शव हेर्दै बित्यो रात
रोल्पा : क्वारेन्टाइन बसाइपछि त्रिवेणी गाउँपालिका–७ गैरीगाउँ मैतेगातिनाका लालबहादुर खत्री बिहीबार घर पुगे। ६ महिनापछि उनी परिवारसँग खुसी साटासाट गर्न चाहन्थे। तर, बिहीबारै बेवारिस बम विस्फोटमा दुई छोराछोरी गुमाउनुपरेपछि उनका आँखाबाट आँसु खसिरहेको छ। उनकी पत्नीको हालत उस्तै छ। काखमा दुई वर्षकी दुधे छोरी आमाको आँसु पिइरहेकी छन्।
‘क्वारेन्टाइनमा १० दिन बसेर दिउँसो ४ बजे घर आएँ। छोराछोरी थिएनन्। गोठालो गएका रैछन्’, लालबहादुरले गहभरि आँसु छचल्काउँदै भने, ‘साँझ ६ बजे विस्फोटको आवाज सुनियो। हेर्न जाँदा छोराछोरीलाई क्षतविक्षत अवस्थामा देखें।’
घटनास्थलनजिकै थप विस्फोटक पदार्थ देखिएपछि उनले छोराछोरीको शवसमेत सुम्सुम्याउन पाएनन्। ६ महिनाअघि मजदुरीमा गएका उनको परिवारसँग खुसी साट्ने रहर आँसुमा बदलियो। लकडाउनका कारण काठमाडौंमा इँट्टाभट्टामा अलपत्र परेका उनलाई ऊर्जामन्त्री वर्षमान पुनको टोलीले घर आउन सघाएको थियो। गाउँमा उनी ह्याङ विद्यालयमा १० दिन क्वारेन्टाइनमा बसेका थिए।
उनका छोरी ११ वर्षीया विमला र छोरा ५ वर्षीय विजयसहित चार जनाले बिहीबार साँझ विस्फोटमा ज्यान गुमाएका हुन्। उनीहरू बाख्रा चराउन जंगल गएका थिए। बम धमाकासँगै उनीहरूको प्राणपखेरु उड्यो। १४ वर्षीय छोरा नोखिराम गुमाएका ओजबहादुर डाँगीको परिवार पनि आँसुमा डुबेको छ। श्रीमती र छोराछोरी सम्हाल्न धौधौ परिरहेको छ। त्रिवेणी–४ छेपबाट मामाघर आएका १३ वर्षीय गौरव नेपालीको पनि ज्यान गयो। घटनास्थल आएका उनका अभिभावकका पनि आँखा ओभाएका छैनन्। गौरवकी एउटी दिदी घरमा रहेको बुवा लक्ष्मण नेपालीले सुनाए।
मृतक बालबालिकाका परिवार मात्र होइन, मैतेगातिनाका स्थानीय नै शोकाकुल बनेका छन्। सबैका आँखा रसाएका छन्। विस्फोटको घटनाले उनीहरू त्रसित बनेका छन्। ‘घरनजिकै गहुँबारीमा रातभर लास लडिरहे। बालबालिकाका बुवाआमा, आफन्त र गाउँले आँसुमा डुबिरहेको दृश्य देखेर घटनास्थल पुग्ने जोकोहीका आँखा ओभानो रहेनन्’, घटनास्थल पुगेका मानवअधिकारवादी संस्था हुरेकका संयोजक धरेन्द्र डाँगीले भने।
शव उठाउने बेला र घटनास्थलमा फेला परेको नपड्एिको टु इन्च मोर्टारको गोली निस्क्रिय पारुन्जेल सबैका आँखा रसाइरहे। बिहानभर पानी पनि परिरह्यो।
घटना छानबिन होस् : पीडित परिवार
पीडित परिवारले घटना छानबिन हुनुपर्ने, जंगलमा अरू विस्फोटक पदार्थसमेत हुन सक्ने भएकाले खोजबिन गरिनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्। जिल्लावासीले सामाजिक सञ्जालमा ‘विगतको युद्धमा रगत बग्यो। रोल्पाली अभैm कति रगत बगाउनुपर्ने हो’ भनिरहेका छन्।
विस्फोट भएको पदार्थको टुक्रा टु इन्च मोर्टारकै रहेको सुरक्षा स्रोतले जनाएको छ। शवछेउ नपड्किएको एक थान टु इन्च मोर्टारकै गोली फेला परेको छ। घटना घरबाट २ सय मिटरनजिकै गहुँबारीमा भएको थियो।
त्यहाँ यसअघि हतियार नदेखिएकाले बालबालिकाले जंगलमै फेला पारेर खेलौनाका रूपमा ल्याएको अनुमान गरिएको छ। सँगै गएका चारै जनाको मृत्यु भएकाले अनुसन्धान कठिन देखिएको छ। प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले घटनाको अनुसन्धान भइरहेको बताए।
मैतेगातिना दुम्ला जंगलनजिकै पर्छ। दुम्लामा २०६२ सालमा सेना र माओवादीबीच भिडन्त भएको थियो। त्यही बेला छाडिएको विस्फोटक पदार्थ हो या होइन भन्ने खुलेको छैन। सुरक्षा निकायले भने पुरानै विस्फोटक सामग्री भएको अनुमान गरेको छ।
प्रहरी नायब उपरीक्षक गुरुङका अनुसार शुक्रबार मध्याह्न १२ः३० बजे मात्र शव उठाइएको थियो। पीडितको मागका कारण ढिलाइ भएको थियो। शव उठाएपछि खड्ग दल गण लिबाङ र दाङको घोराहीस्थित ऋतुमर्दन गणबाट खटिएको डिस्पोजल टोलीले घटनास्थलमा भेटिएको विस्फोटक पदार्थलाई निस्क्रिय तुल्याएको थियो। ऋतुमर्दन गणबाट मेजर निमेश पन्थीको टोली घटनास्थल पुगेको थियो।
५ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेश प्रहरी प्रमुख रवीन्द्र धानुक, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक कर्णबहादुर बुढा मगर, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गुरुङ शुक्रबार घटनास्थल पुगेका थिए।
शान्ति प्रक्रियायता यहाँ बेला–बेला बेवारिस विस्फोटक पदार्थ भेटिँदै आएको छ। गत कात्तिकमा कुरेलीको गोठमा भारी मात्रामा हातहतियारसहित विस्फोटक पदार्थ भेटिएको थियो। २०७० सालताका गैरीगाउँको टिलामा गाडिएको अवस्थामा हातहतियार फेला पारिएको थियो। जिल्लाभर सशस्त्र द्वन्द्वमा छाडिएका विस्फोटक पदार्थको खोजी गरी निस्क्रिय गर्न सरकारले उचित ध्यान दिनुपर्ने माग अधिकारकर्मीले गरेका छन्।