पीडित किसानलाई कृषि मलमा अनुदान

पीडित किसानलाई कृषि मलमा अनुदान

हेलम्बु (सिन्धुपाचोक) : कोरोना भाइरस ( कोभिड १९ ) संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको लकडाउनका कारण आर्थिक संकटमा परेका किसानलाई हेलम्बु गाउँपालिकाले कृषि मल खरिदमा अनुदान दिने भएको छ ।

लकडाउनका कारण कृषि उत्पादन बजारसम्म पुर्‍याउन नपाएका कारण आर्थिक संकटमा परेका किसानका लागि रासायनिक र अर्गानिक मलमा गाउँपालिकाले ढुवानी अनुदान दिने निर्णय गरेको हो ।  किसानलाई आवश्यक पर्ने रासायनिक वा अर्गानिक मल आयातमा स्थानीय सहकारी संस्थामार्फत ढुवानी अनुदान दिने गाउँ कार्यपालिकाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भिमराज कोइरालाले बताए । कोइरालका  अनुसार गाउँपालिकाले कृषि सामाग्री संस्थानको डिलरबाट हेलम्बुसम्म मल ल्याउन लाग्ने ढुवानी खर्च अनुदान दिने निर्णय भएको छ ।

गाउँका किसानको प्रमुख आयस्रोत कृषिमा निर्भर रहेकाले किसानले गर्ने मल खरिदमा ढुवानी अनुदान दिन लागिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन् । 'रासायनिक मलको अधिकृत डिलर काभ्रेको धुलिखेलबाट हेलम्बुसम्म रासायनिक मल ढुवानी गर्न प्रति बोरा चार सय ५० रुपैया लाग्ने रहेछ', शेर्पाले भने, 'लकडाउनका कारण आफ्नो उत्पादन बजार पुर्‍याउन नपाएका किसानलाई राहत पुगोस् भन्ने उद्देश्यले ढुवानी अनुदान दिन लागिएको हो ।' 

आफ्नो गाउँपालिकाको तल्लो भेगको खेतीयोग्य जमिनका लागि करिब छदेखि सात हजार बोरा रासायनिक मल खपत हुने  शेर्पाले जानकारी दिए । रासायनिक मलको ढुवानी अनुदानमा करिब २७ लाखदेखि ३१ लाख ५० हजार रुपैयाँसम्म बजेट आवश्यक पर्ने गाउँपालिकाको अनुमान छ ।

अर्गानिक खेती गरिने हेलम्बुका हिमाली गाउँका लागि अर्गानिक मल खरिदमा प्रोत्साहन गरिने शेर्पाले बताए । रासायनिक मलमा जस्तै अर्गानिक मल खरिदकालागि पनि गाउँपालिकाले अनुदान दिने उनको भनाई छ । रासायनिक मल प्रयोग नगर्ने हेलम्बु क्षेत्रका किसानलाई अर्गानिक मल खरिद गर्नसमेत शेर्पाले आग्रह गरेका छन् । 

गाउँपालिकाको समृद्धिको प्रमुख आधारका रुपमा कृषि र पशुपालन रहेकाले यस क्षेत्रको विकासमा गाउँपालिकाले विशेष जोड दिंदै आएको गाउँपालिका उपाध्यक्ष कोपिला पण्डित बताउँछिन् । यसअघि पशुपालन गर्ने किसानको पशु बिमाका लागि पनि गाउँपालिकाले विशेष योजना सञ्चालन गरेको थियो । 
पछिल्लो समय लकडाउनका कारण आर्थिक स्रोत जुटाउन समस्यामा परेका किसानका लागि मल ढुवानीमा अनुदान दिन लागिएको हेलम्बु गाउँपालिका–३ का वडाअध्यक्ष छिरिङ ह्योल्मोले बताए ।

कोरोना संक्रमण जोखिम क मगर्न जारी लकडाउनका कारण खाद्यान्न संकटमा परेका समुदायका लागि स्वरोजगार कार्यक्रममार्फत आयआर्जनमा लगाउने निर्णय पनि भएको वडाअध्यक्ष खेतनाथ घिमिरेले जानकारी दिए । राहत वितरण गर्दा परनिर्भरता बढ्ने भन्दै गाउँपालिकाले स्वरोजगारको योजना अघि बढाएको  हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.