बुकाहोलिक्स लकडाउन डायरी

बुकाहोलिक्स लकडाउन डायरी

लकडाउनको समयमा भर्चुअल बहस बढ्दो छ। सामाजिक सञ्जालमार्फत लेखक र पाठकहरू छलफलमा झुम्मिएका छन्। एउटा अनौपचारिक र स्वयंसेवी पाठकहरूको समूहको लकडाउन डायरी : 


शब्द, भावना, विचार 
छाल हुन्, आत्माको गहिराइमा उठेका  
छालहरू उठ्छन् आपसमा ठोकिन्छन् 
आपसमा समाहित हुन्छन् 
अनि फेरि गहिराइ नै बन्छन्
हामी साथै उठ्यौँ 
ठोकियौँ 
छताछुल्ल पोखियौँ 
अनि एक अर्काको गहिराइलाई चुम्यौँ 
यो स्वादका लागी धन्यवाद।

—बुकाहोलिक्ससँग सुरुआती चरणबाटै जोडिएका सर्जक अनुपम पोखरेल। जीवनी लेखन तथा अनुवाद साहित्यमा बेग्लै नाम बनाएका अनुपम पोखरेल जीवनलाई बाहिरी सांसारिक खोजमा भन्दा भित्री आत्मिक चिन्तनमा लगाउनुपर्छ भन्ठान्छन्। उनका लागि लकडाउनको एकान्तवास आत्मिक यात्रामा निस्कने अवसर हुनसक्थ्यो तर उनी भन्छन्, ‘सामान्य दैनिकीको एकान्तवास र कुनै जीवाणुको कहरमा परेर गर्नुपर्ने एकान्तवास फरक हुने रहेछ। यो एकान्तवास बोझिलो थियो। म यसपल्ट मानिससँगको निकटतालाई ‘मिस’ गरिरहेको थिएँ।’
कोभिड-१९ ले अप्रत्याशित रूपमा जस्तो किसिमको भय उत्पन्न गरायो, यो कसैको पनि कल्पनाबाहिरको कुरा हो सायद। कुनै दिन यसरी घरमा थुनिएर बस्नुपर्ला, मान्छे-मान्छेमा दूरी बढाउनुपर्ला, सामीप्यबाट भयानक रोग फैलने त्रासको सामना गर्नुपर्ने स्थिति आउला भन्ने कसैले पनि सोचेको थिएन होला। यसले मानसिक रूपमा जति आघात दिएको छ, त्योभन्दा धेरै आघात आर्थिक रूपमा छ। दिनहँु ज्यालादारीमा काम गरेर छाक टार्नुपर्नेहरूको स्थिति भनिनसक्नुको अवस्थामा छ। 

कसैले जागिर गुमाएका छन् भने कसैले जीवन नै पनि। हजारौँको मृत्युको खबर एकैदिनमा सुन्नुपर्छ। यस्तो अवस्थामा धेरै मानिस मानसिक रूपले विक्षिप्त छन्। यो विक्षिप्ततामा लेखकका कुरा कसले सुनिदिओस् ! यसै पनि हाम्रोमा साहित्य त्यति आवश्यक कुरा मानिँदैन। नेपालमा पठन संस्कृतिको विकास पनि धेरै भइसकेको छैन। हाम्रोमा किताब प्राथमिकताको सूचीमा अगाडि नपर्नु अस्वाभाविक पनि होइन। उसो त, पठन संस्कृतिमा अब्बल भएका देशहरूमा पनि पुस्तकको प्राथमिकतालाई पछाडि धकेलिएको छ। जस्तोः किताबको व्यापार गर्ने कम्पनी अमेजनले अहिलेको कोरोना भाइरसको कहरमा किताब नबेच्ने घोषणा गरेको छ।

तर, सबैका लागि भने किताब प्राथमिकताको सूचीमा पछाडि छैन। त्यस्ता पाठकहरूका लागि भने यो लकडाउनको अवधिमा त किताब अनिवार्य नै भएको। किताबले मानिसलाई घरैमा बसिरहन सहयोग गर्छ। किताबले यो कहरको विक्षिप्तताबाट अन्त कतै लैजान्छ। अन्य कुरा यथावत राख्ने हो भने किताब पढ्नेहरूका लागि लकडाउन अरूले सोचेजस्तो भयावह हुँदैन। धेरै मानिस किताबलाई आवश्यक ठान्छन्। यस्तोमा सानो एउटा पाइलाबाट फेसबुकमार्फत सुरु भएको बुकाहोलिक्स अहिले निकै ठूलो पाठक तथा लेखकहरूको समूह भइसकेको छ। झन्डै १५ हजार पुस्तकप्रेमी आबद्ध भएको यो बुकाहोलिक्समा सबै किसिमका पुस्तकबारे छलफल र विमर्श हुन्छ। यसमा हरेक किसिमका पाठक-लेखक छन्। सन् २०११ देखि फेसबुकमार्फत बुकाहोलिक्स भर्चुअल प्ल्याटफर्ममा सक्रिय छ। त्यस्तै यसले २०१४ देखि मासिक रूपमा मार्टिन चौतारीमा चकटी बहस चलाउँदै आएको छ, जहाँ नेपाली र अन्तर्राष्ट्रिय साहित्यिक कृतिमाथि विमर्श हुने गर्छ। बुकाहोलिक्सका लागि किताब प्राथमिकताको सूचीमा अगाडि नै पर्छ तर सूचीमा जुन पंक्तिमा भए पनि कोरोना भाइरसले पुस्तकप्रेमीमा असर भने गरेको नै छ।

साहित्यकार कृष्ण धरावासी हम्मेसी साहित्यिक कार्यक्रममा जान छुटाउँदैनथे। कार्यक्रममा गएर कुरा सुन्न-सुनाउन पाउँदा त्यो दिन सफल भएको महसुस हुन्छ, उनलाई। तर, लकडाउनपछि यस्ता कार्यक्रम रोकिएका मात्र थिएनन्, ती निषेध पनि थिए। अनि, आफ्ना कुरा सुनाउन उनले फेसबुकलाई माध्यम बनाइरहेका पनि थिए। ‘हुन त म पहिले पनि फेसबुक लाइभमा आउँथेँ, तर यो लकडाउनपछिको समय भने मैले दैनिकजसो नै लाइभमा आएर गफगाफ गर्ने र आफ्ना अनुभव सुनाउने गरिरहेको छु,” उनी भन्छन्। तर, उनी आफूले गरिरहेको काम संस्थागत रूपमा हुनसक्छ भन्नेतर्फ विचार नपुगेको बताउँछन्। 

जसै लकडाउनको दिन बित्न थाल्यो, धरावासीले जस्तै मानिसहरू भर्चुअल दुनियाँमा किताबको सम्बन्ध खोज्न थाले। यसको प्रत्यक्ष प्रभाव हाम्रो बुकाहोलिक्स समूहमा पर्न थाल्यो। लकडाउनसँगै समूहमा सदस्य बन्न चाहनेको सूची पनि बढ्न थाल्यो। हुन पनि दस हजारभन्दा केही बढी संख्यामा रहेका सदस्य लकडाउनको केही अवधिमा नै ११ हजार नाघिसकेका थिए। सधैँ संस्थापकका रूपमा प्रतिनिधि भएर उभिएकी म पात्रबाहेक यस समूहमा एडमिनका रूपमा जाने-आउने छँदै छ। मैले सुरुवातदेखि अहिलेसम्म बुकाहोलिक्सको ग्राफ नजिकबाट देखेकी छु। यो हाम्रा लागि एकदमै नयाँ कुरा थियो र छ। 

हामी गु्रपका कुरालाई आत्मीय ढंगबाट हेरिरहेका हुन्छौँ। जस्तै पुराना एड्मिन प्रभाकर गौतम अहिले पनि गु्रपसँग भावनात्मक रूपमा जोडिएका छन्। तर, बढ्दो सदस्यता, बाक्लिँदो गतिविधिका बीच हाल एड्मिनमा रहेका गणेश कार्कीको सहयोग अतुलनीय छ। साथी ऋचाले छुट्टै बागडोर सम्हालेकी छिन्। आफूलाई ‘हाइवे’ भन्न रुचाउने सञ्जित भारतीले बुकाहोलिक्स ट्वीटरको सम्पूर्ण अभिभारा उठाएका छन्। एड्मिन भएपछि गु्रपमा नियम बसाउने र नियम पालना भयो कि भएन भन्ने हेर्ने मात्रै काम हुन्न। गु्रपभित्र मेम्बरहरूले कस्ता गतिविधि चाहिरहेका छन् वा कस्तो भइदिए हुन्थ्यो भन्ने कुरा गर्छन्, त्यसलाई नजिकबाट हेर्ने, तिनका कुरा सुन्ने र त्यसलाई आकार दिने काम पनि एड्मिनको हो। बुकाहोलिक्सको विशेषता के भने यो समूह सधैँ सामूहिक बलमा विश्वास गर्छ। उचित मान्छेले त्यसमा नेतृत्व लिन्छ र अरू त्यसमा सहयोगी बन्छन्। कविता प्रतियोगिताका लागि सम्पूर्ण कामको नेतृत्व यसमा आउनुभएका डा. रामदेव पण्डितले गरेका थिए। बुकाहोलिक्सले लकडाउनमा अनलाइन कविता प्रतियोगिता गरे हुन्थ्यो भन्ने योजना उनकै थियो। 

हामीलाई त यो कुरा सुन्नेबित्तिकै मन पर्‍यो। यसै पनि हामी भर्चुअल गु्रप भएकाले भर्चुअल्ली गर्न सकिने काम थियो। हामीले झटपट नयाँ च्याट गु्रप बनायौँ। डा. रामदेव र एड्मिन साथीहरू त्यसमा बस्यौँ र अनलाइन कविता प्रतियोगिताको कार्यविधि बनाएर सार्वजनिक गरिहाल्यौँ। हामीलाई प्राप्त भएका चार सयभन्दा बढी कवितामा आफैँ सिर्जनशील रहेका कवि ऋचा, विवेक अधिकारी र मोहित जोशीको दिनरातको मिहिनेत छ भने विवेक मिश्रले यसको संयोजनमा सहयोग गरेका छन्। प्रतियोगितामा कविता पठाउने चरण सकिएको छ। हाल नेपालका तीन जना प्रसिद्ध कविको समूहले कविता-निर्णय गर्दै छ। यसलाई प्रायोजन गर्न साहित्य पोस्ट डट कम र किताबयात्रा डट कमले वचन दिइसकेका छन्।

कविता प्रतियोगितामा भएको सहभागितासँगै मनमा उत्सुकता थियो। हामी पाठकको बुझाइ र समालोचकको चिरफारलाई साहित्यकारले कसरी लिँदा हुन् ? हामीले चकटी बहसमा किताबमाथि विमर्श गर्छौं तर साहित्यकार स्वयंले आफ्ना कुरा राख्ने स्थान भने कम छ। हामीले त्यो मौका पनि दिएका छैनौँ। अहिलेको समयमा उहाँहरूलाई बोलाएर पाठकसँग लाइभ गराउन पाए राम्रो होला भन्ने सोच आयो। मेरो सोच सुन्नेबित्तिकै एड्मिन गणेश कार्कीले हौसिँदै समर्थन गरे। हामीले कार्यक्रम सार्वजनिक गर्नुभन्दा अगाडि लेखकहरूसँग कुरा गरेर प्रतिक्रिया लिने विचार गर्‍यौँ। हामीले जो जो लेखकसँग कुरा गर्‍यौँ, उहाँहरू कसैले पनि नाइँ भन्नुभएन। त्यसरी तयार भयो, बुकाहोलिक्सको ‘लकडाउनमा स्रष्टासँग साक्षात्कार’। 

‘मान्ठा डराएको जुग’का लेखक मोहन मैनालीको साक्षात्कारबाट सुरु भएको दैनिक कार्यक्रम अहिले दुई हप्ताभन्दा बढी भइसक्यो र एक दर्जनभन्दा बढी सर्जकले आफ्नो अनुभव बाँडिसक्नुभएको छ। फेसबुक गु्रपमा भएको लाइभ साक्षात्कार बुकाहोलिक्सको युट्युब च्यानलमा पनि उपलब्ध हुन्छ। यसका लागि सञ्जित भारती, मोहित जोशीलगायतको समूहले सहयोग गरिरहेको छ। यसले पाठकहरूमा उत्साह त बढ्यो नै, साथै लेखकहरूको उत्साहजनक प्रतिक्रियाले थप ऊर्जा पनि दिएको छ।

‘आफ्ना अनुभव भन्न पाउने, त्यो पनि कोरोनाले गर्दा घरमै थुनिएका बेलामा, ठूलो अवसर मिल्यो। पछि प्राप्त भएका प्रतिक्रियाबाट उत्साहित भएको छु,’ मोहन मैनालीले बुकाहोलिक्सलाई पठाएको प्रतिक्रिया यस्तो छ। ‘यसमा भाग लिने लेखकहरूको लेखन यात्राबारे एउटा राम्रो डकुमेन्टेसन पनि तयार भएको छ, यसमार्फत। जुन कुरा लेखकहरू आफैले गर्थे वा गर्दैनथे, गरे पनि कहिले गर्थे भन्न सकिन्न। ती सबै कुराले भविष्यका लागि एउटा दस्तावेज पनि तयार गरेको छ,’ अमृता लम्साल भन्छिन्। बुकाहोलिक्सको कामबारे लेखक सरिता भट्टराईको उत्साह यस्तो छ, ‘यो धेरै राम्रो सुरुवात लाग्यो। मेरो छोटो लेखन यात्राको अनुभव सुनाउन पाएपछि, मलाई आफ्नो लेखन अझ बढाउनुपर्ने महसुस भयो।

यो त पछि साहित्यमा शैक्षिक सामग्रीका रूपमा पनि प्रयोग गर्न मिल्छ जस्तो लाग्छ।’ उहाँसँगै सिक्स स्ट्रिङ्गसका अर्का लेखक केशव सिग्देलको अनुभव यस्तो रह्यो, ‘अरू लेखक र उनीहरूका पुस्तकबारे प्रशस्त बोल्ने अवसर हुन्छ तर आफ्नैबारे एकालापको शैलीमा बोल्नु एउटा नयाँ अनुभव भयो। कोठामा एक्लै आफ्नैबारे बोलेर मोबाइलमा रेकर्ड गर्नु, मनोवादजस्तो, यो त एकदम गाह्रो काम रहेछ। सबैभन्दा बढी आफ्नैबारे इमानदार हुन गाह्रो रहेछ। यो कुरा अनुभव भयो। बाहिर मञ्चमा अरू अरू विषयमा बोल्दा आफू जे हुँजस्तो लाग्थ्यो, त्यो त मिथ्या रहेछ भन्ने भयो। बाहिर हेर्न र देख्न सजिलो। भित्र, आफैँतिर फर्किन र हेर्न गाह्रो। मलाई यही कुराले असजिलोमा पनि पार्‍यो तर पछि आनन्द पनि लाग्यो।”

‘बुकाहोलिक्समा त्यति सक्रिय नभए पनि म यस गु्रपका साथीहरूले सेयर गर्ने सामग्री ध्यानपूर्वक हेरिरहेको हुन्छु। पढिरहेको हुन्छु। साथीहरूका पोस्ट लोभलाग्दा हुन्छन्। क्रियटिभ साथीहरूको यो समूहमा आफ्नो कविता यात्राबारे कुरा राख्दै केही कविता पनि सुनाउँदा मलाई एउटा यस्तो मञ्चमा कविता सुनाएजस्तो लाग्यो, जहाँ सुन्नेहरू पनि कविता नै हुन्। बुकाहोलिक्स एउटा सुन्दर कविताजस्तै मञ्च हो,’ अस्ट्रेलियाबाट जोडिएका कवि निष्प्रभ सजी भन्छन्। यसैगरी हरिमाया भेटवाल भन्छिन्, ‘मैले आफ्ना कुरा राख्दा धेरैले पहिले निस्किएका किताबबारे थाहा नभएको भन्दै थुप्रै मेसेज आए। आफूले एक्लै बोल्दा हुने अनुभव पनि थाहा पाइयो। लेखनमा लागिरहनुहुने अरू साहित्यकारको पनि थोर बहुत लेखनको कुरा बुझियो। जो कुनै भेटमा बुझ्न सम्भव थिएन। राम्रो कामको थालनी भएको छ, कम्तीमा अरू काम छोडेर यसकै लागि समय छुट्याइन्छ।’ 

लेखक खिमा रिजाल जसका १० वर्षे माओवादी सशस्त्र युद्धका दौरान एक लडाकू वा ऊ सम्बद्धले भोग्ने जीवन र परिस्थितिबारे लेखिएका पुस्तक प्रकाशित छन्। उनी भन्छिन्,  ‘म मेरो अनुभवबारे र मैले लेखेका पुस्तकहरूबारे बोल्ने ठाउँ होस् भन्ने चाहन्थेँ। हामी नयाँ लेखकका लागि बोल्न पाइने ठाउँ सीमित छन्। यो सीमितता तोडियोस् भन्ने चाहन्थेँ।’ 

चन्द्र कटुवाल भन्छन्, ‘सिपाहीको जीवनी जुन मेरो आफ्नो जीवन पनि हो, यसबारे आफ्ना पाठकसँग आफ्नो कथा, यस पुस्तकको रचनागर्भबारे भन्न पाउँदा निकै खुसी लागेको छ। कति कुरा जुन पुस्तकमा अटाउन सकिएको थिएन, त्यो पनि आफ्ना पाठकलाई सुनाउन पाउँदा आगामी दिनका लागि थप ऊर्जा मिलेको छ।’

यी सबै प्रतिनिधि पात्र र घटना मात्रै हुन्। बुकाहोलिक्सप्रति लेखक तथा पाठकको बढेको आकर्षणले हामी गौरवान्वित छौँ। अहिले बुकाहोलिक्सको गु्रपमा जसरी सदस्य बढेका छन्, उसैगरी यसको आकर्षण र सम्मान पनि बढेको छ। हामीले त आफूले गर्नसक्ने सानो काम मात्रै गरेका थियौँ। तर, यो यस्तो अर्थपूर्ण रहेछ भन्ने बल्ल थाहा पाउँदै छौँ। हामीलाई विश्वास छ, बुकाहोलिक्सले गरेको यो कामले नेपाली साहित्यको श्रीवृद्धिमा थोरै भए पनि योगदान दिएको छ।

यी सबै घटनाक्रमले म स्वयंले पनि केही बुझ्न पाएकी छु। वास्तवमा साना काम साँच्चै नै अर्थपूर्ण र शक्तिशाली हुँदा रहेछन्। आँखैले नदेखिने सानो जीवाणुले मानव सभ्यतामा तहल्का मच्चाएको समयमा सानो भनेर थालिएको कामले नेपाली साहित्यमा ठूलो अर्थ राख्नु वास्तवमै सुखद संयोग हो। यो सुखद संयोगको सूत्रधारमा आफू पनि सहभागी हुन पाइन्छ भने यो गौरवको कुरा हो। आशा छ, यो गौरवको अनुभूति हामी सधैँ गरिराख्न पाउनेछौँ। बुकाहोलिक्स र यस्ता अनौपचारिक, स्वतःस्फूर्त र स्वयंसेवी समूहप्रतिको चासो, सद्भाव र आकर्षण सधैँ कायम रहनेछ र बढ्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.