संक्रमितलाई घरमै दुर्व्यवहार

संक्रमितलाई घरमै दुर्व्यवहार

काठमाडौं : कोरोना संक्रमणपछि उपचार गराउन अस्पताल आएका धादिङका युवालाई चिकित्सकले गर्ने व्यवहार राम्रो रह्यो। निको भएपछि आफन्तको व्यवहारले भने उनको मन दुखायो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले वैशाख १० गते डिस्चार्ज दिएको थियो। उनलाई लिन आफन्त नआएपछि अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले धेरै ठाउँ फोन गर्नुपर्‍यो।

‘डिस्चार्ज गरे पनि उहाँलाई लिन कोही नआएपछि अस्पतालमै राख्यौं’, निर्देशक डा. राजभण्डारी भन्छन्, ‘भोलिपल्ट बल्लतल्ल पठायौं। होटलले पनि राख्न मानेन।’ ती युवालाई धादिङ अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाको जिम्मामा पठाइएको थियो।

यो एउटा प्रतिनिधि घटना मात्र हो। आफन्त, घरभेटीलगायतको दुर्व्यवहारका कारण मन दुखाउँदै अस्पतालमा जँचाउन जानेहरू बढ्दै गएका छन्। तराई क्षेत्रका बासिन्दा बढी भेदभाव तथा दुर्व्यवहारमा परिरहेको उनी सुनाउँछन्।

‘परिवारका सदस्यलाई आफन्तले घरभित्रै छिर्न नदिएपछि बाध्य भएर जँचाउन आएको पनि पाएका छौं’, उनी भन्छन्, ‘दैनिक ५०-६० जना अहिले पनि आउन थालेका छन्।’

परिवारका सदस्य घर फर्किंदा रमाउने अवस्था फेरिएको छ। गाउँलेहरू रिसाउने अवस्था छ। धेरै ठाउँमा छिमेकीले नै गाउँ छिर्न नदिन निगरानी गरिरहेका छन्।

रोगव्याधीका बेला कतिपय व्यक्तिले संयमता गुमाउन सक्ने मनोविद् गोपाल ढकाल बताउँछन्। ‘समस्यासँग जुध्न गलत उपाय वा तरिका अपनाइरहेका पनि हुन्छन्’, उनी भन्छन्, ‘नचाहँदा-नचाहँदै पनि नकारात्मक क्रियाकलाप गरिरहेका हुन सक्छन्।’

कुनै पनि व्यक्तिको उमेर, पारिवारिक अवस्था, शारीरिक एवं मानसिक अवस्था तथा परिस्थिति बुझ्ने र जुध्ने शिक्षा, सीपका आधारमा सहयोग प्राप्त हुने मनोविद् ढकालको भनाइ छ। ‘संकटको अवस्थामा मनमा पर्ने असर व्यक्तिपिच्छे फरक-फरक हुन्छ। मनमा भय, छटपटी, अशान्ति र नैराश्य देखिन सक्छ’, उनी भन्छन्, ‘यस्तो बेला व्यहारजन्य गडबडी व्यवस्थापनका लागि घरका सदस्यले व्यावहारिक र भावनात्मक सहयोग गर्नुपर्छ। मनोवैज्ञानिक सहयोग पाउँदा पनि व्यक्तिको मनमा तनाव व्यवस्थापन गर्न सहयोग मिल्छ।’

संक्रमित व्यक्तिसँग पनि बोल्नै नहुने होइन। तर, घरकै सदस्यले बोल्न पनि नचाहने र नै बहिष्कृत गर्ने स्थिति देखिएको छ। ‘यो अवस्था देखिनुमा कोरोना भाइरस संक्रमणको डर नै हो’, वरिष्ठ मनोचिकित्सक कपिलदेव उपाध्याय भन्छन्, ‘घरकै सदस्यले बहिष्कार गर्ने स्थिति छ। परिवार र समाजबीच नै विचलन ल्याउने खतरा देखिँदै छ।’ कुनै व्यक्ति बिरामी परे कसरी उपचार गर्नेतिर सोचाइ हुनुपर्नेमा दुस्मनझैं व्यवहार हुनु दुर्भाग्य भएको डा. उपाध्यायको भनाइ छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार मुलुकभर ५७ जनामा संक्रमण देखिएको छ। तीमध्ये १६ जना उपचारपछि निको भई डिस्चार्ज भएका छन्। संक्रमितमध्ये ४१ जना कोसी, नारायणी, भरतपुर र सेती अस्पतालमा उपचाररत छन्। सबैको स्वास्थ्य सामान्य छ।

संक्रमितलाई परिवार र समाजले दुर्व्यवहार गरेका कारण विदेशबाट आएका व्यक्तिले क्वारेन्टाइनमा बस्न हिचकिचाउने गरेका छन्। यसले गर्दा कोरोना संक्रमण लुकाउने प्रवृत्ति देखिएको छ। प्रवक्ता डा. देवकोटा भन्छन्, ‘कोरोना भाइरससँग लडिरहेका छौं। यो भाइरसले जन्माएको विभेदसँग पनि लडिरहनुपर्ने भएको छ।’

विदेशबाट आएका र अन्य व्यक्तिमा पनि कोरोना भाइरस संक्रमण भएको अवस्थामा आफू र परिवारलाई विभेदपूर्ण व्यवहार गर्छ भन्ने डर देखिएको उनको भनाइ छ। ‘भाइरस पोजिटिभ देखिए विभेद हुन्छ भन्ने डरले पनि परीक्षणमा नआएको पाइएको छ। परीक्षण नगर्दा परिवार र समाजलाई संक्रमणको जोखिम बढ्छ। परिवार र समाजले सहयोग गर्नुपर्छ। विभेद तथा दुर्व्यवहार गर्ने होइन’, उनी भन्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.