१० दिन क्वारेन्टाइन बसेर घर पुगेका बाबुले छोराछोरी भेट्नै पाएनन्

१० दिन क्वारेन्टाइन बसेर घर पुगेका बाबुले छोराछोरी भेट्नै पाएनन्

रोल्पा : विस्फोटमा छोरा र छोरी गुमाएका रोल्पा त्रिवेणी गाउँपालिका-७ गैरीगाउँ मैतेगातिनाका लालबहादुर खत्रीका आँसु थामिएका छैनन्। उनकी पत्नीको हालत पनि उस्तै छ। बिहीबार साँझ उनीहरुका लागि कालो दिन भयो। ११ वर्षीया छोरी विमला र ५ वर्षीय छोरा विजयको विस्फोटमा परेर मृत्यु भयो। काखमा दुई वर्षकी छोरी छन्। 

बाख्रा चराउन जंगल गएका चार बालबालिका साँझ घर फर्किएनन्। १४ वर्षीय छोरा नोखिराम गुमाएका ओजबहादुर डाँगीको परिवार पनि शोकमा डुबेको छ। आमा र छोराछोरी सम्हाल्न धौ धौ परेको छ। त्रिवेणी गाउँपालिका-४ छेपबाट मामाघर आएका १३ वर्षीय गौरव नेपाली सधैका लागि घर नफर्किने गरी बमको छर्रासँगै क्षतविक्षत भए।

गौरवका एउटी दिदी घरमा रहेको बुबा लक्ष्मण नेपाली बताउँछन्। मृत्यु भएका चारैजना बालबालिकाको घरमा मात्र होइन गाउँ पुरै शोकमा डुबेको छ। 

कल्पना नै नगरेको घटनाले गाउँले त्रसितसमेत बनेका छन्। ‘घर नजिकैको गाउँबारीमा रातभर लास लडिरहे, बालबालिकाका बुवाआमा, आफन्त र गाउँले आँसुमा डुविरहेको दृश्य निकैले घटनास्थल पुग्ने जोकोहीको आँखा ओभानो रहेनन्।’, घटनास्थल पुगेका मानवअधिकारवादी संस्थाका हुरेकका संयोजक धरेन्द्र डाँगीले भने।
    
शव उठाउने बेला र घटना स्थलमा फेला परेको नपड्एिको टुईन्च मोर्टारको गोली डिस्पोज नगरुन्जेल घटनास्थलमा पुगेका सबैका आँखा रसाइरहे। बिहानभर आकाश पनि वर्षी रह्यो भने गाउँलेका आँसु पनि बगिरहे। 

मजदुरीमा गएर फर्किएका लालबहादुरले दुई छोराछोरी सग्लो भेट्न पाएनन्। कोरोनोको महामारीका कारण काठमाडौं इँट्टाभट्टामा अलपत्र परेका उनी ऊर्जामन्त्री वर्षमान पुनको टोलीले घर आउन सघाए पनि उनी घर पुग्न सकेका थिएनन्। गाउँ फर्किएकालाई अनिवार्य क्वारेन्टाइनमा बस्नु प¥यो। उनी छिमेकी ह्याङ विद्यालयमा दश दिन क्वारेन्टाइनमा बसे। ‘क्वारेन्टाइनमा दश दिन बसेर दिउँसो चार बजे घर आएँ। घर आउदा छोराछोरी थिएनन्। गोठालो गएका रैछन्।’, लालबहादुरले आँसु पुछ्दै भने, ‘साँझ ६ बजे विस्फोटको आवाज सुनियो। हेर्न जाँदा छोराछोरी क्षतविक्षत देखेँ।’

घटनास्थल नजिकै विस्फोटक पदार्थसमेत भएकाले क्षतविक्षत छोराछोरीको शवलाई समेत सुम्सुम्याउन पाएनन्। ६ महिना अघिदेखि घरबाट टाढा मजदुरीमा गएका उनी परिवारसँग रमाउन पाएनन्। खुशी साट्ने रहर आँसुले पखालियो। पीडित परिवारले घटनाका छानबिन हुनुपर्ने, जंगलमा अरु विस्फोटक पदार्थसमेत हुनसक्ने भएकाले खोजबिन गरिनु पर्ने र उचित क्षतिपूर्तिको माग गरेका छन्।

घटनाले जिल्लाबासी नै स्तब्ध बनेका छन्। ‘विगतको युद्धमा रगत बग्यो’, सबैजसोले सामाजिक संजालमा लेखेका छन्, ‘रोल्पाली अभैm कति रगत बगाउनु पर्ने हो।’ सरकार, सत्ताधारी पार्टी र सत्ताबाहिरका पार्टीले पीडित परिवारलाई उचित क्षतिपूर्र्ति दिनुपर्ने माग गरिएको छ।

अनुसन्धान जारी
विस्फोट भएको पदार्थको टुक्रा टुईन्च मोर्टारकै रहेको सुरक्षा स्रोतले जनाएको छ। शवको छेउमै नपड्किएको एक थान टुईन्च मोर्टारकै गोली फेला परेको छ। घटना घरदेखि दुई सय मिटर नजिकैको गहुँबारी भएको छ।

बारीमा यसअघि हतियार नदेखिएकाले बालबालिकाले जंगलमै फेला पारेर खेलौनाका रुपमा ल्याएको अनुमान गरिएको  छ। यद्यपि, घटनामा चारैजनाको मृत्यु भएकाले अनुसन्धान कठिन छ। प्रनाउ गुरुङले घटनाबारे अनुसन्धान भइरहेको बताए। 

मैतेगातिना दुम्ला जंगलको नजिकै पर्छ। २०६२ सालमा दुम्लामा तत्कालीन शाही नेपाली सेना र विद्रोही नेकपा माओवादीबीच भिडन्त भएको थियो। युद्धकै बेला छोडिएको विस्फोटक पदार्थ हो या होइन् भन्ने खुलेको छैन। सुरक्षा निकायले भने पुरानै विस्फोटक सामग्री भएको अनुमान गरेका छन्। 

प्रनाउ गुरुङका अनुसार मध्यान्ह १२:३० बजे मात्र शव उठाउन सम्भव भएको थियो। पीडितको मागका कारण ढिलाई भएको थियो। शव उठाएपछि खड्ग दल गण लिबाङ र दाङको घोराहीस्थित ऋतुमर्दन गणबाट खटिएको डिस्पोजल टोलीले घटनास्थलमा भेटिएको विस्फोटक पदार्थलाई डिस्पोज गरेको हो। ऋतुमर्दन गणबाट मेजर निमेश पन्थीको टोली घटनास्थल पुगेको थियो।

घटना भएको भोलिपल्ट पाँच नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेश प्रहरी प्रमुख रविन्द्र धानुक, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक कर्णबहादुर बुढामगर, जिल्ला प्रहरी प्रमुख प्रनाउ गुरुङ घटनास्थल पुगेका थिए।

शान्ति प्रक्रियायता यहाँ बेलाबेला वेवारिसे विस्फोटक पदार्थ भेटिदै आएका छन्। गएको तिहारताका कुरेलीको गोठमा भारी मात्रामा हातहतियारसहित विस्फोटक पदार्थ भेटिएका थिए। २०७० सालताका गैरीगाउँको टिलामा हिल ट्यांकी गाडिएको अवस्थामा हातहतियार फेला परेका थिए। जिल्लाभर युद्धमा छोडिएका विस्फोटक पदार्थको खोज अनुसन्धान गरी डिस्पोज गर्न सरकारले उचित ध्यान दिनुपर्ने अधिकारकर्मीले सवाल उठाएका छन्। 

तस्बिर सौजन्य : सन्तोष शर्मा र धरेन्द्र डाँगी  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.