्रकारिता निम्ति अन्नपूर्ण मिडिया नेटवर्कका सबै माध्यम सक्रिय रहिरहनेछन्। हामीसँग आज ब्रोडसिट दैनिक अन्नपूर्ण पोस्ट्का अतिरिक्त एपीवान एचडी टेलिभिजन, रेडियो अन्नपूर्ण, न्युजपोर्टल अन्नपूर्ण पोस्ट् डटकम, साप्ताहिक अन्नपूर्ण-सम्पूर्ण, अंग्रेजी साप्ताहिक द अन्नपूर्ण एक्सप्रेस र बाल साप्ताहिक अन्नपूर्ण अंकुर छन्। विश्वभरका नेपालीलाई अन्नपूर्ण पोस्ट् डटकमले जोडिरहेको छ। कोभिड-१९ महामारीसँगै लकडाउनका कारण अन्नपूर्ण अंकुर बन्द छ भन्नुपर्दा दुःख लागेको छ।

अन्नपूर्ण पोस्ट्को १८ औं वार्षिकोत्सवको सुखद अवसरमा आमपाठक, लेखक, शुभचिन्तक, विज्ञापनदाता र बिक्रेतामा हार्दिक आभार व्यक्त गर्दछौं। हामीले सधैं यहाँहरूबाट यसरी नै अमूल्य माया पाइरहने आशा गर्छौं। तपाईंहरूको सदाशयताप्रति कृतज्ञता प्रकट गर्दै भावी दिनमा यसरी नै साथ, हौसला र मायाको अपेक्षा गरेका छौं।

क्याप्टेन रामेश्वर थापा

अध्यक्ष, अन्नपूर्ण मिडिया नेटवर्क


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.