भर्चुअल थारू रंगकर्म बहस
काठमाडौं : प्रत्येक वर्ष प्रायः चैतमा हुँदै आएको थारू साहित्य राष्ट्रिय सम्मेलन यस वर्ष लकडाउनका कारण सम्भव नभएपछि भर्चुअल थारू साहित्य सम्मेलन भएको छ।
निर्देशक प्रनव आकाशले थारूपन बोकेका मौलिक सिनेमा हेर्न नपाएको बताए। उनले अहिले थारू फिल्ममा गुणबेत्ता खोज्ने क्रमसँगै सिनेमा कर्ममा रुचि राख्ने समूह नै बढ्नुपर्ने विचार राखे। रंगमञ्चबाट खारिएका थारू कलाकारको अभाव रहेको उनको भनाइ थियो।
थारू म्युजिक भिडियोका निर्देशक विवश चौधरीले हाल आइरहेका थारू गीतको ट्युनिङ प्रायः एकै प्रकारको भएकाले कोरियोग्राफीमा अलमल भइरहेको बताए। पैसा लगानी गरेर भिडियोमा खेल्ने चाहनाले कलाकारको बाढी आएको तर निखार आउन नसकेको उनको भनाइ थियो।
गायक सुधराम दहितले सानो बजेटमा धेरै चिज देखाउनुपर्ने भएकाले थारू गीतको भिडियो बनाउन गाह्रो भएको बताए। उनले सुरुआती चरणमा रहेकाले मौलिकपन आउन समय लाग्ने विचार राखे। दहितले एउटा भिडियोको कमाइबाट अर्को भिडियो बनाउन सक्ने अवस्था नरहेको जनाउँदै थारू कलाकारको ग्रेडिङको पनि आवश्यकता रहेको उल्लेख गरे। उता बहसकै क्रममा लाइभ प्रतिक्रिया दिँदै केही म्युजिक भिडियोमा काम गरिसकेका कलाकार गंगा डंगौराको भनाइ थियो, ‘थारू म्युजिक भिडियो रहर पूरा गर्नु मात्र हो जस्तो लाग्छ। अरू पेसा नगरी कलाकारिताबाट घरपरिवार चलाउन गाह्रो छ।’
थारू भाषामा कलम चलाइरहेका गुरुप्रसाद कुमाल गीतका शब्द राम्रा भए पनि थारू म्युजिक भिडियोको छायांकनको क्रममा चित्तबुझ्दो रूपमा नआएको विचार राखे। भुलभुलैयामा थारू दृश्यचित्र कार्यक्रमको सहजीकरण सञ्चारकर्मी इन्द्र चौधरीले गरेका थिए।
भुलभुलैयामा सामुदायिक भाषा सिकाइ र पुस्तान्तरण विषयक दोस्रो सेसनमा थारूलगायत मातृभाषाको पाठ्यक्रम लागू सम्बन्धमा रेडियोकर्मी एकराज चौधरी, राना थारू भाषाविद् कमलसिंह राना, नेपाल भाषा अभियन्ता दीपक तुलाधर तथा सञ्चारकर्मी कृष्णराज सर्वहारी प्यानलिस्ट थिए। भाषा हराए ज्ञान लोप हुने भएकाले स्थानीय जनप्रतिनिधिलगायत सम्बन्धित समुदायका अगुवाले भाषा जोगाउन पहल गर्नुपर्ने बहस कार्यक्रममा प्रमुखता साथ उठेको थियो। तेस्रो सेसनमा थारू गायक तथा संगीतकार सीएल चौधरीलगायतले लाइभ प्रस्तुति दिएका थिए।
शुक्रबारको पहिलो बहसमा सवाल्टर्नको सामाजिक र सांस्कृतिक पाटो विषयक कार्यक्रममा लेखकहरू तारालाल श्रेष्ठ, युग पाठक र सुशील चौधरीसँग सहजकर्ता प्रणव आकाशले छलफल गरेका थिए। आफ्नो समुदायको भित्री पाटो खोतल्न उही समुदायको लेखक अघि सर्नुपर्ने आवाज बहसमा उठेको थियो। मजदुर कोषको खम्बा शीर्षकको दोस्रो सेसनमा अधिकारर्मी दिलबहादुर चौधरी तथा अधिवक्ता रामशरण चौधरीसँग सञ्चारकर्मी मदन चौधरीले बहस गरेका थिए। लकडाउनमा सबैभन्दा पीडित मजदुर भएको तथा कमैया मुक्तिको घोषणा भए पनि उनीहरूको पुनस्र्थापना हुन नसकेको बहस उठेको थियो।
अन्तिमको कविता सेसनमा भूमिका चौधरी, अंकर अञ्जान, गुरुप्रसाद कुमाल बुलबुल, सोम डेमनडौरा, अर्नव चौधरीलगायत कविले थारू तथा नेपाली भाषामा कवितावाचन गरेका थिए।
आइतबार ओझेलमा थारू लोकलय र परम्परागत व्यवस्थाहरू तथा थारू सौन्दर्यशास्त्र दुई विषयमा बहस गरिने कार्यक्रमका संयोजक तथा आयोजकः ख्याल बगालका अध्यक्ष प्रनव आकाशले बताए। कार्यक्रममा जंग्रार साहित्यिक बखेरी, ठुम्रार साहित्यिक बखेरी तथा लावा डगर त्रैमासिकको सहकार्य रहेको छ।